Logo

अवैध रूपमा निकालिएको बालुवा लिलाम गरिने


पर्वतको जलजला गाउँपालिकाले ठेक्का सम्झौता विनै अवैध रूपमा कालिगण्डकी उत्खनन् गरि निकालिएको बालुवा र गिटी लिलाम गर्ने भएको छ ।
सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत कालिगण्डकी नदीको बगरबाट अवैध रूपमा उत्खनन् भएको बालुवा जफत गरी लिलाम गर्ने भएको हो । गाउँपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले बर्खायाममा कालिगण्डकी नदीको बगरबाट उत्खनन् भएको बालुवा प्राविधिक टोलीबाट नापजाँच र मूल्यांकन गरी प्रतिस्पर्धाबाट बढीबढाउमा लिलामी गर्ने निर्णय गरेको हो ।


यसअघि गत असार ५ गतेको कार्यपालिका बैठकले ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय कार्यान्वयनका क्रममा सर्वोच्च अदालतले फैसला नहुँदासम्मका लागि कालिगण्डकीको बगर उत्खनन् रोक्न तीनै तहका सरकार र तिनका निकायलाई अन्तिरिम आदेश जारी भएपछि रोकिएको थियो ।


संघीय, प्रदेश सरकार र गाउँपालिकाको निर्णय अटेर गरेर व्यवसायीले नदी उत्खनन् गरेर भण्डारण गरेको बालुवालगायत नदीजन्य बस्तु जफत गरी सार्वजनिक खरिद ऐनअनुसार लिलाम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । “यसअघि पटक पटक बन्द गराए पनि अटेरी गरेर मिलनचोकमा सञ्चालन गरेको अवैध क्रसर बन्द गराउन, उत्खनन् रोक्न र त्यहाँका सामग्री जफत गर्न प्रहरी प्रशासनलाई पत्राचार गर्ने निर्णय गरेका छौं,” उनले भने, “विद्युत्को लाइन काट्न पनि पत्राचार गर्छौं ।”


जलजलाको लामाखेत, मिलनचोक, केराबारी, लस्ति, फर्सेलगायतका ठाउँमा एक्जाभेटरको प्रयोग गरी कालिगण्डकीबाट ठूलो परिणाममा बालुवा निकालेका छन् । बर्खायामको तीन महिनामा बगेर खेर जाने बालुवालाई आयस्रोतमा रुपान्तरण गर्ने, चोरी निकासी रोक्ने उद्देश्यले न्यूनतम तीन करोड रुपैयाँ बराबरको नदीजन्य वस्तु उत्खनन् र निकासी गर्न गाउँपालिकाले अघि बढाएको ठेक्का प्रक्रिया सर्वोच्चको अन्तरिम आदेशपछि रोकिएको थियो ।


कार्यपालिका बैठकले जलजलाको हालका ५, ६, ७ र ८ नम्बर वडालाई दुई÷दुई वटामा विभाजन गर्ने र नगरपालिकामा स्तरोन्नति गर्नेे गाउँसभाको निर्णय कार्यान्वयनका लागि प्रदेश र संघीय सरकारलाई सिफारिस गर्ने, गाउँपालिकाका सबै कर्मचारीलाई दिवाकालीन खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ ।


कार्यपालिकाका प्रवत्ता देवीन्द्र भण्डारीले लामाखेतमा इलाका प्रहरी कार्यालय, बनौ र मल्लाजमा प्रहरी चौकी स्थापना गर्न गृह मन्त्रालयमा माग गर्ने, वडा नम्बर ८ नाग्लीबाङका वडाध्यक्ष हरिविकास जिसीको नेतृत्वमा नाग्लीवाङ स्वास्थ्य चौकीअन्तर्गत सञ्चालन हुने गरी समुदायस्तरबाट संकलित रकमसहित तथा लेकफाँट र शालिजाका लागि गाउँपालिकामार्फत खरिद हुन लागेका दुईवटा एम्बुलेन्सको भन्सार छुटको व्यवस्था मिलाउन प्रक्रियाअघि बढाउने निर्णय पनि गरेको बताए ।

यसैगरी फर्से र डाडाखोरको स्वास्थ्य इकाईमा स्थायी दरबन्दी सिर्जना गराउन, लुप्राङ, पूर्णगाउँको ओरखरबोट, वारीबेनी र मिलनचोकमा थप स्वास्थ्य इकाई स्थापनाका लागि दरबन्दीको व्यवस्था मिलाउन प्रदेश र संघीय सरकारको स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।
धाइरीङको किराखोरका पहिरो पीडितलाई भुरुङजा र डडुवाको चौरमा स्थानान्तरण गर्न जग्गा प्राप्ति प्रक्रिया अघि बढाउने र अन्य ठाउँका पहिरो पीडितलाई सामुदायिक भवन तथा सार्वजनिक जग्गामा अस्थायी टहरा बनाएर बसोबासको ब्यवस्था मिलाउने निर्णय पनि कार्यपालिकाको बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्