सुरी खोला जलविद्युत् आयोजनाको परीक्षण सुरु «

सुरी खोला जलविद्युत् आयोजनाको परीक्षण सुरु


सुरी खोला जलविद्युत् आयोजनाको मेकानिकल परीक्षण सुरु भएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–५ सुरीमा निर्माण भएको सात मेगावाटको सुरी खोला जलविद्युत् आयोजनाको बुधबारबाट विद्युत्गृहमा पानी हालेर मेकानिकल परीक्षण सुरु भएको हो ।


मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले बुधबार आयोजनास्थल गुरुम्फीमा एक कार्यक्रम गरी गाउँपालिका अध्यक्ष सोयमबहादुर खड्का, डोल्मा इम्प्याक्ट फण्डका प्रमुख कार्यकारी अधिकारी टिम गोचर र कम्पनीका अध्यक्ष हिमाल गुरुङले संयुक्त रूपमा उद्घाटन गरेर परीक्षण सुरु गरेका हुन् ।


आयोजना प्रमुख सरोज खनालका अनुसार यसअघि आयोजनाको हेडवक्र्सको इन्टेक, बाँध, गेटहरू, बालुवा थिग्रयाउने पोखरी, पेनस्टक पाइप र विद्युत्गृहको सुख्खा परीक्षणसमेत पूरा भएको छ । अहिलेसम्मको परीक्षण सकिएपछि खोलाबाट पानी फर्काएर परीक्षण थालिएको उनले बताए ।


परीक्षण सफल भए तापनि सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको सिंगटी सब स्टेसनमा १३२/३३ केभी सबस्टेसन तयार नभएकाले केही समय विद्युत्गृह बन्द गर्नुपर्ने अवस्था रहेको आयोजना प्रमुख खनालले बताए । आयोजनास्थलदेखि सिंगटी सबस्टेसनसम्म ३३ केभी ६ किलोमिटर प्रसारणलाइन तयार गरेको छ ।


आयोजनाको सुरी र चंखुको दोभानमा हेडवक्र्स तयार गरेर तीन किलोमिटर पेनस्टक पाइपको माध्यमबाट पानी ल्याएर गौरीशंकर गाउँपालिका–५ गुरुम्फीमा विद्युत्गृह निर्माण गरिएको छ । विद्युत्गृहमा दुईवटा युनिटका पेल्टन टर्बाइन जडान गरिएको छ । आयोजनाको ग्रह हेड २८२ मिटर छ ।


आयोजनाबाट सुख्खा सिजनमा ५.२८, वर्षात्मा २७.५६ गरी वार्षिक ३२.८५ गिगावाट विद्युत् उत्पादन हुन्छ । आयोजनामा प्रभु बैंकको नेतृत्वमा नेपाल बैंकला देश बैंक र सेञ्चुरी बैंकले लगानी गरेका छन् । एक अर्ब २३ करोड लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी छ । २०७५ माघदेखि निर्माणको काम सुरु गरेको आयोजनाले साढे दुई वर्षमा विद्युत् उत्पादन गरेको हो ।


सुरी हाइड्रोपावर कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर प्रालिबीच मर्ज भएर एक महिना अघिबाट मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी बनेपछि सर्वसाधारण सेयर जारी गर्न प्रभु क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो हाइड्रोपावरको प्रारम्भिक सेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो ।

हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले प्रारम्भिक सेयर निष्काशनका लागि कुल जारी पुँजी ७६ लाख कित्ताको ३० प्रतिशत अर्थात् २२ लाख ८० हजार कित्ता प्रारम्भिक सेयर निष्काशन गर्ने भएको छ ।

यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ करोड २० लाख कित्ता सेयर निष्काशन गर्ने बताइएको छ । सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ । कम्पनीले सोही खोलाको केही माथि सात मेगावाटकै अर्को आयोजनासमेत निर्माण थालेको छ ।

प्रतिक्रिया दिनुहोस्