‘संसद्बाट एमसीसी पास गर्नुपर्ने संवैधानिक व्यवस्था छैन’

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले एमसिसी संसदबाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था नरहेको बताएका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का सांसद बिडारीले एमसीसीलाई संसद्बाट पास गर्नैपर्ने संवैधानिक व्यवस्था नरहेको दाबी गरेका हुन् ।
मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बोल्दै एमसीसी के गर्नुहुन्छ ? भनी प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा उनले एमसीसी संसद्मा ल्याउनैपर्ने कारणबारे पूर्वप्रधानमन्त्री ओलीलाई पुष्टि गरेर देखाउन चुनौती दिए । एमसीसीबारे सभामुखलाई अनावश्यक लाञ्छना लगाइएको पनि उनले बताए ।
सांसद बिडारीले भने, “एमसीसी संसद्मा किन ? यो कुनै संवैधानिक व्यवस्था छैन । यहाँ नेपालमा चाहिँ ल्याउनैपर्ने कारण के ? ओलीजीले पुष्टि गर्नुपर्यो नि । सभामुखलाई अनेक प्रकारको लाञ्छना लगाएर एमसीसी सदनमा ल्याएन भनेर जुन प्रकारको हर्कत गरियो । त्यसकारणले मेरो प्रश्न छ, एमसीसी सदनमा आउनुपर्ने विषय हाम्रो संविधानले होइन ।”
सांसद बिडारीले ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीहरूको पक्षमा काम गर्न नसकेको भन्दै निजामती कर्मचारी र भूमिसम्बन्धी कार्यालयमार्फत् सुकुम्बासीलाई जग्गा वितरण गर्ने कुरा टुंगो लगाउनुपर्ने बताए ।