उत्पादनमूलक अर्थतन्त्र निर्माणमा जोड दिन परिसंघको माग «

उत्पादनमूलक अर्थतन्त्र निर्माणमा जोड दिन परिसंघको माग


नेपाल उद्योग परिसंघले अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा प्रस्तुत गरेको ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ सम्बन्धी नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको चित्रण गरेको जनाएको छ । सो जानकारीपत्रमा कोरोनाले पारेको प्रभाव, कमजोर सरकारी खर्च, कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको कमजोर हिस्सा, बढ्दो उपभोग एवं कमजोर बचत र पूर्वाधार निर्माणमा भएको ढिलाईलाई चित्रण गरेको परिसंघको ठहर छ ।

उत्पादनमूलक उद्योगको कूल गार्हस्थ्य उत्पादनमा योगदान ५.१ प्रतिशतमा सिमित भएको तथ्य नेपाल सरकारले नै स्वीकार गरेको परिसंघले जनाएको छ । यस अवस्थामा नेपाललाई औद्योगीकरणको बाटोमा लैजान र कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको हिस्सा बढ्ने गरी काम गर्न परिसंघले अनुरोध पनि गरेको छ ।


सरकारले नै नेपालमा औद्योगिक विकासको अवस्था कमजोर रहेको र कूल गार्ह्स्थ्य उत्पादनको संरचनामा उद्योगको योगदान न्यून रहेको तथ्य सार्वजनिक गरेको अवस्थामा औद्योगीकरणको बाटोमा नेपाललाई डो¥याउन नीतिगत सुधार र प्रक्रियागत सरलताका लागि पनि परिसंघले सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । यसैगरी वैदेशिक लगानी स्वीकृति छिटो गर्ने र नाफा फिर्ता लैजाने प्रक्रियामा सरलाता कायम गर्न पनि परिसंघको आग्रह छ ।


कोभिड–१९ को लगातारको प्रभावले नेपालको आर्थिक वृद्धिदर खुम्चिएको भन्दै परिसंघले दीगो आर्थिक वृद्धिको आधार तयार गर्न औद्योगीकरणका निम्ति राजस्व नीति लिइनुपर्नेमा जोड दिएको छ । आयातमा आधारित वर्तमान राजस्व प्रणालीलाई औद्योगीकरणमा आधारित राजस्व प्रणालीमा परिवर्तन गर्न परिसंघको माग छ ।


उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने र नेपालमा विदेशी मुद्रा भित्र्याउन सहयोग गर्ने सबै वस्तुको निर्यातमा नगद अनुदानको व्यवस्था गर्नुपर्ने परिसंघको धारणा रहेको बताइएको छ ।


कमजोर सरकारी खर्चले बजारमा आवश्यक तरलता सिर्जनामा दबाब दिइरहेको भन्दै परिसंघले सरकारले चालु खर्चमा मितव्ययिता कायम गर्ने र पुँजीगत खर्च र त्यसको गुणस्तरमा वृद्धि गर्दै जाने हो भने बजारलाई आवश्यक पुँजी परिचालनमा सहयोग पुग्ने अनुमान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्