विभिन्न कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइयो «

विभिन्न कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइयो

काठमाडौं-सरकारले विभिन्न कार्यक्रम गरी २१औं भूकम्प सुरक्षा दिवस मनाएको छ ।
विपद्बाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकार प्रतिबद्ध रहेको सन्देश दिँदै बुधबार २१औं ‘भूकम्प सुरक्षा दिवस मनाइएको हो । वि.सं १९९० सालमा गएको विनासकारी भूकम्पको स्मृतिमा भूकम्प सुरक्षा दिवस देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिएको छ । यसै अवसर पारेर बुधबार काठमाडौंको भूगोल पार्कस्थित ‘भूकम्प स्मारक’मा एक कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापाले नेपालमा पटक–पटक भूकम्प गई ठूलो धनजनको क्षति भएकाले अब त्यस्ता धनजनको क्षति हुन नदिन सबै नागरिकलाई सचेत गराउन भूकम्प सुरक्षा दिवस मनाउने गरिएको स्मरण गराए । उनले भूकम्पबाट हुने धनजनको क्षति हुन नदिन सरकारले कानुनी र प्राविधिक दुवै पक्षलाई सुधार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे । भूकम्पलगायतका प्राकृतिक विपत्तिबाट धनजनको क्षति हुन नदिन संघ, प्रदेश र स्थानीय सरकार प्रतिबद्ध रहेको गृहमन्त्री थापाको भनाइ छ । त्यस अवसरमा गृहमन्त्री थापाले २०७२ सालको विनासकारी भूकम्पले क्षति पु¥याएका भवनको पुनर्निर्माणको कामलाई सरकारले तीव्रता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पबाट धनजनको क्षति नहुने गरी भवनहरूको निर्माण गर्न सन्देश दिने उद्देश्यका साथ भूकम्प सुरक्षा दिवस मनाइएको स्पष्ट पारे । उनले भूकम्पबाट पुनः क्षति व्यहोर्नु नपरोस् भनेर महानगरपालिकाले भूकम्पप्रतिरोधी भवन निर्माणका लागि अभियाननै सञ्चालन गरिरहेको पनि बताए ।
कार्यक्रममा गृहमन्त्री थापाले ‘विपद् सम्पर्क पुस्तिका’ पनि विमोचन गरेका थिए । वि.सं १९९० सालमा गएको विनासकारी भूकम्पले ८ हजार ६ सय नागरिकको ज्यान लिएको थियो भने २५ हजारभन्दा बढी नागरिकका घर भत्केका थिए । सोही दिनको स्मरण गर्दै सरकारले २१ वर्षअघिबाट भूकम्प सुरक्षा दिवस मनाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्