२८ औं राष्ट्रिय च्याम्पियनसिप फुटबलको तयारी पूरा

दाङमा आजदेखि सुरु हुन लागेको राष्ट्रिय फुटबलको तयारी पूरा भएको छ । माघ ६ गतेसम्म हुन लागेको २८ औं राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको दाङ फुटबल संघले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुन लागेको फुटबलको आज तुलसीपुरको अरनिको मैदानमा उद्घाटन गरिनेछ ।
जिल्लामा हुन लागेको फुटबल प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्नका लागि तुलसीपुर र घोराही दुवै ठाउँमा तयारी पूरा भएको जनाइएको छ । उद्घाटन खेल तुलसीपुरको अरनिको मैदान र समापन घोराहीको भरतपुर खेल मैदानमा हुनेछ । अन्य खेलहरु समेत तुलसीपुर र घोराहीमा हुने फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले बताए । प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरीको विभागिय टिम र मध्यपश्चिम विकास क्षेत्रबीच हुनेछ ।