महामारीले फस्टाएको मोबाइल व्यापार «

महामारीले फस्टाएको मोबाइल व्यापार

कोरोनाले सबै वर्गका मानिसहरूमा त्रासको माहोल सिर्जना गरेको छ । पहिलो चरणले भन्दा दोस्रो चरणले मानिसमा बढी त्रास पैदा गरेको छ । अहिले हेर्ने नै हो भने परिवारको एक न एक जनालाई कोरोना भएको छ । कसैले लक्षण देख्दा पनि उपचारमा नलागेर र कोरोना परीक्षण नगरेर पनि घरमै आइसोलेट भएर निको भएका कुराहरू पनि धेरै सुनियो भने कैयौंलाई अस्पताल भर्नासमेत गरियो त कसैले उपचार हुँदाहुँदै र कसैले अस्पताल पुग्दा पनि उपचार र अक्सिजन नपाउँदा मृत्युसमेत भोग्नुप-यो ।
धेरैजस्तो कलकारखाना र व्यापार–व्यवसाय ठप्प भएको अवस्थामा मोबाइल व्यापारमा भने महामारीले धक्का नपु-याएको देखिन्छ । पहिलो चरणको कोरोनाको डर हुँदा मानिसहरू कसरी आफ्नो कार्यालय र पठनपाठन सुचारु गराउने भन्नेमा धेरै समयसम्म अन्योलमै थिए । कोरोनाको लहरबाट नेपाली समाजमा ‘वर्क फ्रम होम’ भन्ने कल्चर बस्यो । ‘वर्क फ्रम होम’ टेक्नोलोजी बिना कामै छैन । आफूसँग कम्प्युटर, ल्यापटप, राम्रो मोबाइल भएकाले त गर्न पाए, तर नभएकाहरू र आफ्नो मोबाइल अपडेटेड नहुँदा काम नहुने देखेपछि मानिसहरू अपडेटेड नयाँ मोडलका मोबाइल किन्न थाले, जुन क्रम अझै पनि जारी नै छ । सबैभन्दा त अनलाइन क्लास सुरु भएकाले धेरै नै मोबाइल बिक्री भएको छ । विद्यार्थीहरू अहिले आफ्नै मोबाइल चलाउने र आफ्नो क्लास बस्न कसैले सिकाउनु नपर्ने भएका छन् । बाबुआमाको मोबाइल चलाउने बच्चाका लागि पनि अब केही सीप नलागेपछि छुट्टै थोरै रेन्जका मोबाइलहरू बिक्री भइरहेका छन् ।
चन्द्रागिरी नगरपालिका, बलम्बु निवासी किरण श्रेष्ठले आफूले मोबाइल पसल कोरोनाको पहिलो लहरको बीचमा खोलेको बताए । अहिलेसम्म आइपुग्दा महामारीले मोबाइल र मोबाइलका सामानहरू बिक्रीमा कमी नआएको उनले बताएका छन् । पसल नखुलेको समयमा पनि घरमै आएर मोबाइलका समान र मोबाइल बिक्री भएको बताउँछन् ।
अहिलेको परिस्थितिले मानिसलाई धेरै प्रविधिमैत्री र प्रविधिमा नै निर्भर बनाएको हुँदा पनि मोबाइलको माग अझै पनि भएको र कुनै–कुनै मोबाइलको मोडेलको सर्टेजसुद्दा हुन थालिसकेको उनले बताए ।
कोरोनाको न्यूनीकरण होस् भन्ने हेतुले भएको लकडाउनले आफ्नै मान्छेबाट भाग्नुपर्ने अवस्था सिर्जना गरिदियो, जसमा हामी सबै प-यौं । ‘वर्क फ्रम होम’ र अनलाइन क्लासले गर्दा पनि मोबाइल किन्नैपर्ने बाध्यता उत्पन्न गरायो । बाहिर भेट्दा रोग लाग्ने डरले पनि मानिसहरू भित्रै बसी मोबाइलबाटै संवाद र भिडियो कलबाट जोडिन थाले । यसले गर्दा पनि साना डिभाइसको व्यापार बढेको श्रेष्ठले बताए ।
इन्टरनेटको प्रयोगमा भिडियोहरू धेरै हेर्ने, गेम खेल्ने, होमवर्कहरू गर्ने, अनलाइन कारोबार गर्ने क्रम बढ्यो । श्रेष्ठका अनुसार १० हजारदेखि १८ हजारसम्मका मोबाइलहरू धेरै बिक्री भएको र धेरैमा ४० हजारसम्मको बिक्री भएका छन् । जसमा १० देखि २० हजारसम्मका मोबाइल प्रायः विद्यार्थी र अभिभावकले लागेको उनले जानकारी दिए ।
त्यस्तै न्युरोडकी एक विक्रेता आस्था थापा भन्छिन्, “महामारीले केही फरक परेको छैन, बरु अफ सिजनमा पनि मोबाइल सामान्य समयमा जस्तै उत्ति नै बिक्री भइरहेको छ ।” मान्छेहरूलाई मोबाइलको धेरै आवश्यकता भएसँगै मोबाइल कम्पनीहरूले पनि धेरै नयाँ मोडल कम मूल्यमा ल्याउने गरेकाले झन् धेरै बिक्रि भइरहेको बताइन् । कम मूल्यमा गेमिङ फोन मार्केटमा लन्च हुँदा झनै धेरै बिक्री हुन्छ । अनलाइनकै लागि भनेर १० हजारदेखि २० हजार सम्मको फोन धेरै जाने र गेमिङका लागि २० हजारदेखि ३० हजारसम्मका मोबाइल धेरै जाने गरेको थापाले बताइन् ।
भन्सार विभागका अनुसार २०७७ साउनदेखि २०७८ असार सम्ममा मात्रै ७० लाख ३० हजार मोबाइल आयात भएका छन्, जुन हालसम्मै ठूलो परिमाणको आयात हो ।

प्रतिक्रिया दिनुहोस्