सहकारीमार्फत दूध संकलन «

सहकारीमार्फत दूध संकलन

रुकुम-रुकुमको मुसिकोट नगरपालिका–४ सोलावाङमा स्थापना गरिएको दुग्ध संकलन तथा चिस्यान केन्द्रमा दूध संकलन गरी बिक्रीवितरण सुरु गरिएको छ । नागरिक दुग्ध सहकारी संस्था लिमिटेडले स्थापना गरेको संकलन केन्द्रले सातादेखि दूध संकलन गर्न सुरु गरेको हो ।
काम सुरु गरेदेखि ३ हजार लिटर दूध संकलन भएको सहकारीले जनाएको छ । उक्त दूध सदरमुकाम मुसिकोट खलंगा, सोलावाङ, सिम्रुतु र झुल्नेटा बजारमा बिक्री गरिएको सहकारीका अध्यक्ष धिरेन सिर्पालीले बताए । “अहिले दैनिक एक हजार लिटर दूध खपत हुने अनुमान गरिएको छ,” उनले भने, “सुरुआती चरण भएकाले माग पूरा गर्न नसके पनि गाउँसम्म गाडी पु¥याएर संकलन गरिनेछ ।” जिल्लामा माग पूरा गरेर पनि दैनिक तीन हजार लिटरसम्म दूध नेपालगन्ज दुग्ध विकास आयोजनाले लिने गरी गत पुस ११ गते सम्झौतासमेत गरिएको उनको भनाइ छ । सम्झौताअनुसार दूधको माग पूरा गर्न गाउँगाउँबाट दूध संकलन गर्ने प्रयास भइरहेको अध्यक्ष सिर्पालीले बताए ।
दूध संकलनका लागि सहकारीले मुसिकोट नगरपालिकामा–२, त्रिवेणी गाउँपालिकामा–९, सानीभेरी गाउँपालिकामा–५ र बाँफिकोट गाउँपालिकामा–१ मा सहायक संकलन केन्द्र समेत राखिएको छ । सहायक संकलन केन्द्रबाट सहकारीकै गाडीमार्फत ढुवानी गरेर चिस्यान केन्द्रमा ल्याउने गरिएको छ । सहकारीका सम्बन्धित क्षेत्रका सेयर सदस्यहरूलाई सहायक संकलन केन्द्रको जिम्मेवारी दिइएको सहकारीले बताएको छ । सहायक संकलन केन्द्रमा समेत फ्रिज, क्यान, ल्याक्टोमिटर, थर्मोमिटरलगायतका उपकरण समेत उपलब्ध गराइएको छ । दूधको गुणस्तर अनुसार ३७ देखि ४० रूपैयाँ प्रतिलिटर मूल्यमा खरिद गर्ने र ४४ देखि ४८ रूपैयाँ प्रतिलिटर बिक्री गर्ने गरिएको छ ।
जिल्लामा उत्पादित दूधलाई बाहिर निर्यात गर्ने उद्देश्यले स्थानीय युवाको सक्रियतामा २०७१ सालमा सहकारी स्थापना गरिएको थियो । यस दुग्ध संकलन तथा चिस्यान केन्द्रका लागि कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ७९ लाख र मुसीकोट नगरपालिकाको ७ लाख ५० हजार रूपैयाँ सहयोग प्राप्त भएको सहकारीले जनाएको छ । त्यस्तै सहकारीको सेयर लगानी रकम १९ लाख ७१ हजार र एभरेस्ट बैंकबाट १७ लाख तथा राष्ट्रिय दुग्ध विकास बोर्डबाट ४ लाख ५४ हजार रूपैयाँ ऋणसमेत गरेर कूल १ करोड २७ लाख ७५ हजार रूपैयाँ लगानीमा संकलन केन्द्र स्थापना गरिएको नागरिक दुग्ध सहकारीका अध्यक्ष सिर्पालीले जानकारी दिए । उक्त रकमबाट एउटा चिलिङ भ्यान, एउटा पिकअप भ्यान र अन्य उपकरण खरिद गरिएको छ । साथै वार्षिक ३० हजार भाडामा सोलावाङमा तीन रोपनी भाडामा लिएर दुईवटा भवन निर्माण गरेर दुग्ध उद्योगकै रूपमा अगाडि बढाइएको सहकारीले जनाएको छ ।
यो सहकारीले भैंसीपालन गर्ने कृषकलाई व्यावसायिकरूपमा लाग्नसमेत आग्रह गरेको छ । “सहकारीले गाउँमै पुगेर दूध संकलन गर्न थालेपछि अहिले कृषकमा भैंसीपालन गर्ने उत्साह बढेको छ,” उनले भने, “पहिले–पहिले गाउँमा दूध बेच्नुहुन्न भन्ने संस्कार भएका कृषकमा समेत परिवर्तन आएको छ ।” यो उद्योगमा ८ जना स्थानीय युवाले रोजगारी पाएका छन् भने केहीले ज्यालादारीमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्