किबी खेतीबाट राम्रो आम्दानी «

किबी खेतीबाट राम्रो आम्दानी

तेह्रथुम-घरनजिक लटरम्म फलेको किबी हेरेर लालीगुराँस नगरपालिका–९ सोल्माका युवा किसान टेकबहादुर केप्छाकी मगर यति बेला मख्ख छन् । परीक्षणका लागि २ सय वटा किबीका बोट लगाएका उनले अहिले फल बिक्री गर्न थालेका छन् ।
अलैंचीको बिरुवा खरिद गर्न इलाम पुगेका बेला त्यहाँका किसानले खेती गरेको देखेर सुरुमा केही बिरुवा ल्याएर रोपेका मगरको बारीमा यति बेला ३ सयको हाराहारीमा किबीको बोट हुर्किएका छन् । सवै बोटमा थामी नसक्नु गरी फल लागेको छ । सुरुमा रहरले रोपेको किबीको फलबाट अहिले राम्रै आम्दानी हुन थालेपछि ठीकै गरिएछ भन्ने लागेको उनले बताए ।
“मैले घरभन्दा बाहिर जागिरका लागि कतै पनि रहर गरिनँ,” उनले भने, “सानै उमेरदेखि खेती किसानीमै लागेँ, फाइदा पनि राम्रै भइराखेको छ ।” कृषिबाटै करोडपति बन्न सकिन्छ भन्ने सोचेर किबी खेतीतर्फ लागेको उनको भनाइ छ । ४० वर्षीय मगर किबी खेतीसँगै चिया, अलैंची खेती र अलैंची बेर्ना उत्पादनमा एकैपटक लागेका छन् । यी सबै खेतीबाट राम्रै आम्दानी भइरहेको उनले बताए ।
उनी जिल्लामा ‘मेहनती र परिश्रमी युवा किसान’ का रूपमा चिनिन्छन्न् । उनले केप्छाकी बहुउद्देश्यीय नर्सरी फार्म पनि आफैंले सञ्चालनमा ल्याएका छन् । पाँच वर्षअघि आफ्नो करेसाबारीमा मगरले ५० बोट जति किबी लगाएका थिए । सुरुमा यसको बिरुवा ललितपुरबाट मगाउनु पथ्र्याे । त्यो पनि प्रतिगोटा ८ सय रूपैयाँसम्ममा । पछि उनले बिरुवा थपेर बारीमै लगाए ।
किबी खेतीमा करिब ३ लाख रूपैयाँ लगानी गरेका उनले अहिले राम्रै आम्दानी लिन थालेका छन् । “उत्पादन सुरु भएको पहिलो वर्ष नै लगानी त उठिहाल्यो,” उनले भने, “त्यसयताको आम्दानी भने नाफाका रूपमा जानेछ ।” तर मूल्य भने केही कम रहेको उनले सुनाए ।
केही वर्षअघिसम्म प्रतिकिलो ६ सयमा बिक्री हुने किबी फल अहिले भने १ सय ५० रूपैयाँमा झरेको छ । मूल्य थोरै भए पनि राम्रैसँग आम्दानी हुने गरेको उनले सुनाए । सुरुका दिनमा जिल्लामा एकदमै थोरै किसानले मात्र किबी खेती सुरु गरेका थिए ।
किबी फल जिल्लामा नौलो खेती थियो । तर अहिले धेरै किसान किबी खेतीमा लागेका छन् । प्रत्येक बोटमा ७० केजीसम्म फल फलेको उनले बताए । थप २ सय रोपनी जमिनमा यो वर्ष किबीका बिरुवा लगाउने तयारी उनले गरेका छन । अर्को ५ वर्षभित्रमा किबीको फलबाट मात्रै वार्षिक १५ लाख आम्दानी गर्ने लक्ष्य उनको छ ।

प्रतिक्रिया दिनुहोस्