कोहलपुर हत्याकाण्डमा संलग्न दुईजना पक्राउ «

कोहलपुर हत्याकाण्डमा संलग्न दुईजना पक्राउ

 गत पुस २६ गते बाँकेको कोहलपुरमा भएको हत्याकाण्डमा संलग्न भई फरार भएको आरोपमा कोहलपुर प्रहरीले बुधबार थप एक जनालाई पक्राउ गरेको छ । बाँके राप्ती सोनारी गाउँपालिका—२ का युवराज गिरीलाई प्रहरीले बर्दियाको मधुवन नगरपालिका वडा नं. ३ बाट घुँडामुनी गोली प्रहार गरी पक्राउ गरेको हो ।
घटनापछि लुकिछिपी बसेका उनले प्रहरीको सुरक्षा घेरा तोड्न खोजेपछि गोली चलाउनुपरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंहले बताए । भागेर नेपाल भारत सीमा आसपास पुगेको थाहा पाएपछि पछ्याउँदै जाँदा दोषीलाई पक्रिन सफल भएको प्रहरी नायब उपरीक्षक सिंहको भनाइ छ । घुँडामुनी गोली लागेका अभियुक्त गिरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनामा दोषी पाइएका अछामका भरत बहादुर शाहीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेत सिम्ता गाउँपालिका—४ का दिपक सिंह ठकुरीको कोहलपुरको नयाँ बसपार्क नजिकै घाँटी रेटी विभत्स हत्या भएको थियो ।
प्रहरीमा आफ्ना दाजु रहेको भन्दै अछाम जिल्ला हिम्जा गाउँपालिका ६ का अन्दाजी २२ वर्षका भरत शाहीले रकमको बार्गेनिङ गरेका थिए । अभियुक्त भरतले प्रहरीभित्रकै एक जना गाउँले दाजुलाई आफ्ना दाइ भनेर चिनाई काम हुने आश्वासनअनुसार मृतक दीपक सिंह ठकुरीमार्फत् १ लाख ४० हजार रकम बुझाएको देखिएको प्रहरी नायब उपरिक्षक रमेश बहादुर सिंहको भनाइ छ । पैसा लिएपछि काम सम्भव नभएपछि बाँके राप्ती सोनारीका अन्दाजी २१ वर्षका युवराज गिरीको संलग्नता घटनामा जोडिएको उनको भनाइ छ । “प्रहरीको असई पदमा जागिर लगाइ दिएबापतको अग्रिम भुक्तानी लिएका उनीहरुले रकम फिर्ता गर्नु भन्दा हत्या गर्ने योजना बनाएको पाइयो,” सिंहले भने, “घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्