कुयलघारीका भूकम्प प्रभावितले पाएनन् बलियो घर «

कुयलघारीका भूकम्प प्रभावितले पाएनन् बलियो घर


इच्छाकामना–६ कुयलघारीका भूकम्प प्रभावितहरू बलियो घरको आशमा छन् । भूकम्पले घर भत्किएपछि ओत लाग्न करिब ४ घण्टा परको सिमलढापमा झरेका हुन् । करिब ६० घरधुरी ६ वर्षदेखि अस्थायी टहरामा छन् । हरिपुर सबडिजिभन वन कार्यालयअन्तर्गतको बेलघारी कबुलियती वनको क, ख र ग ब्लकको हैसियत बिग्रेको करिब पाँच बिघा क्षेत्रमा बस्छन् । थाकथलो छाडेका उनीहरू पुरानै गाउँ फर्किन चाहँदैनन् । २०७२ सालको भूकम्पले धाँजा फाटेपछि गाउँमा पहिरोको डर बढेको थियो । धनलाल सुनार सुरक्षा हुने आशले झरे पनि सुरक्षित बन्न नसकेको दुःखेसो पोख्छन् ।


“गाउँको १० कट्टठा छाडेर आयौँ,” उनी भन्छन्, “फर्केर जाउँ, पहिरोको डर छ, यतै बसौँ, बलियो घर पनि बनाउन पाइँदैन ।” नयाँ बस्ती वन क्षेत्रमा परेकाले अधिकाँशले घर बनाउन सरकारी अनुदान पनि पाएनन् । “ऐलानी भए पनि अन्त जग्गा किन्न, अनुदान पाइन्छ भन्थे, तर किन्नै सकिएन,” उनी भन्छन्, “सरकारले दिएको अनुदान पनि लिन पाएनौँ, बाँसले बारेको कमजोर टहरामा छौँ ।” कुयलघारीका स्थानीय सुरुमा भालुमारा, सिस्नुघारीको झाडी सफा गरेर बस्न खोज्दा स्थानीयले साथ नदिएपछि इच्छाकामना–७ सिमलढापमा आइपुगेका हुन् ।


भूकम्प आएका बेला करिब २० दिन एउटै घरमा सहारा लिएर बसेर समथर जग्गा खोज्न ओर्लिएका थिए । “जिल्लाका हाकिमलाई निवेदन पनि बुझायौँ, बस भनेपछि यहीं बसियो,” धनलाल भन्छन्, “६ वर्ष आशैआशमा बित्यो ।” पहिलो वर्ष भूकम्प टोलभन्दै आउने राहतबाटै खाद्यान्न जुटाएका उनको परिवारलाई आजभोलि घरखर्च जुटाउन निकै दुःख छ । नयाँ बस्तीमा आएको दुई वर्षपछि नै आइतीमाया चेपाङले ८ वर्षे छोरीलाई गुमाइन् । एक्कासि घरमाथि सालको रुख ढलेपछि च्यापिएर छोरीको ज्यानै गयो । त्यसपछि उनले फेरि टहरालाई केही पर सारिन् । “जंगली जनावरको डर उस्तै छ, रुख ढलेर छोरी नै गुमाएँ,” उनी भन्छिन्, “बलियो घर भैदिए मन ढुक्क बन्थ्यो ।” उनका तीन छोराछोरी छन् ।

शिवलाल सुनार बसेकै ठाउँमा सरकारले पुर्जा र बलियो घर बनाइदिने आशमा छन् । “धनसम्पत्ति भैदिए यस्तो विजोग भोग्नु पर्थेन,” उनले सुनाए, “न अनुदान पायौँ न सरकारी सुविधा पाइयो ।” सन्तबहादुर विक पुरानो गाउँ नफर्किने बताउँछन् । “धाँजा फाटेका भीरपाखामा फेरि जाने मन छैन,” उनी भन्छन्, “सुरक्षित ठाउँमा सरकारले राखिदिए मन रमाउँथ्यो ।”
हर्कबहादुर सुनार ब्लक लगाएकै घरमा बस्ने धोको भएको सुनाउँछन् । “वन क्षेत्र पर्छ भनेर अनुदान पाइएन, ब्लकको २ कोठे घर बनाउने पैसा पनि भएन,” उनले भने, “६ वर्ष कुरेरै बित्यो, अब त केही होला कि ।” डिजिभन वन कार्यालय चितवनका सूचना अधिकारी तथा सहायक वन अधिकृत बालकृष्ण खनालले कबुलियती वनको क्षेत्र पर्ने भएकाले पक्की संरचना बनाउन रोक लगाइएको स्वीकार गरे । “अस्थायी टहरामा बस्दै आएकालाई हामीले अवरोध गरेका छैनौँ,” उनले भने, “पक्की घर बनाउन भने मिल्दैन ।”


जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले केही दिनमै सर्वपक्षीय छलफल डाकेर बस्ती स्थानान्तरणमा देखापरेका समस्या समाधान गरिने दाबी गरे । “कुयलघारी र गुछिवाङका भूकम्पप्रभावित अझै समस्यामा छन् भन्ने गुनासो आएका छन्,” उनले भने, “उचित र सुरक्षित बसोबासका लागि पहल गर्नेछौँ ।” पुनर्निर्माण प्राधिकरणको भौगर्भिक अध्ययन टोलीले कुयलघारी क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्र पहिचान गरेको थियो । कुयलघारीलाई पिपलटार क्षेत्रमा प्रत्येक घरधुरीलाई करिब आठ धुर जग्गा दिएर एकीकृत नमुना बस्ती बनाउने योजना बनाइए पनि प्रभावितले नै इन्कार गरेपछि योजना असफल भएको थियो । इच्छाकामना–२ गुछिवाङका २४ घरधुरी कालिका–८ जुटपानीमा ६ वर्षदेखि अस्थायी टहरामा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्