बजेट प्रणालीबाहिरै २२ प्रतिशत खर्च «

बजेट प्रणालीबाहिरै २२ प्रतिशत खर्च

नेपालले प्राप्त गर्ने वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि भए पनि राष्ट्रिय बजेट प्रणालीभन्दा बाहिरैबाट खर्च गर्ने प्रवृत्ति भने घटेको छैन । अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको विकास सहायता प्रतिवेदन २०१८ ले बजेट प्रणाली बाहिरबाटै २२ प्रतिशत रकम खर्च भएको देखाएको छ ।
अघिल्लो आर्थिक वर्षमा ७३ प्रतिशत सहायता रकम राष्ट्रिय बजेट प्रणालीबाट खर्च भएकोमा गत आर्थिक वर्षमा ७८ प्रतिशतमा पुगेको छ । नेपालमा ४० भन्दा बढी विकास साझेदार संस्था कार्यरत छन् । तिनले गत आर्थिक वर्ष सहायताको २२ प्रतिशत रकम राष्ट्रिय बजेट प्रणालीबाहिर रहेर खर्च गरेको देखिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । “बजेट खर्च गर्ने प्रणालीमा सुधार भएको छ,” उनले भने, “यसैलाई मध्यनजर गरेर वैदेशिक सहायतालाई राष्ट्रिय बजेट प्रणालीमा ल्याउनका लागि वैदेशिक सहायता नीति मन्त्रिपरिषद् बैठकमा लाने तयारीमा छौ ।”
प्रतिवेदनअनुसार गत आर्थिक वर्ष (२०७४/७५) मा नेपालले बहुपक्षीय र द्विपक्षीय दातृ निकायबाट १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर सहायता प्राप्त गरेको छ । यस अवधिमा ऋण सहायताको अंश ५०.५ प्रतिशत, अनुदानको अंश ३५.१ प्रतिशत र प्राविधिक सहायताको अंश १४.४ प्रतिशत रहेको अर्थ मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले जानकारी दिए । गत आर्थिक वर्ष वैदेशिक सहायतामा ऋणको अंश बढेको छ भने अनुदान र प्राविधिक सहायताको अंश घटेको छ । प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा बहुपक्षीयतर्फ विश्व बैंक र द्विपक्षीय विकास साझेदारतर्फ बेलायत सबैभन्दा धेरै सहायता परिचालन गर्नेमा अगाडि देखिएका छन् । प्रतिवेदनअनुसार नेपालले गत आर्थिक वर्षमा ८१ करोड ९१ लाख डलर ऋण लिएको र ५७ करोड अनुदानप्राप्त गरेकोे छ । यसैगरी २३ करोड ३३ लाख डलर प्राविधिक सहायता नेपालले स्वीकार गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. खतिवडाले अनुदानभन्दा ऋणको हिस्सा बढ्दै गएको बताए । “नेपालले धेरै कुरामा प्रगति गरेको छ, ऋण तिर्ने क्षमता विस्तार भएको छ भन्नेमा दाताहरू पुगेका छन्,” उनले भने ।
अर्थमन्त्रीले विकासका लागि नेपालले खर्च गर्ने क्षमता विस्तार गर्ने र त्यसका लागि ऋण लिन तयार रहेको बताए । नेपालको ऋण तिर्ने क्षमता बढ्दै गएकाले कुल ग्रार्हस्थ्य उत्पादनको ६० प्रतिशतसम्म वैदेशिक ऋण सहायता लिने तयारी गरेको पनि बताए ।
प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत उपलब्ध हुने रकम घटेको छ । गत आर्थिक वर्षमा ११ करोड ३ लाख अमेरिकी डलरमात्र परिचालन भएको प्रतिबेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा यो रकम १८ करोड ६५ लाख ३० हजार अमेरिकी डलर रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिवेदनअनुसार वैदेशिक सहायताको सबैभन्दा ठूलो हिस्सा आर्थिक सुधारको क्षेत्रमा परिचालन भएको छ । यस्तै, कुल सहायतामध्ये १० दाताको हिस्सा ९२ प्रतिशत देखिएको छ । सबैभन्दा धेरै सहयोग प्रदान गर्ने पाँच बहुपक्षीय विकास साझेदारले कुल सहयोगको करिब ६३ प्रतिशत र पाँच ठूला द्विपक्षीय साझेदारबाट २९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार नेपाललाई अनुदान दिने दातृ निकायमध्ये युरोपेली युनियन एक नम्बरमा देखिएको छ । यस्तै, ऋण प्रवाह गर्नेमा विश्व बैंक र प्राविधिक सहायता दिनेमा अमेरिका अगाडि देखिएका छन् ।

बहुपक्षीय साझेदारको सहयोग (डलरमा )
विश्व बैंक  ५३.३५ 
करोड  विश्व बैंक  ५३.३५ करोड  
एसियाली विकास बैंक  २९.१७ 
करोडयुरोपेली यूनियन  ११.६२ करोड
राष्ट्रसंघीय समूह  ६.५८ करोड
 आईएफडी  १.५८ करोड 

प्रतिक्रिया दिनुहोस्