नयाँ हवाई रुट दिन भारत तयार «

नयाँ हवाई रुट दिन भारत तयार

काठमाडौं-नेपाललाई नयाँ हवाई रुट दिनका लागि भारत तयार देखिएको छ । भारतीय उड्डयनमन्त्री सुरेश प्रभाकर प्रभुले नेपाललाई हवाई रुट दिने प्रतिवद्धता जनाएका छन् । बुधवार भएको दुईपक्षीय छलफलमा नेपालले राखेको नयाँ हवाई रुट प्रस्तावमा आफूहरू सकारात्मक रहेको उनले जनाएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय समकक्षी सुरेश प्रभुबीच नयाँदिल्लीमा वार्ता भएको थियो । “वार्तामा विगतमा भएको सहमतिलाई नै टेकेर अगाडि बढ्ने प्रतिवद्धता दुवै पक्षबाट प्राप्त भएको छ,” प्रतिनिधिमन्डलका सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने । विगतकै सहमतिलाई टेकेर पुनः प्राविधिक तहको वार्ता गर्ने जनाउ भारतीय मन्त्रीले दिएको सहसचिव लामिछानेले जानकारी दिए । ‘ग्लोवल एभिएसन समिट २०१९’ भाग लिन नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै मन्त्री अधिकारी भारत भ्रमणमा गएका छन् ।
समिटमा विश्वभरका उड्डयन क्षेत्रका विज्ञहरू सहभागी छन् । बुधबार मन्त्री अधिकारीले नयाँ हवाई रुटको विषयमा भारतीय उड्डयन मन्त्रीसँग साइडलाइन वार्ता गरेका हुन् । गत असोजमा नेपाली र भारतीय प्राविधिक टोलीबीच भएको वार्ता उपलब्धिबिहीन बनेको थियो । यससँगै नयाँ हवाई रुट खोल्ने विषय टर्दै गएपछि प्रधानमन्त्री स्तरबाटै पुनः पहल सुरु भएको थियो ।
नेपालले भारतसँग जनकपुर, महेन्द्रनगर, नेपालगन्ज र भैरहवाको हवाई रुट माग्दै आएको छ । जनकपुर र नेपालगन्ज दिन भारत तयार भए पनि भैहरवाको रुट भने दिन नसक्ने यसअघि नै बताइसकेको छ । पछि भएका वार्तामा सुरक्षाको कारण देखाउँदै नेपालगन्ज र जनकपुर रुट समेत दिन नसक्ने जानकारी भारतीय पक्षले दिएका थिए ।
नेपालले निर्माण जारी राखेका भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट अत्यावश्यक छ । हाल सिमराबाट मात्रै हवाई रुट खुला छ । गत वर्षको सहमतिमा महेन्द्रनगरबाट बाहिरिन दिने सहमति भएको थियो । उक्त सहमतिसमेत कार्यान्वयनमा आएको छैन ।
भारत ट्रान्स हिमालयन रुट–२ समेत खोल्न तयार भइसकेको छ । तर, म्यानमार र भुटानको समेत यसमा सहमति आवश्यक छ । सोही कारण यो रुट खुल्ने विषयपनि अगाडि बढेको छैन । काठमाडौं–महेन्द्रनगर–दिल्ली (एल–६२६) भने दोहोरो रुट हो ।

प्रतिक्रिया दिनुहोस्