२० टन तरुल बिक्री भएको अनुमान

हिन्दूहरूले मनाउँदै आएको पर्व माघीमा तरुलको कारोबार बढेको छ । खासगरी कन्दमूलका रूपमा रहेको सखरखन्ड र तलाउ पोखरीमा फल्ने सिंगडा कात्तिकको तुलसी रोपण गर्ने एकादशीका दिन बढी कारोबार हुने गरे पनि तरुलको कारोबार भने माघीमा बढी हुने गर्छ ।
विशेष गरेर हिमाली तथा पहाडी जिल्लामा माघीमा खिचडी खाने र ब्रत बसी मन्दिर जाने चलन हुन्छ । तराईका आदिवासी थारु समुदायले माघी पर्व विशेष उल्लासका साथ मनाउने गरेको रूपन्देही क्षेत्र नं. ३ प्रदेशसभा–२ का सदस्य तुलसीप्रसाद चौधरीले बताए । उनका अनुसार तराईका जिल्लामा माघीमा ब्रत बसी विभिन्न प्रकारका तरुल खाने प्रचलन छ ।
माघीमा सिमल, स्कूसको जरा, वन तरुल, भारतीय तरुल, हात्तीपाइले तरुल, रातो तरुल, पानी तरुल, पिँडालु, सखरखण्डलगायतको बढी कारोबार हुन्छ । माघीका लागि रूपन्देहीमा केही तरुल पहाडी जिल्लाबाट आयात भएको छ भने केही भारतबाट आयात भएको सिद्धार्थनगर नगरपालिका–६ का व्यापारी अब्दुल मुसलमानले बताए । उनले माघीका दिन विभिन्न प्रकारको तरुलको कारोबार बढ्ने गरेको बताए । मुसलमानले पर्वका सिजनमा मात्र बिक्री हुने भएकाले ग्राहकहरू खोजी–खोजी तरुल खरिद गर्न आउने बताए ।
यता एकसाता अघिसम्म प्रतिकिलो ५० देखि एक सय रूपैयाँसम्ममा पाइने विभिन्न खालका तरुल तथा कन्दमूलको मूल्य माघीमा भने निकै बढेर प्रतिकिलो ८० रूपैयाँ देखि २ सयसम्म पुगेको छ । मौसमी परिकारका रूपमा रहेकाले पनि मूल्य वृद्धि भएको व्यापारीहरूले बताएका छन् ।
जिल्ला सदरमुकाम भैरहवा, बुटवल, लुम्बिनी, मर्चवार, धकधई, देवदह, मणिग्रामलगायतका ग्रामीण तथा सहरी बजारमा तरुल तथा कन्दमूल र सखरखन्डको ब्यापार बढेको व्यवसायीहरूले बताएका छन् । नेपालका पहाडी जिल्लाबाहेक व्यवसायीहरूले भारतको मुजफ्फरपुर, बनारसलगायतका स्थानबाट तरुल आयात गर्ने गरेको बताएका छन् । जिल्लामा व्यावसायिक खेती नहुँदा मौसमी व्यवसाय भए पनि तरुल तथा कन्दमूल बढी प्रयोग हुने ठूला चाडपर्वमा आयातका लागि लाखाँं रूपैयाँ विदेशीने गरेको कृषकहरू बताउँछन् । रूपन्देहीमा मात्रै माघी पर्वमा २० टनभन्दा बढी तरुल तथा कन्दमूल बिक्री हुने अनुमान गरिएको छ ।