सुक्खा बन्दरगाहको शिलान्यास आज «

सुक्खा बन्दरगाहको शिलान्यास आज

काठमाडौं-स्थानीयको अवरोधका कारण लामो समयदेखि अन्योलमा परेको काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह निर्माणको काम अन्ततः सुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सुक्खा बन्दरगाहको शिलान्यास गर्ने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीयवासीले उठाएका मागलाई अध्ययन गरी पूरा गर्ने प्रतिवद्धता जनाएपछि बन्दरगाह निर्माण हुने भएको हो । स्थानीयवासीका माग सम्बोधन गर्ने गरी त्यसको निर्माण कार्य अगाडि बढाउन लागिएको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं–तराई द्रुतमार्ग र वीरगन्ज काठमाडौं रेलमार्गसँग यो बन्दरगाह जोडिने जनाइएको छ । मन्त्रालयका सहसचिव रविशंकर सैंजुले स्थानीयवासीका माग पूरा गर्नेगरी सुक्खा बन्दरगाहको निर्माण कार्य अगाडि बढाउन लागिएको जानकारी दिए । स्थानीयवासीले भने सिमेन्ट उद्योगका लागि अधिग्रहण गरिएको जग्गामा नयाँ पूर्वाधार बनाउन तथा आफूहरूले मुआब्जासमेत नपाएकाले जग्गा नै फिर्ता पाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।
स्थानीयका माग पूरा गर्नेगरी प्रधानमन्त्रीबाट सुक्खा बन्दरगाहको शिलान्यास गर्न लागिएको सहसचिव सैंजुले जानकारी दिए । “जग्गाको मुआब्जा नपाएको विषयमा आवश्यक सबै प्रमाण लिएर आउन भनेका छौं,” उनले भने, “प्रमाण जुटाएर लिएर आएको अवस्थामा सोे रकम उपलब्ध गराइदिनुपर्छ ।”
हिमाल सिमेन्टको जग्गामा निर्माण हुन लागेको सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएपछि सामानको आयात निर्यात गर्न सहज पुग्ने उनको भनाइ छ । “विशाखापट्टनम र कोलकाताबाट सामान बोकेर आएका ट्रक तथा कन्टेनरको चेकचाँज नभइ सिधै चोभारमा आउने छन्,” उनले भने, “यसले लागत र समय दुवै बचत हुँदा मुलुकको व्यापार सहजीकरणसमेत हुन्छ ।” कोलकाता र विशाखापट्टनम बन्दरगाह भएर तेस्रो मुलुकबाट आउने मालवाहक कन्टेनर वीरगन्जमा चेकजाँच भएर आउँदा धेरै समय लाग्ने गरेको थियो ।
सरकारले बन्दरगाह निर्माणका लागि हिमाल सिमेन्टको १ हजार ५४ रोपनी जग्गा उपलब्ध गराएको छ । यसमध्ये २ सय १० रोपनीमा बन्दरगाह र बाँकी क्षेत्रफलमा अत्याधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण गरिने छ । अत्याधुनिक प्रविधिसहित निर्माण गर्न लागिएको बन्दरगाहमा भन्सार कार्यालय, इन्टरमोडल कार्यालय, बैंक, प्लान्ट तथा लाइभस्टक, क्वारेन्टाइन, गोदाम, जाँचपास कक्ष, मालवाहक कन्टेनर र ट्रक लोड तथा अनलोड गर्ने सुविधा हुनेछ । सुक्खा बन्दरगाहमा २ सय ५० वटा कन्टेनर पार्किङको व्यवस्था गर्न लागिएको छ ।
सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेट वक्तव्यमार्फत हिमाल सिमेन्ट कारखानाको जग्गामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बनाउने घोषणा गरेको थियो । चिनियाँ र नेपाली कम्पनीले निर्माण गर्न लागेको आयोजना नेपाल इन्टरमोडल यातायात विकास समितिले कार्यान्वयन गर्ने छ ।
समितिका अनुसार ३५ रोपनीमा जग्गामा अतिक्रमण गरी फन पार्क, टहरा, रेस्टुराँ, होटल, सवारीसाधन पार्किङ, खेल मैदानलगायत संरचना निर्माण भइसकेका छन् । विभिन्न समूहले उक्त जग्गामा आफूखुसी भाडामा लगाएर रकम उठाउँदै आएका छन् ।
बन्दरगाह निर्माणका लागि विश्व बैंकले २ अर्ब ५० करोड ५२ लाख रुपैयाँ बराबरको ऋण सहयोग उपलब्ध गराएको छ । हिमाल सिमेन्ट कारखानाको जग्गा सरकारको स्वामित्वमा ल्याउनै करिब दुई वर्ष लागेको थियो । यस्तै, तेस्रो मुलुकबाट आयात हुने सामानका लागि छुट्टै र नेपालका विभिन्न स्थानबाट आउने सामानका लागि छुट्टै यार्ड र पाँचवटा वेयरहाउस निर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्