बेनी अस्पताल भवन अलपत्र «

बेनी अस्पताल भवन अलपत्र

म्याग्दीको बेनी अस्पतालको भवन निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवी सिंहले कार्ययोजना अनुसार काम नगर्दा करिब दुई वर्षदेखि भवन अलपत्र परेको छ ।


२० महिनाअघि नै सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायीहरूको विवाद अदालत पुगेपछि अधुरो भवन निर्माणकार्य पनि अन्योलमा परेको हो । कोभिडको उच्च जोखिम रहेको सदरमुकाम बेनीमा अस्पतालको बिरामी उपचार सेवा अस्थायी र साँघुरा कोठामा गर्नुपर्ने बाध्यता रहेको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।


अस्पताल अलपत्र बनाउने तिनैजना व्यवसायी शक्तिशाली छन् । विभिन्न बहाना बनाएर पहुँच र शक्तिका भरमा निर्माण व्यवसायीले योजनाको म्याद थप्दै आएका छन् । महादेव खिम्तीका सञ्चालक रवी सिंह निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष छन् भने गल्वा कन्ट्रक्सनका सञ्चालक नरहरि थपलिया उपमहासचिव र रफिना कन्ट्रक्सनका सञ्चालक रविन जोशीले म्याग्दीको स्वास्थ्य क्षेत्रको भवनमा निर्माणमा खेलवाड गरिरहेका छन् ।


तत्कालीन सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले वि.सं २०७३ मंसिर २१ गते ५० शैया क्षमताको अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । महादेव खिम्तीका सञ्चालक निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवी सिंह हुन् । यो भवन बनाउने जिम्मेवारी रबिन जोशीले लिएको थियो । वि.सं २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर सम्झतौको मितिसम्म ५० प्रतिशत काम पनि भएको थिएन ।


भवन निमार्णका लागि पहिलो चरणमा कोरोनाको समस्या देखाउँदै २०७७ जेठ २० गते एक वर्षका लागि म्याद थप गरिएको थियो । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका इन्जिनियर वीरबल सुनारका अनुसार हालसम्म जम्मा ५५ प्रतिशतमात्र भौतिक निर्माणका कार्य सकिएको छ ।

उनका अनुसार अहिलेसम्म ठेकेदार कम्पनीले नौ करोडको हारहारीमा भुक्तानीसमेत लगिसकेको छ । गत आर्थिक वर्षमा २ करोडजतिको बिलअनुसारको भुक्तानी माग गरेका थिए, सर्वोच्च अदालतले दुई कारोडका बिल बाँकी राखेर भुक्तानी गर्ने आदेश दिएकाले भुक्तानी दिएका छैनौँ,” सुनारले भने, “अहिले पनि कोरोनाको कारण देखाउँदै म्याद थपका लागि पत्र आएको छ ।”
चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवन निर्माणको काम लिखित र मौखिक प्रतिबद्धताअनुसार भवन निर्माणलाई गति दिन नसकेपछि कालोसूचीमा राख्ने प्रक्रिया थाल्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले पत्रसमेत काटेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमार्फत सरकारले गरेको घोषणाअनुसार आगामी मंसिर २० गतेसम्म म्याद थप गर्न सकिन्छ । साझेदारीमा काम गरेका तीनवटै निर्माण ब्यवसायीको विवादले कामअघि बढ्ने आधार देखिएको छैन ।


भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेकेदार कम्पनीलाई निर्माणकार्य सम्पन्न गर्नका लागि हालसम्म १० वटा पत्रसमेत काटेको छ । तर ठेकेदार कम्पनीले पत्रको बेवास्ता गरेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्षले नै जिम्मा लिएको आयोजनाको काम समयमा नसक्दा अस्पतालमा सञ्चालन गर्न सकिने उपचारसमेत गर्न नसकिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । “५० शैया क्षमता भए पनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौं,” उनले भने, “अहिलेसम्म निर्माण व्यवसायीहरू सम्पर्कमा आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्