प्रोकमा लघुजलविद्युत योजना निर्माण सम्पन्न «

प्रोकमा लघुजलविद्युत योजना निर्माण सम्पन्न

गोरखाको चुमनुब्री गाउँपालिका–४ मा प्रोक लघु जलविद्युत योजना निर्माण सम्पन्न भएको छ । केन्द्रिय प्रसारण लाइन नपुगेको प्रोकमा ८० किलोवाट क्षमताको लघु जलविद्युत योजनाबाट बिजुली निकालिएको हो । कादुरी एग्रिकल्चरल एड् एसोसियसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लघुजलविद्युत योजना निर्माण गरिएको हो । स्थानीय दामदग खोलाबाट निकालिएको बिजुली प्रोक, गाप, छाक, क्वाक, भुर र बान्द्रुङ गाउँका ३ सयभन्दा धेरै घरधुरीमा बालिएको वडा अध्यक्ष पेमा डुण्डुप लामाले बताए । ७ करोड ७६ लाख ५६ हजार ७ सय ६ रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको योजनामा स्थानीय बासीन्दाले ४ करोड ७९ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।
२०७६ चैतमा विस्तृत सर्वेक्षण भएको योजनाको २०७७ मंसिर ८ गतेबाट निर्माण सुरु भएको थियो । साउन २३ गते योजना निर्माण सम्पन्न गरी कादुरीले स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ । उपभोक्ता समितिले प्रतिमहिना २० युनिटसम्म विद्युत खपत गर्नेलाई न्यूनतम ३ सय रुपैयाँ महसुल निर्धारण गरेको छ । २० युनिटभन्दा धेरै उपभोग गर्नेलाई प्रतियुनिट १० रुपैयाँ थप शुल्क निर्धारण गरिएको वडा अध्यक्ष लामाले बताए ।
सोलार र सल्लाको धुपको दियालोको भरमा रात बिताएका सो क्षेत्रका बासिन्दाको घर घरमा लघुजलविद्युतको बिजुली बलेको उनको भनाई छ । ‘बिजुली बलेपछि हामीलाई धेरै सजिलो भएको छ’ उनले भने, ‘पानीघट्टमा कुटानी पिसानी गर्नुपथ्र्यो अब मिल राख्न पाईयो । घरमा पानी तताउन, खाना पकाउन दाउरा बाल्नुका सट्टा इलेक्ट्रोनिक सामान प्रयोग गर्न पाईने भयो । जंगल पनि जोगिने भयो ।’ घाम नलाग्दा सोलारले काम नगरेपछि विगतमा मोवाइल चार्ज गर्न पनि समस्या हुने गरेकोमा अब सजिलो भएको उनले बताए । ‘अब त सधैभरी मोवाइल चार्ज गर्न, टिभि हेर्न पाईने भयो । गाउँले धेरै खुसी भएका छौं ।’ गाउँमा लघुजलविद्युत बनेसँगै अब घरायसी काममा सहजता आउनुका साथै घरेलु उद्योग सञ्चालनका लागि पनि वातवारण बनेको अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्