निषेधाज्ञामा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै «

निषेधाज्ञामा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै

नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्टले दिन–प्रतिदिन संक्रमण र मृत्युदरलाई बढाएर तहल्का मच्चाइरहेको छ । यस्तो बेला घरभित्र बसेर संक्रमणबाट जोगिनु नै सर्वोत्तम उपाय रहेकाले आमनागरिकहरू घरभित्रै थुनिएर बस्न बाध्य छन् । यो बाध्यता मात्र नभई आवश्यकता पनि हो । निषेधाज्ञाले अत्यावश्यक कार्यालयमा काम गर्ने कर्मचारीको बाहेक घरमा बस्ने आमनागरिकको दैनिकी एउटै बनाएको छ । खाने र सुत्ने समयबाहेक अन्य खाली समयमा नागिरकहरू सामाजिक सञ्जालमा व्यस्त रहने गरेका छन् । फलस्वरूप सामाजिक सञ्जालको प्रयोग उच्च बन्दै गइरहेको छ । तसर्थ, निषेधाज्ञाको बेला सामाजिक सञ्जाल समय बिताउनका लागि गतिलो माध्यम बनेको छ ।
सामाजिक सञ्जालअन्तर्गत फेसबुक, टिकटक, भाइबर, म्यासेन्जर, ट्विटर, इन्स्टाग्राम आदि पर्छन् । यस्ता सामाजिक सञ्जालका पनि सकारात्मक र नकारात्मक दुवै पाटा हुन्छन् ।
सामाजिक सञ्जालको प्रयोग गर्न सहज भएकाले जो–कोहीले यसको सजिलै क्षणभरमै प्रयोग गर्न सक्छन् । कुनै पनि कुराको सकारात्मक कुराभन्दा नकारात्मक कुरा चाँडो फैलने भएकाले सामाजिक सञ्जाल प्रयोगकर्ताको असावधानी र ज्ञान अभावले यसको नकारात्मक असर बढ्दै जान थालेको छ । निषेधाज्ञाको समयमा प्रयोगकर्ताले सामाजिक सञ्जालको बढी प्रयोग गर्ने भएकाले अहिले प्रयोगकर्तालाई के सही र के गलत भनेर छुट्ट्याउनसमेत मुस्किल परेको छ । अव्यवस्थित र नियम उल्लंघन गर्दै लेखिने समाचार, अनियन्त्रित रूपमा खुलेका अनलाइन र विभिन्न असान्दर्भिक विचारले सामाजिक सञ्जाल प्रयोगकर्तामा भ्रम फैलाइरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा आउने कुराले मानिसलाई आतंकित पार्नुका साथै मानसिक तनावसमेत दिन थालेको छ । सामाजिक सञ्जालमा आउने अफवाह सामग्री, शवका तस्बिर अनि मन र आत्मबल घट्ने पोस्टले थप पीडा थप्दै छ ।
आजकाल सामाजिक सञ्जालमा शुभकामनाभन्दा धेरै श्रद्धाञ्जली र समवेदनाका शब्दहरू बढ्दै छन् । यस्ता समवेदना र श्रद्धाञ्जलीले पीडित परिवारको पीडा कम हुनुको सट्टा झन् थपिदिन्छ । हतारमा गरिएका पोस्ट र खुलाउन नहुने कुराले सम्बन्धित व्यक्तिलाई पु-याउने असर कसैले लेखाजोखा गर्न सकिँदैन । यस्ता कुराले पोस्ट गर्ने व्यक्तिलाई मात्र नभई सामाजिक सञ्जाललाई हेर्ने दृष्टिकोण नै नकारात्मक बनाइरहेको छ । सामाजिक सञ्जालमा हुने यस्ता नकारात्मक कुराहरूका कारण सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको छ । त्यसैले यस्ता नकारात्मक कुरालाई सबैले हतोत्साहित गर्नुपर्छ । सामाजिक सञ्जालको दुरुपयोग गर्ने जो–कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । सामाजिक सञ्जालमा आत्मबल बढाउने र तथ्यसहितका सही कुरा मात्र पोस्ट गरी सामाजिक सञ्जालको सदुपयोग गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्