अभावै अभावमा गाउँपालिका «

अभावै अभावमा गाउँपालिका

उदयपुर-गाउँपालिकाको केन्द्र भएर पनि बिजुली छैन । खानेपानीको हाहाकार छ । साँघुरो कच्ची बाटो धुलोले हिँडिसक्नु छैन । बैंक तथा अन्य वित्तीय संस्थाको अभाव छ । विषयगत कर्मचारी छैनन् । भएका पनि अधिकांश कार्यालयमा बस्दैनन् । जनताले चुनेका जनप्रतिनिधिसमेत कार्यालयमा नबस्दा उदयपुर जिल्लाको पुरानो सदरमुकाममा रहेको उदयपुरगढी गाउँपालिका अभावै अभावमा गुज्रिरहेको छ ।
गाउ“पालिकको केन्द्र ऐतिहासिक स्थान उदयपुरगढी हो, जुन २०२७ साल अगाडिसम्म उदयपुर जिल्लाको सदरमुकाम थियो । राज्यको पुनर्संरचनासँगै गाँउपालिकाको नाम पनि केन्द्र रहेको स्थानसँगै मिल्ने गरी राखियो । निर्माणाधीन धरान/चतरा/हेटौडा सडक योजना (मदन भण्डारी लोकर्माग)बाट ८ किमिको दूरीमा रहेको गाउ“पालिकाको केन्द्र उदयपुरगढीको सडक व्यवस्थित हुन सकेको छैन । ८ किमि सडक छिचोल्न झण्डै डेढ घण्टा लाग्छ ।
केन्द्रमा बैंक नहँुदा गाउँपालिका कार्यालयमा हुने आर्थिक कारोबारका लागि नेपापलटार बजार पुग्नुपर्ने बाध्यता छ । ग्रामीण विद्युतीकरणका लागि भन्दै सर्वसाधारणले समेत करिब २ करोड रुपैयाँ जम्मा गरेको झण्डै वर्षदिन बितिसक्यो । गाउँपालिकाले सबै वडाका सबै घरमा बिजुली पु¥याउने लक्ष्यका साथ ६० करोड रुपैयाँको महत्वकांक्षी योजना अगाडि सारेको छ । विद्युतीकरणको काम भइरहे पनि विभिन्न बहानामा ठेकेदारले सुस्तगतिमा काम गरिरहेकाले स्थानीयले बिजुली बत्तीको प्रयोग गर्न पाएका छैनन् ।

जनप्रतिनिधि नहुँदा जनतालाई सास्ती
जनप्रतिनिधिले गा“उपालिकालाई पूरै समय नदिँदा सर्वसाधारणले उत्तिकै सास्ती खेप्नु परिरहेको छ । पहिले १ दिनमा हुने काम अहिले ५ दिनमा पनि नसकिँदा सर्वसाधारणले झनै सास्ती पाएका छन् । वडा कार्यकालयमा वडाध्यक्ष नै बस्दैनन् । गाउँपालिकामा विषयगत कार्यालयका कर्मचारी बस्दैनन् ।
“वडा कार्यालयमा कर्मचारी हुदा“ वडाध्यक्ष हुँदैनन्, वडाध्यक्ष हुँदा कर्मचारी हुँदैनन्,” स्थानीय दीपक रोकाहा भन्छन्, “सामान्य सिफारिसको काम पनि एक दिनमा सकिँदैन ।” नागरिकता सिफारिसका लागि समेत एकदेखि तीन दिन लाग्ने उनी बताउँछन् ।
“बिजुली, पानी, बैंक, बाटोेको लागि वर्षौदेखि लगानी भइरहेको छ,” २१ वर्षदेखि स्थानीय विद्यालयमा कार्यरत शिक्षक पवन झा भन्छन्, “तर अहिलेसम्म केही भएको छैन, वर्षौंदेखिको अवस्था उस्तै छ ।” बाटोकोे ट्रयाक, पानी र बिजुलीका लागि प्राथमिक पूर्वाधार तयार भए पनि अहिलेसम्म व्यवस्थित गर्न नसकेको उनले बताए । “स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासमा सहज होला भन्ने सर्वसाधारणमा आशा जागेको थियो,” स्थानीय दिनेश धमलाले भने, “तर डेढ वर्ष बितिसक्दा पनि सोचेजस्तो नहँुदा सर्वसाधारण निरास छन् ।” गा“उपालिको केन्द्रमै सुविधा नभए पनि अन्यत्रको अवस्था झन खराब रहेको उनले बताए ।

सेवा सुविधामा परिवर्तन भएन
सेवा सुविधा र विकासका दृष्टिकोणले पहिलेको गाविसभन्दा खासै केही परिर्वतन नभएको स्थानीयको गुनासो छ । अभावै अभावमा बाँच्ने बानी परेकाले अहिले पनि स्थानीय त्यसैमा रमाइरहेका छन् । सर्वसाधारणलाई सेवा सुविधा लिन योभन्दा पहिले नै सजिलो भएको स्थानीयको भनाइ छ ।
तर, गाउ“पालिकाले भने बिजुली, बाटो र खानेपानीका लागि काम भइरहेको जनाएको छ । “सडक स्तरोन्नतिका लागि ग्रामीण सडक सुदृढीकरण परियोजनाले काम गरिहेको छ,” सूचना अधिकारी गुणराज श्रेष्ठले भने, “खानेपानीको लागि स्थानीय तह हुनुु अगावै सुरु भएको ४ करोड रुपैयाँ लागतको योजनाको काम पनि दु्रत गतिमै अगाडि बढिरहेको छ ।” खानेपानीकै लागि लिफ्ट खानेपानीका लागि २१ लाख रुपैयाँ बजेट विनियोज गरिएको र बिजुलीका लागि गाउँपालिकाभरि नै विस्तार गर्ने गरी ठेक्का बन्दोबस्ती गरेर काम भइरहेको उनको दाबी छ । गाउँपालिकाको केन्द्रबाटै जनताका काम छिटो र छरितो ढंगबाट भइरहेको श्रेष्ठको भनाइ छ ।
गाउँपालिका केन्द्र रहेको उदयपुरगढी ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले जिल्लाको महत्वपूर्ण स्थान हो । गढीबाट हिमालदेखि तराई अवोलकन गर्न सकिन्छ । तर खानेपानीको चरम अभाव खेप्नुपर्ने यो स्थानबाट तराईको फाँटमा बगेको पानी हेरेर प्यास मेटाउनु र हिमाल हेरेर गुजारा गर्न नसकिने सर्वसाधारणको भनाइ छ । खानेपानी, बाटो, बिजुली र पर्यटन प्रर्वद्धनका लागि स्थानीय तहले समयमै काम गर्ने हो भने स्थानीयले राहत पाउने उनीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्