मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्न ठेकेदारद्वारा आनाकानी «

मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्न ठेकेदारद्वारा आनाकानी

खोटाङलाई विकासको समृद्धिमा लैजाने मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडक खण्डको कालोपत्रे गर्न ठेकेदारले आनाकानी गरेको पाइएको छ । हलेसी–दिक्तेल सडक खण्डअन्तर्गत हुर्लुङ–दिक्तेल ११.४३ किमि सडक कालोपत्रेको काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन–त्रिशूली जेभीले एकपटक थप भएको म्याद सकिँदा पनि काममा ढिलासुस्ती गरेको छ ।
यस्तै, लामा–नागार्जुन जेभीले ठेक्का लिएको बिजुले–हुर्लुङ १२ किमि खण्डको कामको गति पनि उस्तै छ । सो सडक खण्डको काम पनि हालसम्म ५२.५ प्रतिशतमात्र भएको छ । सो खण्डको गत जुलाई १५ सम्मको कार्य प्रगति ५१.३३ प्रतिशत थियो । जेठदेखि नै काम ठप्प पारेको लामा–नागार्जुन जेभीले मंसिर १५ देखि कार्म सुचारु गरेको छ ।
वर्षाको कारण देखाउँदै गत जेठदेखि काम ठप्प पारेको ठेकेदार कम्पनीले जिल्लाबासीको विरोध र दबाबपछि बल्ल नालीको काम सुरु गरेको छ । बिजुले–हुर्लुङ सडक कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनीले जेभीले ढुंगा कुट्ने र बेस निर्माणको काम थालेको परामर्शदाता कम्पनी एमएसभी इन्टरनेसनल एन्ड सोइल टेस्ट जेभीका रेजिडेन्ट इन्जिनियर सूर्यप्रसाद ढकालले बताए । तीन–चार साताको अवधिमा बिजुले–हुर्लुङ खण्डको नौ सय मिटर नालीको काम भइसकेको जनाएको छ ।

समयमै कालोपत्रेको काम सक्न ठेकेदार कम्पनीलाई चेतावनी
हाल कालोपत्रेको काम सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण बिजुले–दिक्तेल सडक खण्डमा सबबेसको कामसमेत पूरा हुन सकेको छैन । गत मंसिर २८ गते गरिएको अनुगमनमा कालोपत्रेको कामको प्रगति सन्तोषजनक नपाइएपछि एसियाली विकास बैंक (एडीबी)को मिसन भिजिटमा आएको टोलीले आगामी असार १५ सम्ममा कालोपत्रेको काम सक्न ठेकेदार कम्पनीलाई अन्तिम चेतावनी दिएको छ ।
एडीबीको मिसन टोलीले ठेकेदारलाई मासिक रूपमा गर्ने कार्य प्रगतिबारे हस्ताक्षर नै गराएर फर्किएको छ ।
मध्यपहाडी लोकमार्गकै हलेसी–बिजुले १२ किमि सडक खण्डको काम भने हुर्लुङ–दिक्तेल र बिजुले–हुर्लुङ सडक खण्डको तुलनामा सन्तोषजनक देखिएको छ । लुम्बिनी–कन्काई सूर्य जेभीले जिम्मा लिएको सो खण्डमा हालसम्म करिब ७.५ किमि सडक कालोपत्रेको काम भइसकेको छ । सो खण्डका ठेकेदारले पनि असारसम्मकै अन्तिम म्याद पाएको छ । “आगामी असार १५ सम्म काम सम्पन्न गर्न तीनवटै प्याकेजका ठेकेदारलाई अन्तिम चेतावनी दिइएको छ,” रेजिडेन्ट इन्जिनियर ढकालले भने, “उनीहरू (ठेकेदार) का लागि यो अन्तिम अवसर हो, हस्ताक्षर गरे अनुसार मासिक प्रगति देखाउन नसके र तोकिएको अवधिमा काम नसके सम्झौता रद्द गर्ने चेतावनी दिइएको छ ।” सम्झौता गरिएको समयसम्म काम नभएपछि पहिलोपल्ट थप भएको हलेसी–बिजुले सडक कालोपत्रे गर्ने म्याद गत मार्च ८ मा, बिजुले–हुर्लुङको म्याद मार्च १३ र हुर्लुङ–दिक्तेल सडकको म्याद मार्च २३ मै सकिएको थियो ।
बिजुलेदेखि हुर्लुङसम्मको सडक कालोपत्रेका काम गरिरहेको ठेकेदार कम्पनीले ओछ्याएको सबबेसको मापदण्ड नपुगेको भन्दै परामर्शदाता कम्पनी एमएसभी इन्टरनेसनल एन्ड सोइल टेस्ट जेभीले सच्याउन भनेको थियो ।
पटकपटक म्याद थप गर्दा पनि आफ्नो जिम्माको काम पूरा नहुँदा कम्पनीमाथि नै कानुनी कारबाही हुने र ब्ल्याक लिस्टमा पर्ने त्रासले पनि बिजुले–हुर्लुङ खण्डका ठेकेदार विष्णु फुयाँलले कामलाई अगाडि बढाएको बताए । हलेसी–बिजुले र बिजुले–हुर्लुङको काम असारसम्म पूरा हुने देखिए पनि ठेकेदारको आन्तरिक समस्याका कारण हुर्लुङ–दिक्तेलको काम पूरा हुने छाँट देखिएको छैन ।
सबबेसको काम सकिएको भन्दै ठेकेदारले ६० प्रतिशत भुक्तानी मागेपछि अनुगमन गर्दा सबबेसको मापदण्ड नपुगेको पाइएको थियो । सबबेसका रूपमा सडकमा हालेको ढुंगा र गिटीको साइज नमिलेको, कुनै सानो र कुनै ठूलो आकारको गिटी र ढुंगा राखिएको पाइएपछि ठेकेदारले मागेको ६० प्रतिशत भुक्तानी दिनुको सट्टा पहिला दिएको भुक्तानी समेत फिर्ता लिनुपर्ने प्रतिवेदन परामर्शदाता कम्पनीले बुझाएको थियो ।
परामर्शदाता कम्पनीले ठेकेदारलाई सडकमा राखिएको ओभरसाइजको गिटी ढुंगा निकालेर नयाँ राख्न वा जोतेर विभिन्न आकारका ढुंगागिटीलाई फोडेर मापदण्डअनुसार साइजको बनाउन भने पनि हालसम्म सोअनुसार काम भएको छैन । “सबबेसमा ओभरसाइजको ढुंगा राखेको पाइएपछि ठेकेदारलाई हटाउन वा फुटाएर मापदण्डअनुसारको बनाउन भनेका थियौं,” रेजिडेन्ट इन्जिनियर ढकालले भने, “मापदण्ड पूरा नगरेको पाइएपछि भुक्तानीसमेत रोकेका हौं ।” परामर्शदाताबाट सबबेस अस्वीकृत भएसँगै मागेको ६० प्रतिशत भुक्तानी नपाएपछि ठेकेदारले सबबेसको कामलाई गति दिनुको साटो लामो समयसम्म आलटाल गरेको स्थानीयको आरोप छ ।
बजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडक कालोपेत्रको कामको जिम्मा लिएका कन्ट्रयाक्टर राम पाख्रिनले भने, “डिजाइन ड्रइङको समस्याका कारण सडकको काममा ढिलाइ भएको हो ।” पाख्रिनले रि–भेरिएसन नहुँदा काम अड्किएको बताए पनि सोही प्रकृतिको हलेसी–बिजुले सडकको काम भने निरन्तर चलिरहेको थियो ।
एडीबीको ५२ करोडमा दुई वर्षभित्र कालोपत्रे सम्पन्न गर्नेगरी ०७१ साउन अन्तिम साता सडक स्तरोन्नतिको काम थालिएको थियो । १४ जुन २०१४ देखि १२ जुन २०१६ मा सक्ने सम्झौता गरिएको कालोपत्रेको कामको पहिलोपल्ट थप भएको म्यादसमेत गत मार्चमै सकिसकेको सडक विभागअन्तर्गत दिक्तेल–हलेसी सडक योजनाले जनाएको छ ।
बिजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडक कालोपत्रे गर्नुअघि राखिएको सब–बेस मापदण्डअनुसार नराखिएको र बेसका लागि तयार पारेको गिटीसमेत गुणस्तरहीन पुष्टि हुनुले ठेकेदारको टालटुल पार्ने र काम छाडेर हिँड्ने नियत देखिएको खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष खुसनारायण शैंजूले बताए । “मापदण्डअनुसार सबबेस नहाल्नु र बेसका लागि आवश्यक गिटी जम्मा गर्न बेवास्ता गर्नुका पछाडि ठेकेदारको नियत देखिन्छ,” वाणिज्य संघका पूर्वअध्यक्ष शैंजूले भने, “यही पारा हो भने सडकको काम वर्षौंपछि धकेलिने देखिएको छ ।”

प्रतिक्रिया दिनुहोस्