फेरि पिक्सेल

विश्वका ८५ प्रतिशतभन्दा बढी स्मार्टफोन र अन्य ग्याजेट गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइडमा आधारित छन् । अध्ययन अनुसार २०२१ सम्म पनि गुगलको स्थान घट्ने छैन । उता गुगलकै युट्युव विश्वका टेक्नोलोजी प्रयोगकर्ताको दैनिकी नै बनेको छ ।
गुगलको क्रोम ब्राउजर, गुगल सर्च, गुगल अर्थ, गुगल ड्राइभ, गुगल डिउ, गुगल अल्लोदेखि गुगल असिस्टेन्ट तथा गुगल होमसम्मका सफ्टवयर तथा एप बेस सेवाहरू उपभोक्तामाझ लोकप्रिय छन् ।
कुनै सूचना आवश्यक परे ‘गुगल गर्ने’ भन्ने जनमानसमै बसेको छ । सफ्टवेयरमा ‘राज’ गरिरहेको गुगलले हार्डवेयरमा पनि नम्बर एक बन्ने अभियानलाई निरन्तरता दिएको छ, गुगल इभेन्ट २०१७ मार्फत ।
गत साताको गुगल इभेन्टले गत वर्षको गुगलको पिक्सेल यात्रालाई थप बलियो बनाएको छ । गुगलले आफ्नै ब्राण्डमा पिक्सेल र पिक्सेल एक्सएल बजारमा ल्याएर ग्याजेट मार्केटमा औपचारिक प्रवेश गरको सन्देश दिएको थियो । सँगसँगै गुगल हेडसेट, गुगल होमलगायत उत्पादन पनि सारथी बनेका थिए । जसको निरन्तरता दिँदै थप उत्पादन ल्याएको छ गुगलले । यस अभियानलाई प्रविधि क्षेत्रमा ‘पिक्सेल रिटनर्स’ को संज्ञा दिन थालिएको छ ।
गत वर्ष आफ्नै ब्राण्डमा ग्याजेट मात्र ल्याएर गत महिना मात्र प्रविधि क्षेत्रमा कहलिएको एचटिसी ब्राण्ड नै किनेको छ गुगलले । यसको अर्थ पनि गुगलले स्मार्टफोन बजारमा ठाउँ ठूलो बनाउन खोजेको लगाउन सकिन्छ । यसको पुष्टि गत साताको गुगल इभेन्टले गरेको छ । गुगलले पिक्सेलका नयाँ संस्करणहरू पिक्सेल टु र पिक्सेल टु एक्सएल दुई फ्ल्यागशीप स्मार्टफोनलाई थप परिमार्जन गरेर बजारमा ल्याएको छ ।
जसलाई एप्पलको पछिल्ला उत्पादनहरू आइफोन एट, आइफोन एट प्लस र आइफोन एक्ससँग तुलना गर्न थालिएको छ । गुगलले आईओएसमा एप्पलको उत्पादन जस्तै एन्ड्रोएइडमा सामसुङ, एलजी, वनप्लस जस्ता कम्पनीभन्दा आफ्नो स्थान अगाडि रहेको सन्देश दिन खोजेको छ । गुगलका सिइओ सुन्दर पिछाइले गुगलले आफ्ना उत्पादनमाथि ‘रिथिंक’ गरेर नयाँ उत्पादनहरू बजारमा ल्याएको बताएका छन् । उनले आफ्ना सबै उत्पादनहरूलाई मेसिन लर्निङ र एआई प्रविधिसँग जोडेको बताए ।
स्मार्टफोन मात्र नभई गुगलले हेडसेटलाई थप परिमार्जन गरेको छ भने गुगल होममा पनि सुधार गरेर ल्याएको छ । त्यस्तै गुगलले छुट्टै क्यामरा डिभाइस र ट्रान्सलेसन सुविधासहितको इयरफोनसमेत सार्वजनिक गरेको छ । आफ्ना उत्पादनहरूमा गुगल असिस्टेन्टको प्रयोग गर्नु गुगलको पहिलो सबल पक्ष हो । किनकी सानो इयरफोन पनि आर्टिफिसियल इन्टेलीजेन्स (एआइ) फ्यमिलियर छ ।
यस मानेमा गुगलले सफ्टवयर क्षेत्रमा हात पारेको उपलब्धीलाई आफ्ना हार्डवेयरमा जोडेर छोटो समयमा आफ्ना ग्याजेटप्रति ग्राहकको आकर्षण बढाउन खोजेको बुझ्न गाह्रो छैन । विश्वका चलेका प्रविधि साइटहरूले गुगलको स्मार्टफोन र अन्य उत्पादनहरूलाई हालसम्ममा उत्कृष्ट उत्पादनका रूपमा चित्रित गर्न थालेका छन् । गुगलले आफ्ना उत्पादनहरूलाई पिक्सेल ब्राण्डबाट स्थापित गर्न खोजेको छ । गुगलका नयाँ उत्पादनहरू के कस्ता छन् त ? छोटो चर्चा गरौं ।
गुगल होम मिनि र होम म्याक्स
गुगल होम मिनी गुगलको नयाँ उत्पादन हो । यसअघिको गुगल होमजस्तै सुविधा भएको यो ग्याजेट आकारमा गुगल होम भन्दा सानो छ । चार वटा एलइडी लाइटसहितको छ, जसलाई छोएर पनि चलाउन सकिन्छ । जस्तै म्युजिक सुन्न मन लागेमा एक ट्याव दिए पुग्छ । एआइ प्रविधिमा आधारित यो सानो ग्याजेट रातो, कालो र खरानी गरी तीन रंगमा उपलब्ध छ ।
यसले तपाईंको आर्टिफेसियल एसिस्टेन्टको रुपमा काम गर्नेछ । अमेरिकामा ४९ डलर यसको मूल्य तोकिएको छ । अक्टोबर १९ देखि विश्वका मुख्य सहरहरूमा पुग्ने ग्याजेटको प्रिअर्डर भने सुरु भइसकेको छ । गुगलले यसअघिको आफ्नो उत्पादन गुगल होमलाई पनि परिमार्जन गरेको छ, जसलाई गुगल होम म्याक्स भनिएको छ । घरको असिस्टेन्टका रुपमा हेरिएको गुगलहोममा केही फिचर पनि थपेको गुगलले जनाएको छ । आफ्नो फोनमा रहेको गुगल असिस्टेन्टको सहायताले गुगल होममा रहेको अनाउसमेन्ट फिचर प्रयोग गर्न सकिनेछ ।
जस अनुसार मोबाइलबाट होमलाई नियन्त्रण गर्न सकिन्छ । यसका साथै होमलाई घरमा रहेका सबै गुगल ग्याजेटसँग कनेक्ट गरेर प्रयोग गर्न सकिन्छ । आफ्नो खाना खाने, सिनेमा हेर्ने वा यस्तै तालिकाहरू गुगल होमलाई जानकारी गराएर सम्झाउन लगाउन सकिन्छ ।
त्यसै गरी ‘ओके गुगल फाइन्ड माइ फोन’ भनेर आफ्नो फोन खोज्न सकिन्छ । आफ्नो फोन नम्बरसँग फोन गर्न सकिने, कुनै प्रश्न वा प्रसंग याद गर्न लगाउने जस्ता काम गर्न सकिन्छ । हार्डवेयर र सफ्टवेयरको गज्जबको कम्बिनेसन रहेको यो ग्याजेटलाई गुगलले निकै प्राथमिकता दिएर बनाएको छ । अमेरिकामा ३९९ डलर मूल्य तोकिएको या ग्याजेट डिसेम्बरमा मात्र बजारमा आउने छ ।
गुगल पिक्सेलबुक
पिक्सेलबुक १० मिलिमिटर पातलो र १ किलो मात्र तौल भएको पावरफुल ल्यापटप हो । १२.३ इन्चको टचस्क्रीनमा क्वाड एचडी एलइडी २३५ पीपीआइ रिज्योलुसन छ । किवोर्डमा पनि सुधार गरेर निकै सफ्ट बनाएको गुगलले जनाएको छ । इन्टेलको आइफाइभ र आइसेभेन कोर प्रोसेसर जडित यो ल्यापटपमा १६ जीवी सम्मको ¥याम र ५१२ जीवीसम्मको एक एसडी हार्डड्राइभ छ ।
यसको व्याट्री १० घण्टासम्म टिक्ने बताइएको छ । यसमा पछिल्लो समयमा चल्तीमा आउन थालेको युएसबी टाइ सी चार्जर रहेको छ । तपाईंसँग पिक्सेल फोन छ भने पिक्सेल बुक अटोमेटिक कनेक्ट हुनेछ भने चार्जर पनि एउटै प्रयोग गर्न मिल्छ । गुगल असिस्टेन्ट विन्ड इन भएको यो पहिलो ल्यापटप पनि हो । यसलाई ट्यावलेटको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसको अर्को विशेषता भनेको यससँगै आउने पिक्सेलबुक पेन हो । जसको सहायताले पिक्सेलको स्क्रीनलाई कफी जसरी लेख्न वा चित्र बनाउन वा अन्य कामका लागि प्रयोग गर्न सकिन्छ ।
कुनै वेबसाइट खोल्नु भएको छ भने त्यहाँको कुनै सूचनामा पिक्सेलबुक पेनले घेरा लगाउनु भयो भने गुगल असिस्टेन्टले त्यसबारे थप सूचना दिनेछ । गुगल प्लेस्टोर रहेको यो ग्याजेटलाई अन्य स्मार्टफोन जस्तै एपहरू चलाउन सकिन्छ । स्मार्टफोन यस्ता थुप्रै विशेषता सहितको यो ल्यापटप कम ट्यावलेटको मूल्य अमेरिकी बजारमा ९९९ डलर तोकिएको छ भने पिक्सेलबुक पेनको मूल्य ९९ डलर छ ।
गुगल पिक्सेल टु
गुगलको मुख्य उत्पादनमध्येको एक हो गुगल पिक्सेल टु फ्ल्यागशीप फोन । गत वर्ष ल्याएको पिक्सेल फोनको निरन्तरतासँग थप सुधार पनि गरेको गुगलले जनाएको छ । ५ इन्चको पिक्सेल र ६ इन्चका पिक्सेल एक्सएल गरेर दुई आकारमा दुई वटा ग्याजेट सार्वजनिक गरिएको छ । पिक्सेल टुमा फ्रन्ट फेसिङ स्टेरियो स्पीकर रहेको छ । डिजाइन समेत आकर्षक रहेको यो फोनमा ३.५ एमएमको हेडफोन ज्याक हटाइएको छ भने जसको ठाउँमा टाइप सी पोर्ट रहेको छ ।
एप्पलले पनि गत वर्षदेदखि ३.५ एमएमको ज्याक हटाएको थियो । फुल एचडि ओएलइडी डिस्प्लेरहेको पिक्सेल टु कालो, सेतो र हल्का निलो रंगमा उपलब्ध छ । उता पिक्सेल टु एक्सएल इनोभेटिभ किएलओडी डिस्प्ले सहितको छ । दुबै फोनमा इनविल्ड गुगल असिस्टेन्ट त छ नै साथै भर्चुअल रियालिटीको फिचर पनि मोाबइलमा छन् । दुई डिभाइस आइपी ६७ लाइसेन्स प्राप्त छन् । फास्ट चार्जिङ यी फोनका अर्को विशेषता हो ।
पिक्सेल टु मा गुगल असिस्टेन्टलाई थप प्रभावकारी बनाइएको छ ।
एक्टिभ एज नामको नयाँ फिचर थपिएको छ, जसको सहायताले एसिस्टेन्टलाई अझ सजिलोसँग प्रयोग गर्न सकिन्छ । यो फिचर अनुसार मोबाइललाई एकछिनसम्म हातमा होल्ड गर्दा एसिस्टेन्ट एन्टिभ हुनेछ, एसिस्टेन्टलाई टेक अ सेल्फी भन्नु भयो भने आफैं क्यामरा खोलेर सेल्फी खिचीदिनेछ । यस्ता थुप्रै काम यसले गर्नेछ । पिक्सेल टुमा अप्टिकेल इमेज स्टेबलाइजेसन सुविधा सहितको एफ १.८ अपरचर जडित १२ मेगापिक्सेलको रियर क्यामरा छ ।
पोट्रेट मोड छ, अन्य स्मार्टफोनमा डिउल क्यामराले यो फङ्सन चलाउले गरिन्छ तर पिक्सेल टुलाइ एउटै क्यामरा र मेसिन लर्निङ प्रयोगले क्यामरालाई थप प्रभावकारी बनाएको हो । दुबै मोबाइलमा यो क्यामराको एउटै सुविधा छ । एउटा पिक्सेल फोनबाट अर्को पिक्सेल फोनमा कुनै डाटा सार्नुपरेमा १० मिनेट भित्रै सबै डाटा सार्न सकिने सुविधा पनि छ ।
६४ जीवी भर्सनको पिक्सेल टुको मूल्य ६४९ डलर तोकिएको छ भने पिक्सेल टु एक्सएलको मूल्य ८४९ डलर तोकिएको छ । तत्काललाई अस्टे«लिया, क्यानडा, अमेरिका, जर्मनी, युके र भारतमा मात्र यी दुई फोन उपलब्ध हुनेछन् । प्रिअर्डर सुरु गरेको छ
गुगल डे ड्रिम भ्यु र गुगल पिक्सेलबड्स
गुगल डे ड्रि भ्यु गुगलको उच्च गुणस्तरीय मोबाइल भिआर हेडसेट तथा कन्ट्रोलर हो । अघिल्लो वर्ष सार्वजनिक गरिएको भीआर हेडसेटकै निरन्तरताका रुपमा ल्याइएको यो हेडसेटमा थप सुधार गरिएको गुगलले जनाएको छ । लेन्स र फ्याबरिकमा सुधार गरिएको छ । यसको मूल्य ९९ डलर तोकिएको छ । गुगलले हेडसेड सँगै स्मार्ट इयरफोन पनि सार्वजनिक गरेको छ ।
गुगल असिस्टेन्टसमेतका फिचर रहेको यो सानो ग्याजेटको सहायताले स्तरीय साउन्ड सुन्न सकिन्छ । यसका लागि गुगगल पिक्सेल टुमा कनेक्ट गर्नुपर्ने हुन्छ । साथै यसबाटै म्युजिक कन्ट्रोल गर्न पनि सकिन्छ । भोल्युम घटाउन बढाउनदेखि म्युजिक फरवार्ड र रिवाइन्ड गर्नका लागि कानमा राखिएको इयरफोनलाई हातले चलाएरै काम गर्न सकिन्छ । नोटिफिकेसन पनि यसबाट सुन्न सकिन्छ ।
यसको महत्वपूर्ण फिचर यो छ की यसले भाषा ट्रान्सलेसन गर्न सक्छ । यसलाई एक पटक चार्ज गरेपछि ५ घण्टा चलाउन सकिन्छ । यसको मूल्य १५९ तोकिएको छ भने नोभेम्बरमा बजारमा उपलब्ध हुनेछ ।
गुगल क्लीप्स
गुगलले सानो चिटिक्कको क्यामरा पनि सार्वजनिक गरेको छ यसपाली, जसलाई गुगल क्लीप्स भनिएको छ । चारपाटे आकारमा रहेको हेर्दै मज्जाको देखिने यो सानो क्यामरालाई घरेलु प्रयोगमा उपयोगी हुने बताइएको छ । हाइपर्फमेन्स लेन्स, पाउरफुल इमेज सेन्सर, सटर बटनसमेतको क्यामरालाई पोर्टेबल सिसिटिभी क्यामराको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
यसलाई मोबाइलमा कनेक्ट गरेर मोबाइलबाट चलाउन सकिन्छ । मेसिन लर्निंङ सुविभा पनि यसमा छ । यसको मूल्य २४९ डलर तोकिएको छ भने बजारमा कहिलेदेखि आउँछ भन्ने अझै भनिएको छैन ।