अस्ताए क्याफे कल्चरका ‘ट्रेन्डसेटर’ «

अस्ताए क्याफे कल्चरका ‘ट्रेन्डसेटर’

नेपालमा ५० वर्षअगाडि आयातीत हिप्पी कल्चरसँगसँगै एउटा रैथाने कल्चरको पनि सुरुवात भयो । आज काठमाडौंका गल्ली–गल्लीमा युवायुवतीको भेटघाट गर्ने थलोमात्र नभएर केही समय बिताउने क्याफे सामान्यझैं लाग्छन् ।
तर, आधा शताब्दी अगाडिको काठमाडौंमा यस्तो परिकल्पना गर्नु आफैंमा एउटा क्रान्तिकारी चेत थियो । र, यो परिकल्पनाकार थियो एउटा २०–२१ वर्षे ठिटाको । जसले आयातीत हिप्पी कल्चरमा आफ्नै रैथाने कल्चर मिसाएर काठमाडौंबासीलाई क्याफे कल्चरको स्वाद दिलाए । उनै नेपालमा क्याफे कल्चरका ‘ट्रेन्डसेटर’ श्यामसुन्दर कक्षपतिको सोमबार निधन भएको छ ।
२००८ सालमा पाल्पामा जन्मेका र काठमाडौंको झाेंछेमा मामाघर भएकाले गर्दा बाल्यकालदेखि नै काठमाडौंमा लामो जीवन बिताएका कक्षपतिको सोमबार ७० वर्षको उमेरमा थाइल्याण्डस्थित वमरुनगार्ड अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सन् १९७० मा नेपालमा हिप्पी कल्चर सुरु भएपछि सन् १९७३ मा रत्नपार्क, काठमाडौंमा क्याफे डे पार्क नामक रेस्टुरेन्टबाट नेपालमा क्याफे कल्चर सुरु गरेका थिए । युवा उमेरमा विदेश घुमेको ज्ञानलाई सदुपयोग गर्दै कक्षपतिले नेपाली खानाको परिकार र पश्चिमा संस्कृतिलाई संयोजन गर्दै क्याफे डे पार्क नामक रेस्टुरेन्टबाट पर्यटन उद्योगमा प्रवेश गरेका थिए ।
उनीसँग करिब ५ दशक लामो समय सँगै व्यतीत गरेका वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्यको भनाइमा उद्यमशील कक्षपति नयाँ सोचका साथ काम गर्न चाहने र समाजसँगको घुलमिलमा रमाउने अब्बल व्यतिmको सूचीमा पर्छन् । नयाँ व्यावसायिक सोच विकास गरी कार्यान्वयन गर्ने स्वभाव भएकाले गर्दा उनले ल्याएको क्याफे कल्चर तत्कालीन समयमा सफल भएको शाक्यको भनाइ छ । उपत्यकामा तारे तथा साना होटलहरुमात्र भएको र होटल पनि विशेषगरी विदेशी पर्यटकलाई मात्र लक्षित गरेर खुलेको समयमा नेपाली जानसक्ने र नयाँ स्वाद फेर्ने सोचका साथ कक्षपतिले क्याफे डी पार्क पछि सन् १९७६ मा नाङ्लो बेकरी क्याफे दरबारमार्गमा स्थापना गरेका थिए । गुणस्तरीय खाना र नयाँ स्वादका साथ उपत्यकामा खुलेसँगै काठमाडौंका घरानियाको मन तान्न सफल भएको शाक्यको भनाइ छ ।
शाक्य भन्छन्, “तत्कालीन समयमा रेष्टुरेन्ट जाने भनेपछि उत्ताउलो र खर्चालुको दृष्टिकोणबाट हेरी गरेको भए पनि विस्तारै उपत्यकामा क्याफे कल्चरको ट्रेन्ड सेट नै कक्षपतिले गरे ।” साधारण तथा उच्च विचारको सोच बोक्ने कक्षपतिले सानो उमेरमा नै किराना पसलबाट उद्यम शुरु गरेका थिए । त्यपछि क्रमशः क्याफे डी पार्क, नाङ्लो बेकरी क्याफे, पुतलीसडकमा पहिलो डिमार्टमेन्ट स्टोर (नाङ्लोमार्ट) हुँदै सन् १९९० मा बानेश्वरमा द बेकरी क्याफे र मोफसलमा गृह जिल्ला पाल्पामा नाङ्लो वेस्टर्नसमेत विस्तार गरेका थिए ।
रेस्टुरेन्टबाट आरम्भ गरेको व्यवसाय विस्तार गरी उनले कुरिनटारमा रिभरसाइड स्प्रिङ रिसोर्टको स्थापना गरेका थिए । मोफसलमा पनि रेष्टुरेन्ट व्यवसाय विस्तार गरेर सफल हुन सक्ने उदाहरण प्रस्तुत गरी नेपालको पर्यटन उद्योगलाई पे्ररणा जगाउन योगदान पु¥याएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन् ।
नेपाली खाना, नेपाली टिपिकल नामलाई क्याफे कल्चरमा जोडेर नेपाली ब्राण्डमा नै भावनात्मक सम्बन्ध विकास गरी क्याफे कल्चरलाई नेपालमा स्थापित गर्नमा कक्षपतिको योग्दान उच्च रहेको शाह बताउँछन् । मःमलाई नेपालमा स्थापित गर्न र क्याफे कल्चर सुरु गर्नमा उल्लेखनीय योगदान दिएका कक्षपतिले पर्यटन उद्योग र रेष्टुरेन्ट व्यवसायमा भिजन सेटमा विशेष भूमिका खेल्दै आएका थिए । कक्षपतिको निधनले होटल र समग्र पर्यटनमा अपुरणीय क्षति पुगेको होटल संघ नेपालले जनाएको छ ।
कर्मचारीसँग मिलनसार कक्षपतिले समाजमा पृथक अभ्यास गर्दै सांकेतिक भाषा प्रयोग गर्ने व्यक्तिलाई क्याफेमा रोजगारीको अवसर दिएर उदाहरणीय काम गरेका थिए । करिब ५ दशकदेखि उनको साथीको रुपमा रहेका पर्यटन व्यवसायी प्रकाश श्रेष्ठ विदेश भ्रमण गर्ने र भ्रमणबाट आर्जन गरेको ज्ञानलाई नयाँ सोचका साथ नेपालमा कार्यान्वयन गर्ने कक्षपतिलाई सकारात्मक सोचका साथै कर्मचारीलाई राम्रो व्यवहार गर्ने उच्च विचारका धनीका रुपमा सम्झन्छन् ।
उनीसँगै विगत २५ वर्षदेखि व्यवसायमा सहयोग गर्दै आएका त्रिलोचन मिश्रका अनुसार, कक्षपति काममा आफैं खट्ने गर्दथे र अरुलाई पनि सिकाउने गर्दथे । कक्षपतिले लुम्बिनी हब, एलो हाउसमा ठूलो होटेल, बुटबलमा बुटिक होटेल स्थापनाका साथै समाजसेवाका लागि २० रुपैयाँमै विपन्न र गरिबले खाना ख्वाउने सपना भने अधुरै रहेको मिश्र बताउँछन् ।
४ वर्षदेखि क्यान्सरसँग लड्दै आएका कक्षपति भारतमा उपचाररत रहेकोमा थप उपचारका लागि थाइल्याण्ड गएका थिए । पछिल्लो समय छोरी नयनतारालाई पनि व्यवसायमा अगाडि सारेका कक्षपतिको निधनले नेपाली पर्यटन उद्योगले एक भिजनकार उद्यमीलाई गुमाएको छ । विगत लामो समयदेखि होटल संघ नेपालमा आवद्ध रही सन् २०१२ देखि सन् २०१४ सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए भने रेष्टुरेन्ट बार एसोसिएसन नेपालको संस्थापक अध्यक्ष, नेपाल पाउरोटी उद्योग संघको संस्थापक अध्यक्ष रहेका कक्षपति प्रवल जनसेवा श्री मानपदवीबाट विभूषित भएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्