कर लेखापरीक्षण विधि र प्रक्रिया «

कर लेखापरीक्षण विधि र प्रक्रिया

करदातालाई कर लेखांकनका दौरानमा अपनाउनुपर्ने सैद्घान्तिक र व्यावहारिक प्रक्रियाका बारेमा ज्ञान आर्जन गर्ने उपयुक्त माध्यमका रूपमा लिन सकिन्छ ।

आय विवरण पेस गर्ने दायित्व भएका व्यक्ति, संघसंस्था वा निकायहरूले निश्चित समयावधिभित्र पेस गरेका आर्थिक विवरणहरू मौजुदा आर्थिक ऐनअनुसार भए वा नभएको, ती विवरणहरू आर्थिक अनुशासन भित्र परे वा नपरेको र कर प्रयोजनार्थ दाबी गरेका बिलबिजकहरूमाथिको जाँच–पड्ताल र अनुसन्धान विधि नै कर लेखा परीक्षण हो । करदाताले आयकार ऐन, २०५८ को दफा ९६ अनुसार आफ्नो कारोबारको स्वयं कर निर्धारण गरी सम्बन्धित कर कार्यालयमा आयविवरण पेस गर्नुपर्छ । स्वयं कर निर्धारण गरी करदाताले दाखिला गरेको त्यस्तो करलाई नै अन्तिम कर मानिने आयकर ऐन, २०५८ को मूख्य विशेषताको गलत फाईदा उठाउँदै कतिपय करदाताले जानीजानी भूmटा विवरण पेस गर्ने, ऐनले वर्जित गरेका दाबी गर्न नहुने खर्च दाबी गरी न्यून कर दाखिला गर्ने अथवा कतिपय करदाताले अन्जानमा वा भूलवश गलत विवरण पेस गर्ने जोखम न्यूनीकरणका खातिर पनि यो कर लेखा परीक्षण अनिवार्य सर्त बनेको छ । कर छली नियन्त्रण गर्ने र बजारमा आर्थिक अनुशासन कायम राखी राजस्व चुहावट नियन्त्रण गर्ने प्रमुख उद्देश्यका साथ कर लेखा परीक्षण गर्ने गरिन्छ तर केही राजस्व अधिकारीहरूले लेखा परीक्षण माथि विधि र प्रक्रियाको हाउगुजी देखाएर कतिपय करदाताको दोहोलो काढ्ने गरेका छन् । वास्तवमा कर लेखा परीक्षण कतिपय कर अधिकारीहरूले देखाउने हाउगुजी र कतिपय करदाताहरूले बुझेको आफ्नो व्यापार व्यवसायमाथिको अनावश्यक नियन्त्रणसहितको डर, धम्की वा अतिरिक्त आर्थिक भार थोपर्ने प्रक्रिया यी केही पनि होइनन् । वास्तवमा कर लेखा परीक्षणलाई कर प्रशासन र करदाताबीचको दूरी कम गर्ने र करदातालाई कर लेखांकनका दौरानमा अपनाउनुपर्ने सैद्घान्तिक र व्यावहारिक प्रक्रियाका बारेमा ज्ञान आर्जन गर्ने उपयुक्त माध्यमका रूपमा लिन सकिन्छ । नयाँ आयकर ऐन र मूअकर ऐन लागू भएको पनि झन्डै दुई दशक भइसक्यो, अझै पनि कतिपय करदाता कर कार्यालयको नाम सुन्नेबित्तिकै तर्सिने गर्छन् । अनि अडिट पर्दा होस वा अन्य करसँग सम्बन्धित काम परेमा अरूलाई पन्छाइदिइहाल्छन् । मेरो सम्पर्कमा रहेका अधिकांश करदाता करको विषयमा हामीलाई केही पनि थाहा छैन अडिट र करसँगको सबै कामका लागि तपाईं आफै समन्वय गर्नुस् है भनी पहिले नै पन्छिने गर्छन् । यस्तो समस्या मझौला र खासगरी साना करदाताहरूमा देखिने गर्छ, त्यसैले प्रस्तुत आलेख तिनै करदाता हरूमा समर्पित छ ।
वास्तवमा कर लेखा परीक्षण भनेको के हो ? कर लेखा परीक्षणका दौरानमा कारदाताले पेस गरेको विवरण माथिको छानबिन प्रक्रिया के हो त ? कुन–कुन विषयमाथि कसरी परीक्षण गरिन्छ ? आदि विषयका बारेमा करदाता स्वयं सचेत र जागरुक हुनु जरुरी छ । खासगरी कर लेखा परीक्षण यसको औचित्य, आवश्यकता र प्रभाव मूल्यांकनका आधारमा मुख्यतया तीन प्रकारले गर्ने गरिन्छ । यसरी प्रारम्भिक कर परीक्षण, पूर्ण कर परीक्षण र अनुसन्धानमूलक कर परीक्षणका तरिकालाई निम्नानुसार व्याख्या गर्न सकिन्छ ।

प्रारम्भिक कर परीक्षण
करदाताले आय विवरण पेस गरेकै अवस्थामा वा विशेष परिस्थितिमा गरिने परीक्षण नै प्रारम्भिक कर परीक्षण हो । विभिन्न परिस्थितिअनुसार आंशिक रूपमा यस्तो परीक्षण गर्ने गरिन्छ । विशेष गरी करचुक्ता प्रमाणपत्र लिँदाको बखतमा यस्तो परीक्षण गर्ने गरिन्छ । यस बखत मूअकर/आयकर वक्यौता भए वा नभएको यकिन गर्ने, आय विवरणमा उल्लिखित भुक्तानीकर्ताले अग्रिम कर कट्टी गर्नुपर्ने भुक्तानीमा कानुनबमोजिम कर कट्टी गरे वा नगरेको परीक्षण गर्ने, कर्मचारीहरूको तलबी विवरणमा उल्लेख भएबमोजिम अग्रिम कर कट्टी र सामाजिक सुरक्षा कर राजस्व खातामा जम्मा गरे वा नगरेको हेर्ने लगायत अन्य शुल्क ब्याज जरिवाना लाग्ने भए सो अनुसार भए वा नभएको परीक्षण गर्ने गरिन्छ । यसका अतिरिक्त कर फिर्ता दिनुपर्दा, मौज्दात परीक्षण गर्दा, कारोबार बन्द गर्नुपर्दा सोहीअनुसार वा कर प्रशासकले आवश्यक ठानेमा अन्य विषय र कारोबारको प्रकृतिअनुसार फरक विषय वा क्षेत्रमा कानुनले तोके बमोजिम परीक्षण गर्न सक्नेछ ।

पूर्ण कर परीक्षण
पूर्ण कर परीक्षण करदाताको सम्पूर्ण कारोबारको परीक्षणको एक रूप हो । आयकर ऐन, २०५८ को दफा ८३ बमोजिमको सूचना जारी गरी परीक्षण गरिने यस किसिमको लेखा परीक्षणका क्रममा प्रारम्भिक कर परीक्षणका बखत गरिएका लेखापरीक्षणका अतिरिक्त निम्न शीर्षकहरूमाथि विस्तृत र थप परीक्षण गरिन्छ । ह«ास खर्चतर्पm चालू आवको अवधिअनुसारको सम्पत्तिको खरिद, पुँजीकृत वा निसर्ग गरिएको मितिसहितको सम्पत्तिको विस्तृत विवरण देखिने कागजात, आय विवरणमा उल्लेख गरिएको आयकर ऐन, २०५८ बमोजिम कट्टी हुने प्रशासनिक एवं अन्य खर्च रकमको विवरण, वासलातमा उल्लिखित लिन बाँकी रकम, डेब्टर्स/क्रेडिटर्स रकम तथा अन्य दायित्व रकम सहितको विस्तृत विवरण, रु. १ लाख भन्दा बढीको कारोबार गर्ने क्रेता तथा विक्रेताको नाम, स्थायी लेखा नं., खरिद/बिक्री मूल्यको विवरण सुरु मौज्दात, पैठारी वा खरिद तथा अन्तिम मौज्दातको परिमाण, आयात निर्यातको बिलअनुरूपको विस्तृत विवरण, अग्रिम भुक्तानीको विवरण, स्वामित्वसम्बन्धी सेयरवालाहरूको विवरण, अनुसूची १० मा उल्लिखित एडभान्स इन्कम ट्याक्सलाई सम्बन्धित कार्यालयबाट प्रमाणित कागजात र किस्ताबन्दी कर दाखिलाको बैंक भौचर, कर योग्य आय गणना गर्नेसम्बन्धी कर लेखापरीक्षकको प्रतिवेदन, आय विवरण तथा मूअकर विवरणमा उल्लिखित कारोबारको खरिद तथा बिक्रीतर्फ फरक परेको अंक रिकन्साईल विवरण तथा आयविवरणका सम्पूर्ण सेटहरूलाई पूष्टि गर्ने लेजर, भौचर तथा अन्य कागजपत्र, खरिद बिजक/खरिद खाता, बिक्री बिजक/बिक्री खाता, प्रज्ञापन पत्र तथा अन्य बिलबिजक र भुक्तानी प्राप्तिका प्रमाण तथा आर्थिक कारोबारसँग सम्बन्धित अन्य कागजातहरू, बैंक स्टेटमेन्ट र सोको रिकन्साइल कागजात आदिका बारेमा एकमुष्ट तथा छुट्टाछुट्टै परीक्षण गरिन्छ ।

अनुसन्धानमूलक कर परीक्षण
मूअकर ऐन, २०५२ को दफा २३ र आयकर ऐन, २०५८ को दफा ८२ ले दिएको अधिकार प्रयोग गर्दै विभागका अधिकारीहरूले आकस्मिक रूपमा व्यापारिक स्थलमा छापामारी कागजपत्र नियन्त्रमा लिएर यस्तो किसिमको परीक्षण गर्ने गर्छन् । करदाताले आफ्नो व्यापार व्यवसायको सिलसिलामा अवाञ्छित कारोबार गरेको सूचना प्राप्त गरेमा वा शंकास्पद कारोबारको आशंका लागेमा करदातालाई पूर्व सूचना नदिईकन राजस्व अधिकारीहरू बाट व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात नियन्त्रणमा लिएर विस्तृत रूपमा छानबिन गर्ने गरिन्छ । यस्तो किसिमको कर परीक्षणमा पूर्ण कर परीक्षणका बखत परीक्षण गरिने सम्पूर्ण कारोबारको सूक्ष्म परीक्षण वा शंका लागेको कारोबारमा अनुसन्धानमूलक परीक्षण गर्ने गरिन्छ । यसरी छापा मारिसकेपछि अधिकारीहरूले करदातालाई जसरी पनि धेरै थोरै अतिरिक्त कर लगाएर नै छाड्ने हुनाले सकभर यस्तो अवस्था आउन नदिनका लागि आफ्नोे कारोबारको सिलसिलामा करदाता स्वयं सचेत र सजग रहनुपर्छ, साथै कुनै पनि वर्षको लेखापरीक्षण जुनसुकै समयमा समेत हुन सक्ने हुनाले अन्तःशुल्क ऐन, आयकर ऐन र मूअकर ऐनअनुसार करदाताले आफ्नो कारोबारसँग सम्बन्धित सम्पूर्ण कागजपत्र कम्तीमा ६ वर्षसम्म सुरक्षित राख्नुपर्नेछ ।
करलेखा परीक्षणका क्रममा छानबिन गरिने प्रयुक्त विवरणहरू तयारीका लागि करदातालाई निकै कठिन, झन्झट र खर्चिलो जस्तो लाग्न सक्छ, तर कारोबारकै सिलसिलामा विधिसंवत् नियमित तरिकाले लेखाङ्कन गर्ने हो भने यो विषय त्यति धेरै जटिल छैन । तर, त्यसका लागि करदाताले आफ्नो कारोबारको भोल्युम हेरी ऐन नियमको ज्ञान भएको दक्ष र अनुभवी लेखापालको सहयोग भने अवश्य लिनुपर्छ । अन्यथा कारोबारको सिलसिलामा भूलवश भएको सानोतिनो गल्तीले पनि भविष्यमा ठूलो दण्ड र जरिवानाको भागिदार बन्नुपर्ने हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्