Logo

जुम्ला–जाजरकोट जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन हुँदै

जुम्लाको इमिल्चा हुँदै जाजरकोट जोड्ने सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन हुने भएको छ । जुम्ला–जाजरकोट यात्रालाई छिटो तथा सहज पार्नका लागि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीदेखि जाजरकोटको कुशे गाउँपालिका–८ साङटाको बीचमा सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।

सुरुङमार्ग खोल्ने र सडक निर्माणलाई गति दिएर जुम्ला–जाजरकोटको यात्रालाई छिटो र भरपर्दो पार्नका लागि पूर्वमन्त्री शक्ति बस्नेत र तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेबीच छलफल भएको छ ।
सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो । पूर्वमन्त्री शक्ति बस्नेतका अनुसार जुम्ला र जाजरकोट जोड्ने सबैभन्दा छोटो मार्ग पनि भएकाले सुरुङ खन्ने कामलाई अध्ययन सकिनेबित्तिकै अघि बढाइने छ ।


जाजरकोट सदरमुकाम–पाँचकाटिया हुँदै कुशे–८ साङटाबाट जुम्लाको तातोपानी गाउँपालिकाको ८ इमिल्चाघारी सडकका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया सडक डिभिजन चौरजहारीले सुरु गरेको छ भने, कर्णाली राजमार्ग हँुदै इमिल्चा–जाजरकोट जोड्न जुम्लाखण्डमा सडक निर्माण भइसकेको छ भने, करिब ६ वर्षपछि जुम्ला जाजरकोट जोड्ने पक्की पुल जुम्लाको त्रिवेणाीमा सम्पन्न भई सञ्चालनमा आएको छ । उता जाजरकोटको सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जोड्ने सडक निर्माण जारी छ । जुम्लाको इमिल्चाघारी र जाजरकोटको पाँचकाटिया साङटाबीचको ठाउँमा सुरुङमार्ग निर्माण सम्भाव्यता अध्ययनको तयारी भएको तातोेपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए ।


उनले भने, “जुम्लादेखि जाजरकोट जान सबैभन्दा छोटो बाटो सुरुङमार्ग नै हुनेछ । छलफलपछि पूर्वमन्त्रीले पहल थाल्नु भएको छ । निर्माण कार्यलाई बढी जोड दिइने छ । अहिले सम्म स्थानीयतहको लगानीको कुरा उठको छैन । तर हामी लगानी गर्न तयार छौ ।” जाजरकोट साङटादेखि जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब १० किलोमिटर छ । सुरुङ निर्माणका लागि झन्डै पाँच किलोमिटर जति पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण हुने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । उनका अनुसार एक दुई बास बसेर आवत जावत गर्ने नागरिकहरुले सुरुङमार्ग निर्माण पश्चात १ घण्टामै जुम्ला आउजाउ गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्