हलेसीमा सिसी क्यामरा जडान, मन्दिर क्षेत्र व्यवस्थित बन्दै «

हलेसीमा सिसी क्यामरा जडान, मन्दिर क्षेत्र व्यवस्थित बन्दै

खोटाङ- धार्मिक तथा पर्यटकीय स्थल खोटाङको हलेसीमा सिसी क्यामरा जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसीमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसी क्यामरा जडान गरिएको हो ।
पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा पर्यटकको संख्या वृद्धि भएसँगै मन्दिर तथा आसपासमा सिसी क्यामरा जडान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । “हलेसीमा दिनानुदिन दर्शनार्थी तथा पर्यटकको संख्या वृद्धि हुँदै गएको छ ।” उनले भने, “भीडभाड भएको मौका छोपेर चोरी÷डकैती तथा आपराधिक क्रियाकलाप गर्न सक्ने सम्भावनालाई नियन्त्रण गर्न हलेसीमा नगरपालिकाको लगानीमा सिसी क्यामरा जडान गरिएको हो ।” नगरपालिकाको करिब सात लाख लगानीमा विभिन्न ११ ठाउँमा सिसी क्यामरा जडान गरिएको जनाइएको छ । सिसी क्यामरा जडान गरेपछि नगरपालिकाको तर्फबाट सूचना केन्द्र स्थापना गरेर हलेसीमा हुने हरेक गतिविधिको निगरानी गर्न थालिएको नगरप्रमुख राईले जानकारी दिए ।
महादेवगुफा, पार्वतीथान, बसाह गुफा, प्रवेशद्वार तथा आसपासका क्षेत्रमा सिसी क्यामरा जडान गरेपछि दर्शनार्थी तथा पर्यटकसमेत सजक भएका छन् । हलेसी क्षेत्रका मुख्यमुख्य ठाउँमा ‘तपाईं सिसी क्यामराको निगरानीमा हुनुहुन्छ’ भन्ने जानकारी लेखिएको बोर्डसमेत राखिएको छ ।
सिसी क्यामरा जडानपछि जथाभावी फोहर फाल्ने, अभद्र व्यवहार गर्ने, भीडभाड गर्ने जस्ता क्रियाकलाप न्यूनीकरण हुँदै गएको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसअघि जथाभावी फोहरै÷फोहर र अव्यवस्थित देखिने हलेसीको बजार क्षेत्र अहिले सफा, सुन्दर र व्यवस्थित बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्