छथरमा पर्यटकीय गन्तव्य बनाउन डीपीआर तयार «

छथरमा पर्यटकीय गन्तव्य बनाउन डीपीआर तयार

तेह्रथुम-जिल्लाको दक्षिण–पश्चिमी क्षेत्रमा रहेको छथरलाई पर्यटकीय गन्तब्य बनाउन भौतिक पूर्वाधारका काम सुरु गरिएको छ । गाउँपालिकाले छथरलाई पर्यटकीय गन्तब्यको रूपमा विकास गर्न भौतिक निर्माणको थालनी गरेसँगै ठूला योजनाको डीपीआर निर्माण गर्ने भएको छ ।
पर्यटन विकासका निम्ती ८३ लाख रुपैयाँ रकम विनियोजन गरी यस क्षेत्रलाई ऐतिहासिक, पुरातात्विक, जातीय, भौगोलिक, धार्मिक साँस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटन विकास गर्ने उद्देश्यका साथ गाउँपालिकाले रकम विनियोजन गरेको अध्यक्ष सन्तवीर लिम्बुले बताए । यस क्षेत्रमा रहेका पर्यटकीय प्रचुर सम्भावना रहे पनि संरक्षण अभावमा गुमनाम भएका क्षेत्रको खोजी गरी पर्यटन विकास गरिने भएको छ । रकम विनियोजनले पर्यटन विकासमा टेवा पुग्ने अध्यक्ष लिम्बुले बताएका छन् ।
तत्कालीन ६ वटा गाविसले पर्यटन विकासका लागि खासै चासो नदेखाएको यस क्षेत्रमा गाउँपालिका भएसँगै नवनिर्वाचित जनप्रतिनिधिले पहिलो पटक आव ०७४÷७५ मा पर्यटन विकासका निम्ती ४० लाख विनियोजन गरेका थिए । रकम विनियोजनसँगै छथर क्षेत्रमा रहेको पर्यटकीय गन्तब्य चाङलुङ गुफा, संरक्षण, भ्यूटावर निमार्ण, छथर भ्यूपार्क, सौरेनी डाँडा पिकनिकस्थल निर्माणको थालनी, बालउद्यान आहालडाँडा, साततले गुफा संरक्षण सुरु गरिएको छ । त्यस्तै फाक्चामारामा अतिथि भवन निर्माण, ताक्लुङ गढी, चाङसिङ गढी संरक्षण लगायतका विभिन्न पर्यटकीयस्थलमा काम सुरु भएको गाउँपालिकाका प्रवक्ता राजन नेपाली बताए । पर्यटन विकासका लागि गुरुयोजना निर्माण गरी छथरलाई पर्यटकीय गन्तब्यको रूपमा विकास गरिने अध्यक्षले बताए ।
पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसारलाई प्राथमिकताका साथै वृत्तचित्र तथा ब्रोसर प्रकाशन गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास गरिने गाउँपालिकाले जनाएको छ । पर्यटकीय पूर्वाधार र सुविधाको प्रबन्धको ब्यवस्था गरिनुको साथै यस क्षेत्रमा भित्रिएका पर्यटकलाई कम्तीमा तीन दिनसम्म यस क्षेत्रको अवलोकन गर्नका लागि रहने वातावरण मिलाइने भएको छ । गत वर्षदेखि थालनी भएका अधुरास्थलका साथै नयाँ पर्यटकीयस्थलमा काम हुने गाउँपालिकाले जनाएको छ । गत वर्षदेखि काम सुरु भएका पर्यटकीय क्षेत्रमा अधुरा कामलाई निरन्तरता दिँदै यसै वर्ष डीपीआर निर्माण गरी काम सुुरु हुने गाउँपालिकाले जनाएको छ ।
पर्यटन विकाससँगै छथर क्षेत्रका स्थानीयको आर्थिक आयआर्जनमा थप टेवा पुग्नेछ । यस क्षेत्रलाई पर्यटकीय रूपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पयर्टकको गन्तब्य बन्न सक्ने स्थानीयले बताए । हावापानीको अनुपम मौसम रहनुको साथै गर्मी र जाडोको कुनै प्रवाह नरहने यो स्थान पर्यटकका लागि सफल गन्तब्यको सम्भावना रहेको यहाँका सरोकारवालाले बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्