भैरहवा क्षेत्रमा बढ्दै करदाता, राजस्व लक्ष्य पनि पूरा «

भैरहवा क्षेत्रमा बढ्दै करदाता, राजस्व लक्ष्य पनि पूरा


भैरहवा क्षेत्रमा करको दायरामा नरहेकाहरु करमा आवद्ध हुने क्रममा बढेको छ । आन्तरिक राजस्व कार्यालय भैरहवा अन्तरगत रुपन्देही र परासीमा करदाता बढ्दै गएका छन् । करको दायरामा आएर व्यापार व्यवसायमा संलग्न हुनु पर्छ भन्ने सोच बढ्न थालेसँगै करमा आवद्ध हुनेहरु प्रत्येक वर्ष बढ्दै गएको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्तिराम आचार्यले बताए ।


प्रमुख कर अधिकृत आचार्यका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा आन्तरिक राजस्व कार्यालय भैरहवा अन्तरगतको क्षेत्रमा ११ हजार ८ सय ३६ नयाँ करदाता थपिएका छन् । थपिएका करदाताहरुमा सबैभन्दा बढी आयकरतर्फ ९ हजार २ सय ९५ रहेका छन् । त्यसैगरी मूल्य अभिवृद्धि करतर्फ १ हजार २७ र अन्तशुल्कतर्फ ५ सय ७८ गरी कुल ११ हजार ८ सय ३६ नयाँ करदाता थपिएका हुन् ।


भैरहवा कार्यालय अन्तरगत २०७८ असार मसान्तसम्म कायम रहेका करदाताको संख्या १ लाख १५ हजार भन्दा बढी पुगेका छन् । सबैभन्दा बढी व्यक्तिगत प्यान नम्बर लिने रहेका छन् । व्यक्तिगत प्यान लिनेको संख्या ५४ हजार ७ सय ६८ पुगेको छ । त्यसैगरी आयकरतर्फ ५१ हजार ८ सय ६३, मूल्य अभिवद्धि करमा ७ हजार ४ सय ९१, अन्त शुल्कमा ४ हजार ५ सय ८३ गरी जम्मा करदाताको संख्या १ लाख १८ हजार ७ सय ५ पुगेको छ ।


करदाता शिक्षाको प्रभावकारीता, ग्रामीण क्षेत्रमा पनि कर बुझाउनु पर्छ र करको दायरामा रहेर व्यवसाय गर्नु पर्छ भन्ने भावना विकास हुनु लगायतले करदाता बढिरहेको कार्यालयको भनाइ छ । सरोकारवाला निकाय पनि जिम्मेवार हुनु, उद्योग वाणिज्य संघ, व्यापार संगठ, होटल रेष्टुरेन्ट संघहरु करका विषयमा थप सकृयता अपनाउँदा पनि करदाताको संख्या बढेको हो ।

राजस्व संकलन लक्ष्य अनुसार
आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २२.५२ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ । कोरोना महामारी भएपनि व्यवसायीले कर तिर्नु पर्छ भन्ने धारणा राख्दै र राज्यले ल्याएको विभिन्न छुटका स्किमहरुबाट पनि लाभ लिएपछि राजस्व बढी संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा ९ अर्ब ८० करोड ५० लाख ४९ हजार रुपैयाँ लक्ष्य रहेकोमा १२ अर्व १ करोड २६ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यो लक्ष्यको १२२.५२ प्रतिशत हो ।
सो वर्ष सबैभन्दा बढी अन्तशुल्कमा ८ अर्ब ३५ करोड ४४ लाख ११ हजार रुपैयाँ असुली भएको छ । त्यसैगरी मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ९१ करोड २२ लाख ५९ हजार तथा आयकरमा १ अर्ब ७४ करोड ६० लाख २६ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्