रुकुम–नेपालगन्ज घटे, रुकुम–काठमाडौँ टिकट पाउन मुस्किल «

रुकुम–नेपालगन्ज घटे, रुकुम–काठमाडौँ टिकट पाउन मुस्किल

रुकुम-नेपाल वायु सेवा निगमको हवाईजहाजबाट रुकुमदेखि नेपालगन्जसम्म जाने यात्रुहरूको संख्या ह्वात्तै घटेको छ । पछिल्लो सयममा जहाजको भाडादर पनि बढेको र दैनिक साना गाडीहरूसमेत यहाँबाट नेपालगन्जसम्म पुग्ने गरेकोले जहाज चढ्नेहरूको संख्या घटेको हो ।
रुकुम सदरमुकाम मुसिकोटस्थित सल्ले विमानस्थलबाट अहिले नेपाल वायुसेवा निगमको मात्र जहाज सातामा एकदिन काठमाडौं र एकदिन नेपालगन्ज जाने गर्छ । आइतबार काठमाडौं–रुकुम–नेपालगन्ज र सोमबार नेपालगन्ज–रुकुम–काठमाडौंको समय तालिका रहेको निगमका सल्ले स्टेसन प्रमुख अमरदीप राईले जानकारी दिए । यहाँबाट काठमाडौंका लागि यात्रुहरूको चाप धेरै भए पनि नेपालगन्जको भने न्यून रहेको उनको भनाइ छ । जहाज चढ्नेमा महत्वपूर्ण कामले जानेहरू विशेष गरी नेताहरू, सरकारी कर्मचारी र बिरामीहरू हुने गर्छन् ।
रुकुमदेखि नेपालगन्जका लागि १८ जनासम्मको उडान क्षमता रहेको जहाजमा कहिलेकहीँ ६ जना मात्र यात्रुहरू पठाउने गरेको स्टेसन प्रमुख राईले बताए । तर, काठमाडौंका लागि भने १४ जनाको क्षमता रहेकोमा प्रायः सबै उडानहरूमा भरिभराउन हुने गरेको छ । काठमाडौंको उडानमा त कहिलेकाहीँ टिकट नपाएर यात्रु फिर्तासमेत जाने गरेका छन् । “नेपालगन्जका लागि यहाँबाट राम्राराम्रा गाडीहरू दैनिक जाने गर्छन् ।” उनले भने, “जहाज सातामा एकदिन मात्र जाने भएकोले मानिसहरू जहाज नकुरेर गाडीमै गएको हुनुपर्छ ।” भाडादरको सन्दर्भमा इन्धनको मूल्य बढ्दा भाडा बढ्ने र घट्दा भाडा पनि घट्ने गरेको उनको भनाइ छ । भाडाका कारण यात्रुहरू नघटेको उनको दाबी छ ।
तर, पहिले जहाज चढ्ने टिकटका लागि तँछाडमछाड गर्नुपर्ने अवस्था रहेकोमा अहिले यात्रुहरू घट्नुको मुख्य कारण भाडादर वृद्धि नै रहेको स्थानीय बताउँछन् । लामो यात्रा हुने भएका कारण काठमाडौं जाँदा महँगो भाँडा हुँदा पनि उड्ने गरेको भए पनि छोरा दूरीमा त गाडीबाटै जाने गरेको यात्रुहरू बताउँछन् । भाडा कम हुँदा नियमित जहाजमै जाने गरेका स्थानीय छापाखाना व्यवसायी कर्णबहादुर ओली अहिले जरुरी कामको बेला मात्र जहाज चढ्ने गरेको बताउँछन् । “अहिले त प्रायः नेपालगञ्ज, काठमाडौं जाँदा गाडीमै जान्छु ।” उनले भने, “भाडा बढी भए पनि इमर्जेन्सी काममा त जहाज चढ्नैपर्छ ।” गत वर्षसम्म नेपालगञ्जका लागि २ हजार २ सय ४० रुपैयाँ भाडादर रहेकोमा अहिले ३ हजार ६ सय ४० रुपैयाँ भाडा तिर्नुपर्छ । त्यस्तै काठमाडौंका लागि अहिले ८ हजार ५० रुपैयाँ भाडा रहेको निगमले जनाएको छ । नेताहरू, सरकारी कर्मचारी र ठूल्ठूला व्यवसायीहरूलाई भाडादर बृद्धिले खासै असर नगरे पनि सर्वसाधारण र बिरामी लिएर जाने यात्रुहरू यसको मारमा परेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्