पोखरा विमानस्थलमा चैतभित्र परीक्षण उडान «

पोखरा विमानस्थलमा चैतभित्र परीक्षण उडान

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी चैतभित्र परीक्षण उडान हुने भएको छ । निर्माणाधिन विमानस्थलको यही वर्ष प्राविधिक तथा अन्य निर्माणको काम पूरा गरी परीक्षण उडान गर्ने योजनाअनुसार काम भैरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख विनेश मुनकर्मीले बताए । आर्थिक वर्ष २०७७-७८ सम्म भौतिक प्रगति ८१ प्रतिशत र आर्थिक प्रगति ५८ प्रतिशत पूरा भएको जनाइएको छ ।
विमानस्थलका लागि प्रयोग गरिने उपकरण सन् २०२१ भित्रै आयात गरी त्यसको ३ देखि ४ महिनामा सबै जडान कार्य सक्ने योजना रहेको छ । कोभिडपछि करिब विमानस्थलमा कार्यरत ७ सय जनशक्तिमध्येमा ८० जनालाई कोभिड–१९ संक्रमित भएको र पछिल्लो समयमा यही कारण तीन सय जनशक्तिमात्र कार्यरत रहेको प्रमुख मुनकर्मीको भनाइ छ । उनले भने, “कोभिड–१९ का कारण निर्माणकार्यमा केही ढिलाइ भएको र पछिल्लो समय तेश्रो लहरको पनि उच्च जोखिम रहेकाले गर्दा त्यसतर्फ मध्यनजर गर्दै थप १ वर्ष म्याद थप भएको छ ।”
सन् २०२१ को जुलाई १० सम्म निर्माण पूरा गरी पहिलो परीक्षण उडान गर्ने योजना आयोजनाको लक्ष्य भएपनि पछिल्लो समय देखिएको कोभिडका साथै प्राविधिक तयारी अपुग भएपछि १ वर्ष म्याद थप भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । २ हेक्टरमा फैलिएको सो डाँडाको २ थुम्का कटानको लागि फागुन २० मा बसेको मन्त्रिपरिषद्ले स्वीकृती प्रदान गरेको थियो । डाँडा कटानको लागि वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत गरेपछि कटान सुरु हुने र करिब ६ महिनामा कटान सम्पन्न गर्ने लक्ष्य राखिएको प्रमुख मुनकर्मीले बताए ।
समुद्र सतहबाट ८ सय ५० मिटर रहेको दुई डाँडामा एक साढे १२ मिटर र अर्का ४० मिटर उचाइको डाँडा काट्नुपर्ने देखिएको थियो । करिब ४० मिटर उचाइ कटान गर्नुपर्ने छ भने प्रारम्भिक सर्भेअनुसार ३ लाख ७० हजार घनमिटर माटो कटान गर्नु पर्ने छ ।
सरकारको गौरवको आयोजना पोखरा विमानस्थल चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले निर्माण सम्पन्न गर्ने ठेक्का पाएको थियो । करिब २२ अर्बको रुपैयाँ लागतमा विमानस्थल निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्