लक्ष्यभन्दा बढी राजस्व संकलन «

लक्ष्यभन्दा बढी राजस्व संकलन

कार्यालयले भन्सार महसुलतर्फ ८ अर्ब १२ करोड १ लाख, मूल्य अभिवृद्धि करतर्फ 
१० अर्ब ३६ करोड २६ लाख र अन्तशुल्कतर्फ १ अर्ब ८ करोड ९३ लाख संकलन गरेको छ ।

पूविराटनगर-र्वको प्रमुख भन्सार नाकाका रुपमा स्थापित विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७५÷७६ को प्रथम अर्धवार्षिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
पुस मसान्तसम्म कार्यालयले १९ अर्ब ५७ करोड २० लाख रुपैयाँ संकलन गरेको छ । जुन लक्ष्यको १ सय दशमवल ०४ प्रतिशत हो । कार्यालयका प्रमुख मिमांशु अधिकारीका अनुसार प्रथम अर्धवार्षिकमा १९ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । गत आर्थिक वर्ष २०७४÷७५ को यसै अवधिमा १३ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ राजस्व असुली भएको थियो । गत आर्थिक वर्षमा भएको राजस्व संकलनको ३० प्रतिशत वृद्धि हुनेगरी वार्षिक राजस्व संकलनको लक्ष्य तोकिएकोमा कार्यालयले ४१ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि गरेको अधिकारीले बताए ।
कार्यालयले यस आर्थिक वर्ष ४२ अर्ब ५३ करोड १९ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । प्रथम अर्धवार्षिक अवधिमा कार्यालयले वार्षिक लक्ष्यको ४६ दशमलव ०२ प्रतिशत राजस्व संकलन गरेको छ । यस अवधिमा भन्सार महसुलतर्फ ८ अर्ब १२ करोड १ लाख, मूल्य अभिवृद्धि करतर्फ १० अर्ब ३६ करोड २६ लाख र अन्तशुल्कतर्फ १ अर्ब ८ करोड ९३ लाख संकलन गरेको छ । कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न भन्सार जाँचपासमा सहजता, मालवस्तुको यथार्थपरक मूल्यांकन तथा वस्तु वर्गीकरण, यात्रु जाँचपासमा कडाइ, चोरी, पैठारी–निकासी नियन्त्रण तथा गस्ती परिचालन र मुद्दाको रुपमा दाखिला भएका मालवस्तुको समयमा नै लिलाम बिक्री जस्ता रणनीतिहरू अवलम्बन गरेको प्रमुख अधिकारीले जनाए । उनले भने, “जाँचपासलाई कडाइ गर्दै भन्सार सुरक्षा गस्तीलाई प्रभावकारी बनाएकै कारण कार्यालयले राजस्व संकलन लक्ष्यभन्दा बढी गर्न सफल हो ।” खुल्ला सीमाका कारण चोरीपैठारी यो क्षेत्रको मुख्य समस्याका रुपमा रहेको छ ।
यो नाका हुँदै भारत तथा तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ, एमएस विलेट, पोलिथिन दाना, स्टिल वायर रड, सेन्थेटिक यार्न, सिआर सिट, एलपी ग्यास, एचआर सिट र खाद्यन्नलगायतका मुख्य वस्तु आयात हुने गरेको छ । त्यस्तै यो नाकाबाट सेन्थेटिक यार्न, जुटको झोला, जुटका तयारी वस्तु, अलैंची, अन्य रेसाको कपडा, रिफाइन पाम तेल, जीआई वायर, कोरुगेरेटेड जस्तापाता, कपर सिट, पिनालगायतका वस्तु निकासी हुने मुख्य वस्तुको सूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्