धान राख्न गोदाम अभाव «

धान राख्न गोदाम अभाव

नेपालगन्ज-खाद्य संस्थानको भेरी अन्चल कार्यालयले हालसम्म खरिद गरेको २४ हजार क्विन्टल धान मध्ये करिब १७ हजार क्विन्टल धान गोदामको अभावले गर्दा कार्यालयको खुला चौरमा राखिएको छ ।
संस्थानका ३ वटा गोदाम पहिलेदेखिनै चामलले भरिभराउ भएका कारण धान राख्ने ठाउँ नहुँदा प्रतिकूल मौसममा पनि बाध्य भएर करोडौं मूल्य पर्ने धानलाई खुला चौरमा त्रिपालले ढाकेर राख्नुपरेको नेपाल खाद्य संस्थान अन्चल कार्यालयका प्रमुख हरिप्रसाद जोशीले बताए ।
संस्थानको कार्यालय प्राङ्गणमा रहेका २० हजार क्विन्टल क्षमताका ३ वटा गोदाममा पहिलेदेखिनै चामल भरेर राखिएकाले यस वर्ष खरिद गरिएको धान खुला चौरमा थुपारिएर राख्नुपरेको प्रमुख जोशीले बताए ।
उनले समयमै धान खरिदको कोटा पुरा हुने भए पनि राख्ने ठाउँको अभावले भने आफूहरू समस्यामा परेको बताए । खुला चौरमा राखिएको मध्ये ८ हजार क्विन्टल धानको मात्रै बिमा गरिएको छ ।
संस्थानको चौरमै यस पटक खरिद गरिएको २४ हजार क्विन्टल धान थुप्प्रयाएर राखिएकोमा ७ हजार क्विन्टल कुटानीका लागि बर्दियाको राधाकृष्ण मिलले उठाइसकेकाले १७ हजार क्विन्टल धान अझै चौरमै रहेको जोशीको भनाइ छ । उनले केही दिनमा सबै धान मिलले कुटानीका उठाएर लैजाने जनाउँदै तर कुटेर आएको चामल कहाँ र कसरी राख्ने भन्ने चिन्ताले सताउन थालेको बताए । कुटेर आएको चामल खुला चौरमा राख्न नमिल्ने भन्दै प्रमुख जोशीले त्यसका लागि भाडामा भए पनि गोदामको खोजी भइरहेको जानकारी दिए ।
पश्चिम नेपालका पहाडी तथा हिमाली जिल्लामा पठाउनका लागि संस्थानले यहाँ धान खरिद गरिरहेको छ । चामल कुटेर आए लगत्तै सो चामललाई कोटा अनुसार पहाडी जिल्लामा पठाइने संस्थानले जनाएको छ ।
हालसम्म गोदाममा रहेको करिब ५ हजार क्विन्टल चामल जुम्ला र कालिकोटमा पठाई सकिएको छ । अञ्चल कार्यालयका प्रमुख जोशीले मुगु, जाजरकोट र डोल्पामा पठाउने तयारी भइरहेको बताए ।
पहाडी जिल्लामा पठाइसकेपछि भण्डारणको खासै समस्या नरहने भन्दै उनले संस्थानले नेपालगन्जमा गोदाम थप बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले गोदामकै अभावमा गत वर्ष पनि २० हजार भन्दा बढी क्विन्टल धान खुला चौरमा राख्नु परेको स्मरण गराउँदै त्यति बेला केही धान वर्षाको पानीले नोक्सानी गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्