जलवायु अनुकुलित खेतीमा रोल्पाका किसान

आफ्ना अधिकांश बालसखा खाडीको तातो घाममा पसिना बगाई रहँदा सुनिलस्मृति गाउँपालिका ६ गजुलका इन्द्रबहादुर थापा आफ्नै बारीमा पसिना बगाइरहेका छन् । साथीभाइसँगै उनलाई पनि विदेश जाने रहर नलागेको भने होइन । उनका लागि रहर भन्दा घर व्यवहार ठूलो भयो । ८ वर्षको उमेरमा कर्म सिकाउने बुबा गुमाएका उनलाई सानै उमेरमा घर व्यवहारले च्याप्दा घर बाहिर निस्कनै पाएनन् ।
आम्दानीको अर्को विकल्प थिएन । बाउबाजेको बिडो थाम्दै खेतीपातीलाई निरन्तरता दिए । लामो समय यसैगरी किसानी दैनिकी चलेको थियो । २०७४ सालमा उनलाई कृषक तालिमको एउटा अवसर आयो । करिव २ हप्ता लामो तालिम लिएर घर फर्केका उनलाई तालिमले निकै प्रभाव पारेछ । उनी जलवायुमैत्री खेती गर्न हौसिए । किटनासक औषधी र रासायनिक मलको प्रयोगबाट गरिने खेतीले उत्पादन घेरै दिने भएपनि त्यसबाट वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर कुराले उनको मन छोएको थियो । उनले रासायनिक मल र किटनासक औषधी प्रयोग बिना व्यावसायिक खेती गर्ने निधो गरे । उनले बाबु बाजेले गर्दै आएको प्रणालीलाई सुधार गरी खेती गर्न सुरु गरे ।
उनलाई त्यस कामका लागि पहाडी साना किसान अनुकुलन आयोजनाले ७५ हजार रुपैयाँ आर्थिक सहयोगका साथै प्राविधिक सहयोग पनि गर्ने भयो । आयोजनाबाट सहयोग पाउने भएपछि हौसिएका थापाले घर नजिक ५ वटा टनेल बनाई तरकारी खेती सुरु गरे ।
उनले अग्र्यानिक तरकारी खेतीबाट एक सिजनमा डेढ लाख आम्दानी गर्दछन् । सानैमा बुबा गुमाउँदा पढाइको प्यास मेट्न नपाएका उनले छोरालाई भेटनरी जेटिए पढाइ रहेका छन् । घर नजिकै बनेका टनेलमा परिवारको साथ सहयोगमा उनको दैनिकी बित्छ । ६ रोपनी जग्गामा तरकारी खेती गरेका उनी त्यो गाउँका अगुवा कृषक बनेका छन् । उनको तरकारी खेती देखेर छिमेकीले पनि त्यस्तै प्रविधि अपनाएर तरकारी खेती गर्न थालेका छन् । उनको अगुवाइमा ३० जनाको परमाकल्चर कृषक समूह कृयाशिल छ । हरेक १५ दिनमा उनले सबै कृषकलाई उनले आफूले जानेको प्रविधि तथा सीप सिकाउने गर्छन् ।
जलवायु परिवर्तनका कारण खेतबारीमा देखिएको मिचाहा प्रजातीले उनलाई हैरान बनाएको थियो । त्यही मिचाहा प्रजातीलाई मलमा उपयोग गर्न सकिने सीप सिकेपछि अचेल उनलाई त्यस्ता प्रजातीको हैरानी सहनु परेका छैन । मिचाहा प्रजातीलाई वायो चार्टको रुपमा मल बनाएर खेतबारीमा प्रयोग गर्छन् उनी । मिचाहा प्रजातीलाई काटेर खाल्डोमा जम्मा गरी खरानी नपर्ने गरी जलाए पछि आएको अंगार उनको खेतबारीमा मलको रुपमा प्रयोग हुन्छ । त्यसरी बनेको अंगारमा सुक्ष्म जिवाणुहरु बस्न सक्ने ठाउँ रहने भएकाले बोटबिरुवालाई फाइदा हुने गरेको उनको भनाइ छ ।
अंगारले पानी पनि सोस्ने भएकाले माटोमा आद्रता पनि रहिरहने थापाले बताए । गाईको मल मूत्र, भेली र बेसनको पिठो मिसाएर प्रयोग गरिने त्यस्तो मल ७ दिनमा तयार हुन्छ । त्यसरी बनेको मल उनले हरेक बिरुवामा सिँचन गर्छन् ।
उनले किटनासक औषधीको सट्टा आफैले तयार गरेको औषधी प्रयोग गर्छन् । तरकारी खेतीमा लाग्ने मित्र जीवलाई बचाएर शत्रु किरा मार्न उनले पानी पासो, बत्ती पासोलगायत विभिन्न पासो प्रयोग गर्ने गर्दछन् । यस्तो प्रविधि प्रयोग गरेर आफूले उत्पादन गरेको अग्र्यानिक तरकारी अन्य तरकारी भन्दा महंगो हुने हुँदा बजारमा केही समस्या हुने गरेको थापाको भनाइ छ ।
अर्गानिक तरकारीको रुपमा प्रमाणिकरणसहित स्टीकर टाँसेर काठमाडौं सप्लाई गर्ने उनको धोको छ । स्थानीय सरकारले सहयोग गरे अर्गानिक उत्पादनको प्रमाणिकरण गर्न सकिने थापाले बताए ।
जलवायु परिवर्तनमैत्री खेतीमा लागेका उनलाई पहाडी साना किसानका लागि अनुकुलन कार्यक्रमले सामान्य आर्थिक सहयोग र प्राविधिक सहयोग गरेको आयोजनाका जलवायु परिवर्तन विज्ञ उमाकान्त गुरागाईले जानकारी दिए । “मानव स्वास्थ्य र वातावरण नबिग्रने गरी उहाँले गर्दै आउनु भएको खेती प्रणाली जलवायु अनुकुलनका लागी महत्वपूर्ण सिकाइ रहेको छ” गुरागाईले भने ।
गाउँपालिकाले समय समयमा गर्ने प्रोत्साहनले उनलाई व्यावसायिक कृषिमा अघि बढ्न थप प्रेरणा मिलेको छ । गाउँपालिका र वडाले उनलाई टनेल निर्माणमा सहयोग गरेको थियो । यसै वर्ष उनी गाउँपालिकाले अगुवा कृषकको रुपमा १० हजार नगद र प्रशंसापत्रसहित पुरस्कृत भएका थिए ।
महेश न्यौपाने