भैरहवामा तरकारी खेतीका लागि ग्रिन हाउस «

भैरहवामा तरकारी खेतीका लागि ग्रिन हाउस

बचत संकलन तथा विभिन्न क्षेत्रमा ऋण प्रबाहको काम गर्दै आएको जिल्ला सदरमुकाम भैरहवा स्थित नेपाल बहुमुखी सहकारी सस्थाले ग्रिनहाउस निर्माण गरी तरकारी खेती सुरु गरेको छ ।
सहकारीले सिद्धार्थनगर नगरपालिका–९ गोनहियामा करिब ४ बिगहा जग्गा १० वर्षको लागि लिजमा लिई दुई वर्षदेखि तरकारी तथा फलफूल खेती गर्दै आएकोमा अहिले ग्रिन हाउस निर्माण गरी तरकारी खेती सुरु गरेको सहकारीका अध्यक्ष शिवहरि रेग्मीले बताए ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जर्मनीको जीआईजेडको आर्थिक सहयोगमा २ वटा आधुनिक टनेल ग्रिन हाउस निर्माण भएको छ । ग्रिन हाउससहित अन्य प्रविधिको लागत १५ लाख रुपैयाँ रहेको छ ।
जीआईजेडले ६ लाख ७१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । नपुग रकम सहकारीले ब्यहोर्ने छ । ग्रिन हाउसबाहेक बाँकी कामहरुमा उत्पादित तरकारी तथा फलफूलको बजारीकरण, भण्डारणस्थल, बिक्री कक्ष, आवश्यक प्राविधिक तालिम, बिउबिजन, औजारलगायतको सामग्री खरिद गरिने सहकारी अन्तरगत कृषि समिति संयोजक बाबुराम भटराईले बताए ।
दुई वटा ग्रिन हाउसमा गोलभेंडा खेती सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख हरिप्रसाद अधिकारीले ग्रिन हाउस भित्र टमाटर बिरुवा रोपेर शुभारम्भ गरेका थिए । सो क्रममा नगर प्रमुख अधिकारीले बचत संकलन र ऋण जारी गर्ने भन्दा पनि भिन्दै सोच बनाई काम अघि बढाएकोमा सहकारी प्रति आभार प्रकट गर्दै नगरपालिका सहयोगका लागि तयार रहेको बताए । उनले नगरपालिकाको समन्वयमा जिआईजेडसँग सहकारीको सहकार्य भएको बताए ।
ग्रिन हाउसलाई बोलीचालीको भाषामा टनेल भनिन्छ । बोटबिरुवाका लागि पूर्ण वा आंशिक रूपमा अनुकूल वातावरण बनाई प्रतिकूल मौसममा समेत उत्पादन लिन यस्तो संरचनाहरु बनाइने गरिन्छ । विदेशतिर अत्यधिक लोकप्रिय यो प्रविधि नेपालमा पनि लोकप्रिय हुँदै गएको छ । अहिले व्यावसायिक उत्पादनका लागि यो रोजाइनै बन्ने गरेको छ । ग्रिन हाउसको प्रयोगले मुख्यतः उत्पादकत्व वृद्धि गर्न, बेमौसमी उत्पादन लिन, संक्रमणरहित बाली उत्पादन गर्न हुने गरेको छ ।
तापक्रम अत्यधिक भएका तराईका क्षेत्रमा भदौदेखि जेठसम्म बेमौसमी तरकारी उत्पादन गर्न किरा नछिर्ने जाली, अल्मुनियम नेट तथा जीआई पाइप प्रयोग गरिएका जाली–घर उपयुक्त मानिने भएकोले अहिले यसको प्रयोग बढेको र यसैलाई बोलिचालिको भाषामा टनेल वा ग्रिन हाउस भनिने गरेको सहकारीका कृषि समिति उपसंयोजक विष्णु आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्