Logo

आर्थिक विकासमा सूचना प्रविधिको प्रयोग


नेपालको आर्थिक विकासका लागि अबको परिसूचक सूचना प्रविधिको विकास र प्रयोगबाहेक अरु हुन नसक्ने सूचना तथा सञ्चार क्षेत्रका विज्ञको राय छ ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संस्थाहरुसँगको अन्तरक्रियामा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले नेपालको आर्थिक विकासका लागि अबको परिसूचक सूचना प्रविधिको विकास र प्रयोगबाहेक अरु हुन नसक्ने बताएका हुन् ।
हरेक क्षेत्रको विकासका लागि सूचना प्रविधिको प्रयोगमा अपरिहार्यता रहेकोले पनि आर्थिक समृद्धिका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखि यसको विकास हुनु आवश्यक रहेको कुँवरले बताए ।
कार्यक्रममा सूचना प्रविधिका क्षेत्रगत रुपमा काम गरिरहेका संस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने क्यान महासंघको नीति रहेकाले सबै आईसिटीका क्षेत्रगत रुपमा स्थापना भएका संस्थाहरु क्यान महासंघमा विषयगत सदस्यको रुपमा आवद्ध हुन समेत अध्यक्ष कुँवरले आह्वान गरे ।
नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि क्यान महासंघ र यससँग सम्बन्धित संस्थाहरुबीच आगामी दिनमा हुनुपर्ने संस्थागत, कार्यगत र नीतिगत सहकार्य, नेपालमा यो क्षेत्रको विकासका लागि आगामी दिनमा आइपर्ने समस्या एवं चुनौतिहरु र नेपालले आगामी दिनमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि लिनुपर्ने नीति तथा रणनीतिहरुका बारेमा सुझावहरु दिने सकिने विषयका सन्दर्भमा क्यान महासंघले अन्तरक्रिया गरेको जनाएको छ ।
कार्यक्रममा क्यान महासंघका महासचिव नारायण थापाले क्यान महासंघले नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास तथा विस्तारका लागि निजी तथा गैर–सरकारी संस्थाहरुको छाता संगठनका रुपमा नीतिगत तथा कानुनी सुधारका लागि गरिरहेको पहल तथा सूचना तथा सञ्चार प्रविधि सम्बन्धि नितिहरुको कार्यान्वयनको वर्तमान अवस्थाका बारेमा प्रकाश पारे ।
नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा कार्यान्वयन गर्न सकिने साना–साना पहलहरुले पनि ठूलो परिवर्तन ल्याउन सक्ने तथा समस्याहरु मात्र औंल्याउनुको सट्टा समाधान गर्न सक्नुपर्ने बताए ।
नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले आफ्नो संस्थाले बिगतमा पनि क्यान महासंघसँग सहकार्य गरेको स्मरण गर्दै यस्ता अन्तरक्रिया गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्