सहकारी मार्फत् सामूहिक आलु र प्याज खेती सुरु «

सहकारी मार्फत् सामूहिक आलु र प्याज खेती सुरु

दमौली-तनहुँको भानु नगरपालिका चितीखोलाका कृषकले सहकारी मार्फत् आलु र प्याज खेती सुरु गरेका छन् । बागेश्वरी कृषि सहकारीमा आबद्ध ५४ जना कृषकले सामूहिक रूपमा आलु र प्याज खेती सुरु गरेका हुन् ।
भानु नगरपालिका–७, ९ र १० का चितीखोला संगमका किसान संगठित भएर आलु र प्याज खेती सुरु गरिएको सहकारीका अध्यक्ष काशीराम महतले जानकारी दिए । उनका अनुसार बाँझो रहेको जग्गाको सदुपयोग गर्दै आम्दानीको स्रोत बढाउने उद्देश्यले मंसिरदेखि सामूहिक आलु खेती गरिएको छ भने पुस २० गतेबाट प्याजसमेत रोपिएको छ ।
“गाउँमा कृषि कर्म गर्ने युवा छैनन् । यस ठाउँका कतिपय युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन् भने कतिपय युवा अध्ययनका लागि शहर पुगेका छन् । काम युवा नहुँदा खेतबारी बाँझो रहँदै आएको छ,” उनले भने । २३ रोपनी जग्गा लिजमा लिएर सामूहिक रूपमा खेती थालिएको कृषि सहकारीका सदस्य एवं अगुवा कृषक बासुराज कडरियाले जानकारी दिए । उनका अनुसार १३ रोपनी क्षेत्रफलमा आलु र ७ रोपनी क्षेत्रफलमा प्याज रोपिएको छ भने बाँकी जग्गामा केरा, काँक्रोलगायत खेती गर्ने योजना बनाइएको छ ।
१० वर्षका लागि लिजमा लिइएको जग्गामध्ये १३ रोपनीको वार्षिक १५ हजार र १० रोपनीको वार्षिक १० हजार रूपैयाँ भाडा बुझाइनेछ । आलुका लागि भानु नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । ६ क्विन्टल आलुको बीउ खरिदमा नगरपालिकाले ५० प्रतिशत अनुदान सहयोग गरेको थियो भने ५० प्रतिशत रकम सहकारीले व्यहोरेको कडरियाले बताए ।
सहकारीमा १० पुरुष र ४४ जना महिला आबद्ध छन् । उनीहरूले दैनिक चार घण्टासम्म सामूहिक रूपमा काम गर्ने गरेका छन् । कडरियाले भने, “सामूहिक रूपमा काम गर्दा सजिलो भएको र सामिप्यता समेत बढ्ने गरेको छ ।”
केरा खेतीका लागि भानु नगरपालिकामा अनुदानका लागि निवेदन दिइएको जानकारी दिँदै उनले सामूहिक रूपमा कुखुरापालन र गाईपालन गर्ने लक्ष्य राखिएको जानकारी दिए । उनले भने, “हाम्रो लक्ष्य वृहतरूपमा कृषि र पशुपालन मार्फत् आम्दानीको स्रोत वृद्धि गर्ने हो ।”

प्रतिक्रिया दिनुहोस्