स्याङ्जामा ९५ प्रतिशत रोपाइँ

स्याङ्जामा ९५ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा धान खेती हुने कुल भू–भागमध्ये ९५ प्रतिशत भू–भागमा रोपाइँ सकिएको हो ।
स्याङ्जाको गल्याङका तल्लो भेगमा २ प्रतिशत, चापाकोटमा डेढ प्रतिशत, ज्याग्दी फाँटको १ प्रतिशत गरी झण्डै ५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए ।
तल्लो भेगमा ढिला रोपाइँ गरिएपनि उत्पादनमा खासै फरक नपर्ने भएकाले मकै भएका खेतहरुमा केही ढिलाई भएको हो । गत वर्ष ९८ प्रतिशत रोपाइँ भएकोमा यसवर्ष झण्डै सतप्रतिशत रोपाइँ हुने देखिएको हमालले बताए । केन्द्रका प्रमुख हमालले दिएको जानकारी अनुसार यसवर्ष कोरोनाका कारण युवा गाउँघरतिरै हुनु, विदेशबाट फर्किएकाहरु र पछिल्लो समय कृषिमा युवाहरुको आर्कषण बढेको र प्रर्याप्त वर्षा भएकाले रोपाइँ प्रतिशत बढेको हो ।
यस पटक पर्याप्त वर्षात भएका कारण भदौ, असोजसम्म मुल नसुक्ने भएकाले धान उत्पादन बढी हुने कृषि प्राविधिकहरु बताउँछन् । बाँझो रहेका जमिनमा समेत कृषकहरुले रोपाइँ गरको छन् । १८ हजार हेक्टरमा गतवर्ष ५६ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसपटक भने झण्डै ६० हजार मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ ।
सिंचाइँ सुबिधा नपुगेका खेतमा पनि यसपटक नियमित आएको वर्षाले कृषकलाई सहज भएको कृषकहरुको भनाइ छ । जिल्लाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट, गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान खेतीका लागि उर्वर क्षेत्र हुन् ।