मणिपाल व्यवस्थापन र मजदुरको विवाद समाधान «

मणिपाल व्यवस्थापन र मजदुरको विवाद समाधान

तलब तथा भत्ता वृद्धिलगायतका माग राखेर पोखराको मणिपाल शिक्षण अस्पतालमा विगत लामो समयदेखि चलेको मजदुर, कर्मचारी आन्दोलन साम्य भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्म आएको विवाद मन्त्रालयको सक्रियातामा टुंगो लागेको छ ।
अस्पतालमा श्रमिक तथा कर्मचारीले सेवा सुविधाका सम्बन्धमा मन्त्रालयसम्म गुनासो ल्याएपछि मन्त्री गोकर्ण बिष्टको निर्देशनपछि समाधान भएको हो । गत साउनदेखिको अस्पताल प्रशासन र श्रमिक कर्मचारीबीच विवाद बढ्दै जाँदा समस्या समाधान हुन सकेको थिएन ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मणिपालका अध्यक्ष अमृतबाबु पौडेलले समस्या समाधानमा मन्त्री विष्टले नै हस्तक्षेप गर्नुपरेको बताए । उनले दुई पक्षबीचको विवाद मन्त्रालयको हस्तक्षेपपछि टुंगो बल्ल लागेको जानकारी दिए । श्रमिक र कर्मचारीहरुले श्रम ऐनअनुसार तलब वृद्धि लगायतका माग राखेर २०७४ साउनमा आन्दोलन थालेका थिए । सरकारले साउनदेखि नयाँ तलब तोकेपछि विवाद भएको थियो ।
विवाद समाधानका लागि मन्त्रालयले महान्यायधिवक्ताको कार्यालयका अधिकृत श्रीराम खनाल, ट्रेड यूनियनका नवीन अधिकारी र पोखरा उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष विश्वशंकर पालिखेसहितको अध्ययन टोली गठन गरेको थियो । टोलीले २ पक्षबीचको विवाद अध्ययन गरी कात्तिक ११ गते सरकारलाई प्रतिवेदन पेश गरेको थियो । अब अस्पतालमा कार्यरत सबै श्रमिक तथा कर्मचारीको मासिक रुपमा कम्तिमा ३६ सय ५० रुपैयाँ वृद्धि भएको छ । अस्पतालका प्राध्यापक चिकित्सकको बाहेक अरु मजदुरको सेवा सुविधा वृद्धि हुने भएको छ ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका गण्डकी प्रदेश इन्चार्ज राजेन्द्र पौडेलले पनि कठिनका साथ मणिपाल प्रशासन मजदुरका माग सुन्न सहमत भएको बताए । स्थानीय प्रशासनले दिएको निर्देशन समेत अस्पताल प्रशासनले नमानेपछि श्रममन्त्री बिष्ट आफैले तीन दिनभित्र समस्या समाधान गर्नु भनेर निर्देशन दिएको उनले बताए । सो अस्पतालमा प्राध्यापक चिकित्सक बाहेक लगभग ८ सय जना मजदुर तथा कर्मचारी कार्यरत छन् । सहमतिसँगै कामदारको श्रम ऐन अनुसार तलब सेवा सुविधा वृद्धि हुने छ ।

प्रतिक्रिया दिनुहोस्