स्वास्थ्य संस्था जाँदैनन् अधिकांश गर्भवती महिला «

स्वास्थ्य संस्था जाँदैनन् अधिकांश गर्भवती महिला

सिन्धुलीका ग्रामीण भेगका अधिकांश महिला गर्भवती भएको समयमा अस्पताल जाँदैनन् । गर्भवती भएको बेलामा समय समयमा नजिकैको पायक पर्ने स्वास्थ्य संस्थामा निःशुल्क रूपमा गरिने चेकजाँचमा समेत महिला जाने गरेका छैनन् ।
चेकजाँचको क्रममा केही महिला स्वास्थ्य संस्थामा पुगे पनि उनीहरू सुत्केरी हुने समयमा स्वास्थ्य संस्थामा नगई असुरक्षित तवरले घरमै सुत्केरी हुनेको संख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाका स्वास्थ्य संस्थामा गर्भवती महिला पहिलो पटक चेकजाँचका लागि आउनेको संख्या धेरै भए पनि दोस्रो, तेस्रो र चौथोपटक जाँच गराउनेको संख्या घट्दै जाने गरेको स्वास्थ्य संस्थाले जनाएका छन् ।
स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने २६ प्रतिशत महिलामात्र रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । आव ०७३-७४ को वार्षिक प्रतिवेदनअनुसार २६ प्रतिशत महिलामात्र सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराएका छन् भने ६१.१ प्रतिशत महिला घर मै प्रसूति हुन्छन् । भरपर्दो स्वास्थ्य सेवाका लागि भन्दै जिल्लामा २३ वटा वर्थिङ सेन्टर सञ्चालनमा छन् । तर पनि महिला जोखिम मोलेर घरमै प्रसूति गराउँछन् ।
स्वास्थ्य चेतनाको कमीका कारण ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा कम मात्रामा जाने गरेका छन् । घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा नबुझेर स्वास्थ्य संस्था गएर प्रसूति गराउने महिलाको संख्या कमी भएको चिकित्सकहरू बताउँछन् । स्वास्थ्य संस्थामै आएर प्रसूति गराउँदा पाइने प्रोत्साहन र यातायात खर्चको व्यवस्था हुँदा पनि महिलाहरू घर मै जोखिम मोलेर बच्चा जन्माउन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्