बैंक तथा वित्तीय संस्थामाथि आक्रमण किन ? «

बैंक तथा वित्तीय संस्थामाथि आक्रमण किन ?

पछिल्लो समय कोरोना महामारीले हरेक क्षेत्र धराशायी भएको समयमा बैंकले नाफा कमाएको भन्दै बैंक तथा वित्तीय संस्था विरोधी अभिव्यक्ति आइरहेका छन् । व्यवसायीहरूले पहिलेदेखि नै बैंकले धेरै नाफा कमाएको भन्ने आरोप लगाइरहेको समयमा पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले समेत शुक्रबार अर्थ समितमा बोल्ने क्रममा अन्य क्षेत्रको भन्दा बैंकले धेरै मुनाफा कमाएको बताए । ‘अरू सबै क्षेत्रहरू घाटामा छन् । बैंकको नाफा त बढेको बढ्यै छ । कहिल्यै घाटामा छैन । कहीं गम्भीर रोग छ । त्यसको पहिचान गरेर हस्तक्षेप गरौं,’ भन्ने उनको अभिव्यक्ति थियो । तर, बैंकिङ क्षेत्रको नाफाको दर हेर्ने हो भने घट्दै गइरहेको देखिन्छ । लगानीको क्षेत्र बढेकाले धेरै नाफा आएजस्तो देखिए पनि रिटर्न अन इक्विटी (आरओई) घट्दै गएको बैंकरहरू बताउँछन् । यसै विषयमा पूर्व तथा हालका बैंकरहरूसँग सुमित सुवेदीले गरेको कुराकानीको सार :

बैंकले धेरै नाफा कमाए भन्नु हावादारी गफ हो
पर्शुराम कुँवर क्षेत्री
बैंकर

बैंकले धेरै नाफा कमाए भन्ने कुरा हावादारी गफमात्र हुन् । त्यस्ता कुराहरू सुन्नु हुँदैन । अर्ब कमाए, करोड कमाए भन्ने हो कि कति लगानी गरेर कति कमाए भन्ने हो ? बैंकको लगानीअनुसारको नाफा हेरौँ न । घटेको देखिन्छ कि बढेको ? आर्थिक वर्ष ०७६÷७७ को रिपोर्ट हेर्ने हो भने बैंकहरूको लगानीको प्रतिफल अर्थात् ‘रिटर्न अन इक्विटी’ जम्मा ११ प्रतिशत मात्र छ । अघिल्लो आर्थिक वर्षको रिपोर्ट आउन अझै बाँकी नै छ ।
यसलाई हे-यो भने त जस्तो मानिसले पनि नाफा घटेको देख्छ नि । उनीहरूलाई त त्यो पनि थाहा रहेनछ । उनीहरू जति ठूलो मानिस भए पनि, राजनीतिज्ञ भए पनि अर्थतन्त्रका बारेमा केही थाहा नै छैन । त्यसकारण कसले कति कमायो भनेर हेर्ने रिटर्न अन इक्विटी हो । जुन बैंक तथा वित्तीय संस्थाहरूको घट्दै गइराखेको छ ।
हाम्रो देशमा बैंकको नाफा घट्यो रे भनेको सुन्नेबित्तिकै खुसी हुने र बैंक तथा वित्तीय संस्थाहरूको नाफा बढ्यो भनेबित्तिकै दुःखी हुने मानिसहरू छन् । अहिले बैंकहरूले ‘नाफा गरे, लुटे’ भन्ने मानिसहरू पनि दुःखी आत्माहरू नै हुन् । यस्तो ज्ञानले यिनीहरूले देशको विकास गर्न नै सक्दैनन् ।
अब १ लाख लगानी गरेर मैले २० हजार रुपैयाँ कमाउँला रे । अरू कसैले १० लाख रुपैयाँ लगानी गरेर १ लाख रुपैयाँ नाफा कमाउला रे । अब उसले लाख रुपैयाँ कमायो, मैले २० हजार रुपैयाँमात्र कमाएँ भनेर भन्न मिल्छ त । १ लाख लगानी गरेर २० हजार कमाउँदा मेरो नाफा २० प्रतिशत भएको छ भने १० लाख लगानी गरेर मात्र १ लाख कमाउने मानिसको १० प्रतिशत मात्र नाफा भएको छ । उसले बढी नाफा कमाएको जस्तो देखिए पनि वास्तवमा बढी नाफा कमाएको त मैले हो नि ।
यहाँ रकम हेरेर यसले यति नाफा कमायो, यसले कमाउन सकेन भनियो भने गलत हुन्छ । यो केही पनि नबुझेको मानिसले हेर्ने नजर हो । अब उनीहरूको सोचमा त बैंकहरू पनि डुब्नुपथ्र्यो भन्ने देखियो । बैंकको पैसा त मानिसहरूको हो नि । बैंक डुबे भने अर्थतन्त्र के होला ? त्यसको विषयमा त केही सोचेकै देखिएन ।
विगतमा लाखौँ-करोडौं रुपैयाँ खर्च गरेर कत्रो वर्ष लगाएर नेपाल बैंक, वाणिज्य बैंक, कृषि विकास बैंकहरूलाई हामीले उकास्नुपरेको थियो । उहाँहरू त धारे हात लगाएर बस्नुभएको थियो । विगतका राजनीतिज्ञले ती बैंकहरूलाई डुबाएका थिए । अहिलेका महान् नेता हौँ, कर्मचारी हौँ भन्नेहरू अहिलेका बैंकलाई धारे हात लगाएर विगतको नेपाल बैंक, वाणिज्य बैंक बनाउन खोजिरहेका छन् ।
यसरी बारम्बार बैंकहरूमाथि आक्रमण हुनु बुझाइको कमी हो । यदि नेताहरूले अर्थतन्त्रको विषयमा बुझ्थे भने अहिले जनताले दुःख पाउनु पर्दैनथ्यो । नबुझ्ने मान्छेहरूले नै सत्ता चलाए, चलाइरहेका छन् र जो चलाउन खोजिरहेका पनि छन् । देशमा नबुझ्ने मानिसको हालीमुहाली भएपछि आउने भनेका अभिव्यक्तिहरू यस्तै खालका हुन् । जो सत्य हुँदैनन् ।

नबुझेर आएको अभिव्यक्ति हो
कृष्णप्रसाद शर्मा
बैंकर

बैंकले धेरै नाफा कमाए भन्नु नबुझेर आएको अभिव्यक्ति हो । बैंक वित्तीय मध्यस्थकर्ता हो । जहाँ निक्षेपकर्ताबाट रकम लिने र ऋणको माग हुनेलाई दिने गरिन्छ । यस्तो अवस्थामा बीचमा जति मार्जिन बच्छ त्यो मात्र बैंकले लिने हो । त्यसमा पनि राष्ट्र बैंकको नियन्त्रण छ ।
अहिलेको अवस्थामा ऋणीहरूले बैंकको ब्याज बढी भयो भनेको अवस्था छैन । उनीहरू खुसी नै छन् । निक्षेपकर्ताहरूले पनि ब्याज धेरै कम भयो भनेर निक्षेप निकालेको अवस्था पनि छैन । उनीहरू पनि सन्तुष्ट नै छन् । राष्ट्र बैंकले निर्धारण गरेको ४.४ प्रतिशतको स्प्रेड रेटभन्दा पनि घटाएर बैंकहरूले ऋण दिइरहेका छन्, जसका कारणले राष्ट्र बैंक पनि बैंकहरूसँग सन्तुष्ट नै छ । त्यसमाथि १० वर्ष पहिला कुनै–कुनै बैंकको रिटर्न अन इक्विटी ५० प्रतिशतभन्दा पनि माथि थियो । अहिले राम्रा बैंकहरूको पनि १५ देखि २० प्रतिशतको हाराहारीमा मात्र छ । यो हेर्दा त खासै नाफा गरेजस्तो देखिँदैन ।
एउटा कुरा के सत्य हो भने बैंकको कारोबारमा वृद्धि भएको छ । कारोबार दुई किसिमले वृद्धि भइरहेको छ । एउटा बैंकहरूको पहुँच विस्तार भएको छ । अहिले गाउँगाउँ तथा हरेक स्थानीय निकायमा बैंकहरू खुलेका छन् । त्यहाँ बैंकहरू खुल्दा त्यसले पनि कारोबार बढाउने भयो । व्यवसायीहरू जसले पहिले नै यति ऋण लिने भनेका थिए उनीहरूले पनि ऋण उठाए ।
अर्को आयात पनि बढिरहेको छ । रेमिट्यान्स आएको हुनाले उपभोगमा खासै कटौती भएको छैन । समग्र रूपमा कारोबार त वृद्धि भयो । राष्ट्रको जीडीपी पनि ४२ खर्ब पुगिसक्यो । त्यसले गर्दा अरू घाटामा गएको समयमा बैंकहरूले केही नाफा कमाएका हुन्, जुन अप्रत्याशित होइन । अझै बढी नाफा गर्न सकिन्थ्यो । राष्ट्र बैंकले क्याप लगाइदिएका कारणले कम भएको हो । पोहोर तरलता सप्लाई गरेको हुनाले नाफा कम भयो । ब्याजदरहरू तल झ¥यो । १५-२० प्रतिशतको रिटर्न खासै धेरै नाफा होइन ।
त्यसमाथि अहिले ठेक्कापट्टाका कामहरू बढिरहेका छन् । त्यसले बैंक ग्यारेन्टी तथा पर्फमेन्स ग्यारेन्टीहरूबाट आम्दानी हुन्छ । त्यसमा बैंकले पैसा लगानीसमेत गर्नु पर्दैन, मात्र ग्यारेन्टी बसे पुग्छ । साथै एलसी कारोबारहरू पनि बढिरहेका छन् । त्यसबाट पनि आम्दानी हुन्छ । अनलाइन कारोबारबाट पनि बैंकलाई आम्दानी हुन्छ । कार्डबाट पनि आम्दानी हुन्छ । त्यसकारणले बैंकहरूको फी कमिसनको पैसा आउँछ । तर, ब्याज आम्दानी पहिलेको भन्दा धेरै घटेको छ । यस्तो महामारीमा पनि बैंक धानिए, त्यसमा खुसी मनाउनुपर्छ ।
अहिले बैंकहरू स्थिर भइरहेका छन् । सानोतिनो सकसलाई धान्न सक्छन् । यदि बैंकहरू नै घाटामा गए भने त अर्थतन्त्र त पूरै धरापमा पर्छ । वर्षभरिमा सरकारले जति लगानीको प्रक्षेपण गर्छ, त्यसको २५-३० प्रतिशत मात्र सरकारी क्षेत्रबाट आउँछ । ७० प्रतिशत त बैंकिङ क्षेत्रबाट नै गइरहेको छ । यत्रो जीडीपी वृद्धि हुनलाई पनि लगानी त गर्नुप-यो । अरूको तुलनामा हेर्दा केही नाफा देखिएको होला । तर, वास्तवमा नाफा घटेको छ । बैंकले सबै क्षेत्रमा हात हालेको छ । सबै क्षेत्र डुबेका त छैनन् । त्यस कारणले पनि घाटामा नगएको हो । सबै क्षेत्र सन्तुलन हुँदै आएकाले त्यति धेरै नाफा कमाएको भन्न मिल्दैन ।

रिटर्न अन इक्विटी हेर्ने हो भने घटेको छ
नारायणदास मानन्धर
प्रमुख कार्यकारी अधिकारी, प्राइम बैंक

यो अलिकति सोच्नुपर्ने विषय हो । यसमा बोल्ने मानिसहरूले यत्तिकै बोल्न मिल्दैनथ्यो । कारोबार कति गरेर कति नाफा कमायो, त्यो पो हेर्नुपर्छ त । पहिला कति कारोबार गथ्र्यो । अहिले कति कारोबार गर्छ अर्थात् कति कारोबार बढाएको छ । कति जोखिम लिएर लगानी गरिरहेका छन् । त्यसपछि पहिले कति नाफा कमाउँथे र अहिले कति कमाइरहेका छन् । त्यो हेरौँ न । त्यसले त अर्को अवस्था चित्रण गर्छ त ।
नियमन निकाय नेपाल राष्ट्र बैंकले कडिकडाउ गरेर राहत दिने भन्यो, हामीले त्यो पनि दिइरहेका छौँ । अनुशासनभित्र बसेर काम गरेका छाँै । यस्तो अवस्थामा पनि टिकेका छन् भनेपछि त झनै हामीहरूलाई प्रोत्साहन गर्नुप¥यो नि ।
हिजो बैंकले ३० अर्बको कारोबार गर्थे भने अहिले ५० अर्ब पुग्यो । त्यसपछि नाफा त देखिने भयो नि । पहिला स्प्रेड दर कति राख्थे, अहिले कति छ ? त्यो हे-यो भने पनि घटिरहेको छ ।
बैंकहरूले कति काम गर्छन् । कर्मचारी कति खटेका छन्, उनीहरूको व्यवस्थापन कस्तो छ । त्यो पनि हेर्नुपर्छ । हरेक बैंकका स्टाफहरू, कर्मचारीहरू अहोरात्र गरेर बैंकहरूलाई टिकाइरहेका छन् । ऋण धेरै परिचालन भए पनि नाफा त देखिन्छ नि । त्यसमाथि बैंकहरू त निकै पारदर्शी छन् । अन्यले कति अर्ब पुँजी लगाएर कति कमाएका छन् । त्यो हिसाब गरेनन् । बैंकहरूले खर्ब ऋण व्यवस्थापन गरिरहेका छन् । त्यसले धेरै नाफा देखाएको हो । तर, रिटर्न अन इक्विटी हेर्ने हो भने घटेको छ ।
यो बेलामा बैंकले आफूलाई बचाएर राखे । जनताको पैसालाई धरापमा पारेनन्, भनेर हेर्नुको सट्टा मानाँै शोषण ग¥यो भन्नु निकै गलत कुरा हो । यस्तो कुरा अबुझ मानिसहरूले मात्र गर्छन् । तर यहाँ त जान्ने–बुझ्ने बुद्धिजीवीदेखि राजनीतिज्ञ, व्यापारीहरू नै यस्तो खालको टीका–टिप्पणी गर्दै हिँडेको पाइएको छ । यसरी बुझेका मानिसहरूले पनि बैंकहरूमाथि आक्रमण गर्नु राम्रो कुरा होइन ।
व्यापारी, व्यवसायीहरू जहिले पनि बैंकले धेरै नाफा कमाए भन्छन् । भूकम्पको समयमा हाम्रा दाजुभाइ, दिदीबहिनीहरूलाई त्यत्रो आपत् प-यो । त्यस समयमा म यस्तो सहयोग गर्छु भनेर कोही अगाडि आएनन् । बरु बैंकहरूले विभिन्न राहतका प्याकेजहरू ल्याए । अर्बपतिहरू पनि व्यापारीहरू नै छन् । उनीहरूले एक रुपैयाँ सहयोग गरेनन् । माग के हुन्छ भने बैंकले ब्याज कम गरिदिनुप¥यो ।
त्यसमाथि बैंकमा हुने रकम जनताको हो । बैंक डुब्दा जनताको पैसा डुब्छ । बैंकमा खर्बौंको निक्षेप छ । लाखौंलाख मानिसको पैसा छ । लाखौंलाख मानिसको सेयर छ । बैंक डुबे त सबै डुब्छ त । सबै डुबून् भन्न खोजेको हो ? आपत्विपत्को समयमा अनुशासनमा बसेर राम्रो काम गर्नु त कहाँ हो कहाँ, सधैं उल्टो कुरा मात्र गर्छन् । मिनाहा दे मात्र भन्छन्; अर्थात् उनीहरू स्वार्थ केन्द्रित देखिएका छन् ।
साथै राजनीतिज्ञहरू पनि सस्तो लोकप्रियताका लागि जे पनि गर्न, भन्न तयार हुन्छन् । भोटका लागि जे पनि गर्ने प्रवृत्ति छ । आफ्नो विषयमा आफूलाई भए पुग्यो । बैंकमा बसेका कर्मचारीले अहोरात्र काम गरिरहेका छन् । त्यो देखेको छैन । बैंक घाटामा गए त्यसको प्रभाव कस्तो हुन्छ, त्यो देखेको छैन । त्यसैले बुझेर मात्र अभिव्यक्ति दिनु उचित हुन्छ ।

विगतको तुलनामा नाफा घट्दै गइरहेको छ
प्रध्युमन पोखरेल
प्रमुख कार्यकारी अधिकृत, मुक्तिनाथ विकास बैंक

नेपालमा नियामक निकायले नियमन गरेर जुन संस्थाहरू चलिरहेका छन्, काम कारबाहीहरू गरिरहेका छन्, त्यसमा सबैभन्दा धेरै पारदर्शी हिसाबले काम गर्ने र आफ्नो वित्तीय विवरण प्रकाशित गर्ने कुरामा बैंक तथा वित्तीय संस्थाहरू निकै नै अगाडि छन् जस्तो लाग्छ । अर्को कुरा, नेपालको जुन बैंकिङ प्रणाली छ, त्यो नेपाल आफूले बनाएको बैंकिङ प्रणाली होइन । संसारभरि चलेको वित्तीय प्रणालीअनुरूप हामीले पनि वित्तीय प्रणाली नियमनको अभ्यास गरिरहेका छौँ । त्यसैमुताबिक बैंक तथा वित्तीय संस्थाहरूले नेपालमा पनि काम गर्ने हो । त्यसैअनुरूप नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नियमन गरिरहेको हुन्छ, जसअनुसार बैंक तथा वित्तीय संस्थाले काम गर्ने भएकाले एकदमै पारदर्शी हिसाबले प्रस्तुत भएको देखिएको हो । यसको अर्थ बैंक तथा वित्तीय संस्थामा कुनै समस्या छ, रोग छ भन्नु जायज हो जस्तो लाग्दैन ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले बढी नाफा गरे भन्ने कुरा छ । त्यसलाई केही फरक तरिकाले हेर्नुपर्ने हुन्छ । कुनै पनि चिजको दुईवटा पक्ष हुन्छ, दुईवटा पाटो हुन्छ । नाफा मात्र हेरेर त भएन नि, नाफा गर्न भएको लगानी पनि हेर्नुप¥यो । कति लगानी गरेर कति नाफा आएको हो, त्यसलाई पो मूल्यांकन गर्ने हो त । साँच्चै भन्ने हो भने बैंक तथा वित्तीय संस्थाहरूले अहिले आर्जन गरेको नाफा धेरै हो जस्तो लाग्दैन । विगतदेखि तुलना गर्ने हो भने उल्टै घट्दै गइराखेको छ ।
हाम्रो लगानीलाई हेर्ने हो भने त अहिलेको नाफा निकै थोरै हो । ३ फिटको लट्ठीलाई भाँचेर त्यसलाई जोड्यो भने त्यो लठ्ठी बढी हुन्छ त, हुँदैन नि । सबैलाई जोड्यो भने पनि ३ फिटभन्दा बढी हुँदैन । बरु एउटा जोडेन भने कम हुन्छ । मैले भन्न खोजेको कुरा के हो भने यही बजारबाट बैंक तथा वित्तीय संस्थाले कारोबार गर्छन् । त्यसमा पनि नेपाल राष्ट्र बैंकको नियमनले स्पष्ट रूपमा कुन अवस्थामा नाफा देखाउन मिल्छ, कुन अवस्थामा मिल्दैन भनेर स्पष्ट रूपमा भनेको छ, जुन अन्तर्राष्ट्रिय मापदण्डअनुसार छ । त्यसैले लगानीको हिसाबले नाफा अझै थोरै हो ।
अहिले नाफा कमाए भनेर बैंकहरूमाथि हस्तक्षेप गरेर नतिजा निस्किँदैन । जुन क्षेत्रले राम्रो गरिराखेको छ, त्यो क्षेत्रलाई नकारात्मक रूपले हेर्नुभन्दा जुन क्षेत्रमा राम्रो गर्नुपर्ने छ, त्यसमा बढी ध्यान दियो भने राम्रो हुन्छ । हो, बैंक तथा वित्तीय क्षेत्रका केही कुरा सुधार गर्नुपर्ने छ । जस्तै उत्पादनशील क्षेत्रमा लगानी बढाउन सकिन्छ । अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनलाई काम गर्न सकिन्छ । त्यो विषयमा बैंक तथा वित्तीय संस्थाहरू लाग्नुपर्छ भन्नेमा दुईमत छैन । तर, त्यसमा बैंक तथा वित्तीय संस्थाहरू मात्र लागेर पुग्दैन । समग्र अर्थतन्त्र भयो । राज्यको नीति योजना सबैले सहयोग गर्नुपर्छ, अनि मात्र राज्य अगाडि बढ्छ । जहाँ सुधार गर्नुपर्ने छ, त्यहाँ सुधार गर्नुपर्छ । तर, राम्रो भएको क्षेत्रलाई तानेर नराम्रो बनाएर त्यसको तुलनामा अरूलाई राम्रो देखाउन खोजियो भने त्यसले द्वन्द्व सिर्जना गर्छ । राम्रो संकेत गर्दैन ।

प्रतिक्रिया दिनुहोस्