Logo

पार्टी एकताको पक्षमा नेता–कार्यकर्ता

नेकपा एमाले विवाद चर्कंदो छ । नेता कार्यकर्ता पार्टी एकताको पक्षमा छन् । तर पार्टीका शीर्ष नेता भने एक अर्कालाई आरोप लगाई पार्टी एक हुन अवरोध गरिहेका छन् । दिनप्रतिदिन गुट गुटका भेला भइरहेका छन् । पार्टी शीर्ष नेताले आफ्ना पक्षका नेतासँग कसरी पार्टी एकता गर्ने भन्ने विषयमा छलफल पनि गरिहेका छन् । माधव पक्षका केही नेता सम्मानजनक अवस्था नरहे पार्टी एकता नगरी अर्को पार्टी निर्माण गर्नुपर्ने मनस्थितिमा पुगेको देखिन्छ । तर समग्र कार्यकर्ताको मनस्थिति भने पार्टी एक होस् भन्ने चाहना छ । अध्यक्ष केपी ओली तथा माधव नेपालको ब्यक्तिगत झगडामा एमालेको चर्कंदो विवादका कारण पार्टी एक हुन सकेको छैन, टुट्न पनि सकेको छैन । यसले गर्दा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको नेकपा एमाले माधव समूहको अस्थिर प्रवृत्तिले मन्त्रीमण्डल पुनर्गठनमा समेत अवरोध सिर्जना गरेको छ । यसै सन्दर्भमा जिल्लास्थित नेकपा एमालेका नेताहरुसँग अबको एमालेका दिशाका बारेमा कारोबारकर्मीहरूले गरेको कुराकानीको सार :

सम्मानजनक पार्टी एकता समयको आवश्यकता हो
दीर्घबहादुर सोडारी
जिल्ला अध्यक्ष, नेकपा एमाले, कैलाली
मन्त्री, पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिम

म दृढतापूर्वक पार्टी एकताको पक्षमा छु । तर, माधव नेपालसहितको पार्टी एकता हुनुपर्छ । टुक्राटाक्रीमा एकतामा जाने भनेको केपी ओलीको षड्यन्त्र हो । यसमा कोही नेताहरू नलाग्न अनुरोध छ । हाम्रो केपी ओलीजीले पनि पार्टी एकता चाहेको हो भने माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम सबैलाई सम्मिलित गराउनुपर्छ । पछिल्लो समयमा त्यता पुगेर सरकारको नेतृत्व गर्न यता आउने हल्ला छ, त्यस्तो गर्नु हुँदैन । फुटाऊ र शासन चालाऊ होइन कि सबै नेतासहितको पार्टी एकता हुनुपर्छ । एमालेको एकता मात्रै होइन, नेकपाकै एकता गर्नुपर्छ । माओवादीका सबै नेता–कार्यकर्ता पनि अटाउने गरी पार्टी एकता गर्नुपर्छ । पहिले एमालेको एकता गर्नुप¥यो, सबै जना २०७२ जेठ २ मा जाने । सबैको सम्मान हुने गरी अगाडि बढ्ने र माधव नेपालले भनेजस्तै सबैको सम्मान हुने अवस्था सिर्जना गर्नुपर्छ । एकले अर्कालाई अपमान गर्ने, गालीगलौज गर्ने, भौतिक कारबाही गर्ने कम्युनिस्टहरूको कल्चर देखिन्छ । यस्तो हुनु हुँदैन । पार्टी एकता हुनुप¥यो । हामी सम्मानजनक पार्टी एकताको पक्षमा छौं । एमालेको एकतापछि माओवादी केन्द्रसहितको एकता गर्नुपर्छ र नेकपालाई कम्युनिस्टहरूको केन्द्र बनाउनुपर्छ ।
पार्टी एकता अझै पनि सम्भव छ । हिजो (शुक्रबार) हाम्रो केन्द्रीय समिटीका नेताहरू बसेर पार्टी एकताका निम्ति तयार हुने निर्णय गरेका छन् । खासगरी पार्टी अध्यक्ष केपी ओलीजीले पार्टी सदस्यता नवीकरण गर्ने, अरू–अरू कुरा पनि गर्ने, केके गर्दै पार्टीमा कोही आए आऊ, नआए नआऊ हामी अगाडि बढ्छौं भन्ने रबैया गरिरहनुभएको छ । त्यो रबैया उहाँले गर्नु भएन । नेपाली जनता एमालेको हित चाहन्छन् । एमालेलाई माया पनि गर्छन् । एमालेको हित चाहने हो भने उहाँले सम्मानजनक पार्टी एकता गर्नुपर्छ । सबैले उचित स्थान पायो भने नेपालमा कम्युनिस्टको भविष्य राम्रो छ । यदि पार्टी एकता भएन भने अहिले ओलीजीले जे तरिकाले गरिरहनुभएको छ, त्यो तरिका कारण पार्टी एकता हुँदैन । माधव नेपाललाई आउन दिँदैन भन्ने, बार्दलीमा गाली गर्ने, अरू मान्छेलाई आइजाऊ आइजाऊ भन्ने कुरा त फुटाउने र शासन गर्ने पुरानो चलन केपीले गर्न खोज्दै छन् । त्यस्तो कुराले पार्टी एकता सम्भव हुँदैन ।
पार्टी एकताका लागि कमरेड केपी ओलीजीले सबैलाई गालीगलौजको तहमा उत्रिनु भएन । सबैको सम्मानजनक स्थान हुनुप¥यो । हिजो जे कमी–कमजोरी भयो, त्यसको सबैले समीक्षा गर्नुप-यो । हिजो कम्युनिस्ट एकता गरेरै आएको हो । कमी–कमजोरी सबैले महसुस गर्नुप¥यो । सबै जना मिलेर जाऊँ । कम्युनिस्ट पार्टी बनाऊँ । पहिले एमाले मिलाऊँ, त्यसपछि माओवादी केन्द्रसहितको पार्टी एकता गरौं । अरू कम्युनिस्टहरूलाई पनि मिलाऊँ भनेर सबैले फराकिलो ढंगले अगाडि बढेपछि त पार्टी एकता सम्भव छ । मेरो गोरुको बाह्रै टक्का । म भइगएँ । म यस्तो गर्छु, उस्तो गर्छु भनेपछि त अर्को मान्छेले पनि आत्मसम्मान खोज्छ । आत्मसम्मान नभएपछि त जसले पनि विद्रोह गर्छ । त्यसो भएको हुँदा नेताहरूलाई हाम्रो अनुरोध के छ भने सबैलाई सम्मान गरेर पार्टी एकता होस् र हुनुपर्छ भन्ने पक्षमा हामी छौं ।
प्रस्तुति : मुकेश चौधरी

नेकपा एमाले आजसम्म एकताबद्ध रूपमा छ
बद्री मैनाली
जिल्ला अध्यक्ष, नेकपा एमाले, नुवाकोट

नेकपा एमाले आजसम्म एकताबद्ध रूपमा रहेको छ । एकताबाहिर छैन । पार्टीभित्रका केही मान्छेहरू सानो झुन्डमा रहेर आफ्नो स्वार्थमा लागेकाहरू पार्टीको हितविपरीत लागिरहेका हुन् । दुई धारमा आजसम्म एमाले छैन, एक धारमै छन् । केही व्यक्तिहरूले अर्थात् दुई-चार जनाले गरेको भेलालाई भेला मानिँदैन, नेकपा एमालेको आधिकारिक संस्थापन पक्षको जिल्लालगायत प्रदेश, संघको बैठकचाहिँ भइरहेको छ । तर, समानान्तर कमिटी निर्माण, बैठक-भेला भएको छैन । जिल्लामा पनि विभिन्न स्थानीय तहहरूमा एमालेका आफ्ना गतिविधिहरू सञ्चालन भइरहेका छन् । जिल्लाका सबै कार्यकर्ताहरू एकजुट छन्, केही नेताहरूलाई चित्त नबुझेका कारण पद र स्वार्थका लागि छुट्टिएका हुन् ।
कति ठाउँबाट कार्यकर्ताहरूको गुनासो पनि आएको छ, नआएको होइन । एकै घरभित्र भएपछि फरक मत, बिचार राखिरहेका हुन्छन् । सबै गुनासाहरू समाधान गर्न सकिँदैन, तर सकेसम्म गुनासाहरू सम्बोधन गर्ने, पार्टीमा सबैलाई मिलाएर लाने प्रयत्न गरिरहेका छौं । समग्र कार्यकर्ताहरू एमालेको सूर्य चिह्नमै जनताको बहुदलीय जनवादमै पार्टीको विधि, पद्धतिमा र मूल धार मूल संस्थापन पक्षमा आबद्ध छन् । नेकपा एमाले नुवाकोटको अध्यक्षका हैसियतले सबै नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा उचित स्थान छ, पार्टीको विधिविधान सर्कुलरअनुसार काम गर्न आग्रह गर्छु । एमालेमा दुई धार छैन, समानान्तर कमिटी पनि छैन । आम कार्यकर्ता साथीहरूलाई नअलमलिकन भ्रममा नपर्न आह्वान गर्छु । मूल धारकै पार्टीको विधिविधान, निर्देशनअनुसार पार्टीका बैठकहरू भएका छन् । त्यसैले आफ्ना गतिविधिहरू अगाडि बढाउनका लागि सबै तहका कार्यकर्ताहरूलाई अपिल गर्छु ।
प्रस्तुति : गमला लामा

एकता र फुटको सम्भावना बराबरी देखिएको छ
तुलसी गिरी
जिल्ला अध्यक्ष
नेकपा एमाले, रौतहट

नेकपा एमालेको एकताको सम्भावना बराबरी छ । पार्टीले गरेको १० बुँदे सहमतिमा दुवै पक्ष आए, सहमतिमा आए एकताको स्थिति रहन सक्छ । सहमतिभन्दा बाहिर गएर विभिन्न बखेडा झिकेर मुद्दा एकपछि अर्काे राखे भने पार्टी विभाजन हुने सम्भावना रहन्छ । कुनै कारणले पार्टी विभाजन भयो भने पनि माधव नेपाल पक्ष एउटा सानो हिस्सा चोइटिएर जाने मात्र हो । तमाम कार्यकर्ता नेकपा एमाले, सूर्य चिह्नमा रहनेछन् । केही नेताहरूले पार्टीमा अन्तर्घात गरेका छन्, पार्टीको विरुद्धमा जुन काम गरेका छन् त्यसबाट पार्टीका आम कार्यकर्ताले बुझिसकेका छन् । माधव पक्षले कार्यदलले दिएको १० बुँदे सहमतिलाई मान्दिनँ भन्दै बखेडा झिक्नु भनेको पार्टी एकता नहोस् भन्ने मनसाय रहेको बुझिन्छ । यदि १० बुँदे सहमति मान्नुभएन भने आफू कुन बाटो लाग्न मन छ, लागे हुन्छ ।
पार्टीका सबै औपचारिक कार्यक्रम अगाडि बढिरहेका छन् । पार्टीको राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन, प्रदेश अधिवेशन, पार्टीका जिल्ला, नगर, वडा अधिवेशन हुन्छन् । पार्टीको सदस्यता नवीकरण, वितरणका काम भइरहेको अवस्थामा पार्टीमा रहने, नरहे पार्टीको विधि, विधानअनुसार चल्ने भएकाले कसैको घुर्कीले पार्टीलाई असर पार्दैन । पार्टीमा कसैको अनावश्यक बार्गेनिङ, बखेडा सुनेर बस्ने अवस्था छैन । कसैका निम्ति पार्टी अनिर्णयको बन्दी बनेर बस्दैन । पार्टी गतिका साथ अगाडि बढ्छ । आफ्ना कमी–कमजोरी महसुस गरेर पार्टीमा रहन चाहनेहरू रहन्छन्, होइन भने आफ्नो बाटो लाग्दा पार्टीलाई असर पर्दैन । यदि आपूmले गरेको गल्ती स्वीकार नगरी अगाडि बढे आगामी दिनमा उनीहरूलाई जनताले सजाय दिनेछन् ।
नेकपाको कम्युनिस्ट आन्दोलन मात्र होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको मूल धार नेकपा एमाले हो । देशको सबैभन्दा ठूलो पार्टीका रूपमा रहेको नेकपा एमाले जनताको लोकप्रिय पार्टी भएकाले यतिखेर पार्टीका अध्यक्ष केपी शर्मा ओली रहनुभएकाले प्रतिक्रियावादीहरूको गठबन्धनको विरुद्धमा आमजनता रहेका छन् । पार्टीभित्रका अन्तर्घातीले पार्टीलाई अन्तर्घात गरेर प्रतिक्रियावादीलाई सेवा गर्न गएको लेखाजोखा जनताले राखेका छन् । जनताको प्यारो पार्टी नेकपा एमाले फेरि पनि लोकप्रिय मतका साथ दुईतिहाइ बहुमत ल्याएर फेरि जनताकै माझ आउनेछ । पार्टीका अन्तर्घाती चोइटिएर गए पार्टी कमजोर हुन्छ कि भन्ने चिन्ता गरे पनि त्यस्ता व्यक्तिहरू पार्टीभित्र रहे पार्टीलाई क्षति गर्ने र अन्तर्घाती गर्ने भएकाले त्यस्तालाई पार्टीमा राख्नु हुँदैन । यदि त्यस्ता अन्तर्घातीहरू पार्टीमा रहन्छन् भने त्यस्ताले पूरै आफ्नो गल्ती स्वीकार गरेर आइन्दा त्यस्ता अन्तर्घाती, प्रतिक्रियावादीलाई सेवा नगर्ने वचनबद्धता गर्छन् भने पार्टी एकता हुन सक्छ । पार्टी एकता चाहेका हुन् कि आफ्नो स्वार्थ चाहेका हुन्, प्रस्ट हुन जरुरी छ ।
नेकपा एमाले एउटा समुद्र हो । त्यसबाट एक लोटा पानी पोखिँदैमा समुद्र सुक्दैन भन्ने कुरा बुझ्न जरुरी छ । पार्टीको महाधिवेशनबाट निर्वाचित भएका नेताहरूलाई पार्टीले सम्मान दिएको अवस्थामा सम्मानजनक एकता भन्नुको अर्थ रहन्न । महाधिवेशनबाट निर्वाचित जुन पदमा छन् सोही पदमा रहेकाले सम्मानजनक एकताको अर्थको कुनै तुक रहन्न । यदि माधव नेपाल अध्यक्ष बन्ने इच्छा छ भने महाधिवेशनमा आएर चुनावमा प्रतिस्पर्धा गरे भइहाल्यो नि ! नेकपा एमालेका नेताहरू जता गए पनि जनता नेकपा एमाले, सूर्य चिह्न छोडेर बाहिर जाँदैनन् । त्यसैले तमाम इमानदार पार्टी कार्यकर्ताहरूले माधव नेपालले पार्टी छोडेर गए पनि आफुहरू नेकपा एमाले र सूर्य चिह्न छोडेर बाहिर नजाने प्रतिबद्धता जाहेर गरेका छन् ।
प्रस्तुति : सुब्बा कार्की

पार्टीलाई पुनर्गठित गरी एकताबद्ध हुँदै अघि बढ्नुपर्छ
शिवराज सुवेदी
अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (एमाले), रुपन्देही

कोरोना महामारीको दोस्रो लहर अझै छ र त्यसको सामना गरिरहेका छौं । गत वर्षदेखि नै राजनीतिक अस्थिरता फेरि निम्तिने पो हो कि भनेर नागरिकमा एक प्रकारको आशंका र निराशा थियो ।
हामीले यसका बारेमा यसअघि नै पार्टी कमिटीका बैठकमा व्यक्त धारणाहरूलाई लिएर पार्टी पंक्ति एवं आमनागरिकमा उत्पन्न चासो र चिन्ताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै आएका छौं ।
अहिले जे भएको छ गलत भएको छ, यसले नेपालको सिंगो बामआन्दोलनलाई लज्जाबोध गराएको छ । नेपालमा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै समाजवाद स्थापनाको ऐतिहासिक कार्यभारसहित मुलुकका सबै कम्युनिस्ट पार्टीहरू र कम्युनिस्ट विचारधारा राख्नेहरूलाई नेकपा नाम राखी एकै पार्टी बनाई अघि बढ्ने कार्यदिशा जुन थियो र अघि बढेको पनि थियो, त्यस आन्दोलनमा साथ नदिँदा अहिले सिंगो वाम आन्दोलनलाई कमजोर बनाउने दुष्प्रयास भइरहेको छ, यो जगजाहेर नै छ, कही लुकेको छैन ।
अब पार्टी एकताको विषयमा धेरै ल्याङल्याङ गर्नु हुँदैन । पार्टीलाई जीवन्त बनाउन, गतिशील बनाउन जरुरी छ । त्यो भनेको एकताबाट सम्भव छ । अब पार्टीलाई पुनर्गठन गरी अघि बढ्नुपर्छ । पार्टी सदस्यता नवीकरण गर्दै एकतालाई मध्यनजर गरेर अघि बढ्नुको बिकल्प छैन अब । नेपाली आम आन्दोलनका रूपमा स्थापित नेकपा एमालेलाई अगाडि बढाउनुपर्छ अब । छाडेर जान चाहनेलाई रोक्न सकिँदैन । रुष्ट भएकाहरूलाई पार्टीमा फर्क भन्नुपर्छ । संस्थागत निर्णयमा आउनुपर्छ । पार्टीभित्रै अन्तरसंघर्ष जारी राख । आफ्ना भनाइहरू पार्टी पद्धतिमार्फत राख । गतिशीलता र क्रियाशीलताले अस्तित्व निर्माण गर्छ । अस्तित्वले पहिचान बनाउँछ । नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको पहिचानका रूपमा रहेको नेकपा एमाले नेपाली जनताको मनमनमा स्थापित सूर्य चुनाव चिह्नसहितको पार्टीलाई अघि बढाउनु छ ।
जनताले पत्याएका कार्यकर्ता, कार्यकर्ताले पत्याएका नेताहरूको पार्टीले मात्रै जनतासँगको सुमधुर सम्बन्ध कायम गर्न सक्छ र जनताको हितका निम्ति काम गर्न सकिन्छ । अब जनतालाई भ्रममा पार्नु हुँदैन । पार्टी फुटाउन चाहेकै हो भने जान सक्नुहुन्छ । अब एकताका लागि धेरै ल्याङल्याङ गर्नु भएन ।
सबै एकैनासका हुँदैनन, कोही जोगी हुन्छन्, कोही डाक्टर, मास्टर, इन्जिनियर हुन्छन्, आ–आफ्नो बाटो लाग्छन्, उहाँहरू पनि रुष्ट भएर जानै खोजेको हो भने आ–आफ्नो बाटो लाग्नुहुन्छ । तर, नेपाली जनतालाई धोका नदेऊ । वाम आन्दोलनलाई धोका नदेऊ । कसैको बहकाउमा आएर एकता भाँडने काम पनि नगर । नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ एकताबद्ध गर्दै इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न हामी नेतृत्वलाई आमकार्यकर्ताका तर्फबाट हार्दिक अपिल गर्छाैं ।
कोभिड–१९ को महामारीको समयमा अहिले ऐक्यबद्ध भएर एकताका साथ अगाडि बढ्नु आजको मूल कार्यभार हो । यस विषयमा नेतृत्वलाई थप जिम्मेवारीका साथ एकताबद्ध हुन, सहमतीय पद्धति अवलम्बन गर्न, पार्टीपंक्ति र आमजनतामा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा राख्न म नेतृत्वपंक्तिलाई आग्रह गर्छु । रुष्ट भएकाहरू पार्टीमै फर्कनुस् भन्छु । तर, बाटो फेरिएकै हो भनी जहाँ पनि जान सक्नुहुन्छ, तर आवश्यकता एकता हो ।
प्रस्तुति : मनोरञ्जन शर्मा

प्रतिक्रिया दिनुहोस्