नयाँ हवाई रुटमै नेपालको जोड «

नयाँ हवाई रुटमै नेपालको जोड

भारतीय र नेपालका उड्डयन मन्त्रीबीच वार्ता आज

नयाँ हवाई रुटको विषयमा भारतीय उड्डयन मन्त्रीसँग बुधबार दुईपक्षीय छलफल हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय उड्डयनमन्त्री सुरेश प्रभाकर प्रभुबीच साइडलाइन वार्ता हुने भएको छ । ‘ग्लोबल एभिएसन समिट २०१९’ भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अधिकारी भारत भ्रमणमा गएका छन् ।
समिटमा विश्वभरका उड्डयन क्षेत्रका विज्ञहरू सहभागी छन् । मंगलबारबाट सुरु भएको समिटमा मन्त्री अधिकारीले हवाई क्षेत्रमा छिमेकी राष्ट्र भारतसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए । बुधवार दुई देशका मन्त्री स्तरमा छलफल हुने र सो छलफलमा हवाई रुट मुख्य विषय भएको प्रतिनिधिमन्डलका सदस्य तथा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।
बुधबार मन्त्री अधिकारीले नयाँ हवाई रुटको विषयमा भारतीय उड्डयन मन्त्रीसँग साइडलाइन वार्ता गर्न लागेका हुन् । गत असोजमा नेपाली र भारतीय प्राविधिक टोलीबीच भएको वार्ता भाँडिएको थियो । वार्ता भाँडिएसंगै नयाँ हवाई रुट खोल्ने विषय टर्दै गएपछि प्रधानमन्त्री स्तरबाटै पुनः पहल सुरु भएको थियो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली समेतले छलफल गरेका थिए । भारतपक्षले प्राविधिक स्तरको वार्तामा अहिले रुट दिन नसक्ने जनाउ दिँदै नेपाल पक्षलाई फिर्ता गरेको थियो ।
वार्ता असफल भएको चार महिनापछि पुनः हवाई रुट खोल्ने विषयमा परराष्ट्र, तालुक मन्त्रालय र प्रधानमन्त्रीस्तरबाट छलफल सुरु भएको थियो । नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने सैद्धान्तिक सहमति भएको झन्डै पाँच वर्ष भइसकेको छ । दुई वर्ष अगाडी नेपाल र भारतीय प्रतिनिधिबीच भएको दुईपक्षीय वार्तामा नयाँ हवाई रुट थप गर्न सहमति समेत भएको थियो । तर हालसम्म पनि कार्यन्वयनमा भने आउन सकेको छैन । कार्यन्वयन गर्ने अन्तिम प्राविधिक वार्ता भाँडिएपछि नयाँ रुट खुल्ने विषय पुनः टर्दै आएको छ ।
भारतले तत्कालको लागि नेपालगन्ज रुट प्रयोग गर्न दिने भने पनि गत असोजमा भएको वार्तामा कुनै पनि रुट नदिने जनाऊ भारतीय पक्षले जानकारी गराएको थियो । चार वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको अवसरमा नयाँ हवाई रुट दिने बताएका थिए । उक्त समयमा ६ महिनामा टुंग्याउने बताएको भए पनि हालसम्म कार्यान्वयनमा भने आउन सकेको छैन । गत भदौमा नेपालमा सम्पन्न भएको विमिस्टेक सम्मेलनमा समेत प्रधानमन्त्री मोदीले नयाँ हवाई रुट दिने जनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तामा समेत उक्त विषयले प्रवेश पाएको थियो । सम्मेलन लगत्यै भएको प्राविधिक वार्ता भने भाँडिएको थियो ।
नेपालले भारतसँग जनकपुर, महेन्द्रनगर, नेपालगन्ज र भैरहवाको हवाई रुट माग्दै आएको छ । जनकपुर र नेपालगन्ज दिन भारत तयार भएपनि भैहरवाको रुट भने दिन नसक्ने यसअघि नै बताइसकेको छ । पछि भएका वार्तामा सुरक्षाको कारण देखाउँदै नेपालगन्ज र जनकपुर रुटसमेत दिन नसक्ने जानकारी भारतीय पक्षले दिएका थिए ।
नेपालले निर्माण जारी राखेका भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट अत्यावश्यक छ । हाल सिमराबाट मात्रै हवाई रुट खुला छ । गत वर्षको सहमतिमा महेन्द्रनगरबाट बाहिरिन दिने सहमति भएको थियो । उक्त सहमतिसमेत कार्यन्वयनमा छैन ।
भारत ट्रान्स हिमालयन रुट–२ समेत खोल्न तयार भइसकेको छ । तर, म्यानमार र भुटानको समेत सहमति आवश्यक पर्ने भएकोले उक्त रुट खुल्ने विषयमा कुनै प्रगति भएको छैन । काठमाडौं–महेन्द्रनगर–दिल्ली (एल–६२६) दोहोरो रुट हो । यस्तै, ल्हासा–काठमाडौं–भरतपुर–भैरहवा–दिल्ली रुट (बी–३४५) छ भने काठमाडौं–जलेश्वर–पटना (जी– ३३५) रुट हो ।

प्रतिक्रिया दिनुहोस्