पशुपालक कृषकको बजेट अन्यत्रै विनियोजन «

पशुपालक कृषकको बजेट अन्यत्रै विनियोजन

पशुपालक कृषकको बजेट अन्यत्रै विनियोजनपशुपालक कृषकको बजेट अन्यत्रै विनियोजनअमृत अधिकारी पाल्पा, १ माघजिल्लाका गाउँपालिका र नगरपालिकाले केन्द्रबाट पठाएको बजेट कटौती गर्दै अनुत्पादक क्षेत्रमा लगाएका छन् । केन्द्रले जिल्लाका गाउँपालिका र नगरपालिकालाई कृषि, पशुपालन, उद्योग, सहरी विकासलगायतका क्षेत्रमा पठाएको बजेट कटाएर अनुत्पादक क्षेत्र सडक र अन्य क्षेत्रमा खर्च गरेका हुन् । जिल्लाका पशुपालक, दुग्ध उत्पादक, कुखुरा, बाख्रापालक तथा तरकारी, कृषि पेशामा आबद्ध कृषकहरूले बजेट स्थानीय सरकारले अन्यत्र लगाएको भन्दै विरोधसमेत गरेका छन् । 

नेपाल कृषिप्रधान देश भएको र कृषिबाटै देशको आर्थिक समृद्धि र विकास हुने नारा भजाएका राजनीतिक दलका प्रतिनिधिहरू नै स्थानीय सरकार प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा वडा सदस्य भएपछि झ्न कृषकको लागि भनेर केन्द्रबाट विनियोजित बजेटलाई समेत अन्यत्रै लगाएका हुन् । 

जिल्लाका पशुपालक कृषकहरूले केन्द्रीय तहबाट पठाएको बजेटसमेत गाउँपालिकाले अन्यत्रै खर्च गरेकोमा ध्यानाकर्षण गराउँदासमेत माग सुनुवाइ नभएको गुनासो गरेका छन् । जिल्लाका स्थानीय तहका लागि भनेर पशुपंक्षी विकास मन्त्रालय र कृषि विकास मन्त्रालयबाट प्राप्त रकमको ५ प्रतिशत पनि सम्बन्धित शीर्षक र कार्यक्रममा विनियोजन नगरेको पाइएको छ । 

जिल्लाका १० स्थानीय तहमध्ये रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले बाहेक मन्त्रालयले पठाएको बजेट व्यापक कटौती गरेर विनियोजन गरेका हुन् । तानसेन नगरपालिकालाई आव ०७४-७५ का लागि पशु विकास मन्त्रालयबाट ७९ लाख ६७ हजार ९३० रुपैयाँ बजेट पठाएकोमा १२ लाखमात्रै विनियोजन गरेको छ । यस्तै पूर्वखोला गाउँपालिकाले ५२ लाख ७५ हजार रुपैयाँ बजेट पठाएकोमा १२ लाखमात्रै विनियोजन गरेको छ । रम्भा गाउँपालिकाले केन्द्रबाट १६ लाख ९२ हजार ५७० रुपैयाँ बजेट पठाएकोमा २ लाख  ८२ हजार २२४ रुपैयाँमात्रै विनियोजन गरेको छ । माथागढी गाउँपालिकाले २४ लाख ७२ हजार रुपैयाँ बजेट पठाएकोमा ७ लाखमात्रै विनियोजन गरेको छ ।

तिनाउ गाउँपालिकाले ३४ लाख ७६ हजार रुपैंया बजेट पठाएकोमा २० लाखमात्रै विनियोजन गरेको छ । बगनासकाली गाउँपालिकाले ४६ लाख १९ हजार रुपैयाँ बजेट पठाएकोमा २१ लाखमात्रै विनियोजन गरेको छ । रिब्दीकोट गाउँपालिकाले २८ लाख २६ हजार रुपैयाँ बजेट पठाएकोमा ९ लाखमात्रै विनियोजन गरेको छ । रैनादेवी छहरा गाउँपालिकाले ७२ लाख ४४ हजार रुपैयाँ बजेट पठाएकोमा ८ लाखमात्रै विनियोजन गरेको छ ।

रैनादेवी छहरा गाउँपालिकाले पनि पालिकाले नछुट्याएर वडापालिकाबाट यो बजेट विनियोजन भएको हो । पशु विकास मन्त्रालयबाट ४ करोड ४९ लाख ७३ हजार ५७३ बजेट पठाएकोमा जिल्लाका स्थानीय तहहरूले कुल १ करोड ७४ लाख ९३ हजार ५२५ रुपैयाँमात्रै सम्बन्धित शीर्षकमा बजेट विनियोजन गरेका हुन् । रामपुर नगरपालिकाले भने मन्त्रालयबाट विनियोजित बजेटको सतप्रतिशत नै ५६ लाख ५४ हजार १ विनियोजन गरेको छ यस्तै निस्दी गाउँपालिकाले ३७ लाख ४५ हजार पठाएकोमा २६ लाख ४७ हजार २४० रुपैयाँ विनियोजन गरेको हो । 

यसरी मन्त्रालयबाट आएको बजेटसमेत किसान र लक्षित समुदायलाई विनियोजन नगरेर कृषकप्रति राजनीतिक दल र स्थानीय सरकार गैरजिम्मेवार भएको प्रमाणित भएको छ, बगनासकाली गाउँपालिका–८ बराङ्दीकी कृषक विमला बस्यालले भनिन्, “हामीले ध्यानाकर्षण गराउँदासमेत कुनै सुनुवाइ भएको छैन ।

” विगतका वर्षमा ४-६ पटक बजार अनुगमन हुन्थ्यो, पशुपालक कृषक र मासु व्यवसायीलाई समेत अनुदान र सहयोग हुँदै आएको थियो, मासु व्यवसायी समिति पाल्पाका अध्यक्ष दलबहादुर राजपुतले भने, “अहिले तानसेन नगरपालिकाले किसानलाई बेवास्ता गर्दै आएको बजेट पनि अन्यत्र विनियोजन गरेको छ, जसले स्थानीय किसान र लाभग्राही मर्कामा परेका छन् । उपभोक्ता मञ्च पाल्पाका अध्यक्ष तथा नागरिक समाजको तर्फबाट बजार अनुगमन सदस्य माधव नेपालले किसानका समस्याका विषयमा अब छिट्टै नै स्थानीय तहमा डेलिगेसन गएर भए पनि बजेटलाई सही रूपमा लगाउने बताए । 

उपभोक्ता हित संरक्षण मन्च पाल्पाका अध्यक्ष कृष्ण अधिकारीले स्थानीय तहका जनप्रतिनिधिले कृषकलाई आएको बजेट अन्यत्र बाड्न नहुने बताउँछन् । उनले मन्त्रालयबाट आएको बजेट शीर्षकगत र शाखाको कार्यक्षेत्रमै बाँड्नुपर्ने बताउँछन् ।  जिल्ला पशु सेवा कार्यालयका प्राविधिक डा. उत्तम आचार्यले कार्यालयले किसानलाई बजेट विनियोजनका लागि स्थानीय तहहरूमा पहल गरेको भए तापनि कुनै सुनुवाइ नभएको बताए । 

प्रतिक्रिया दिनुहोस्