विद्यालय पुनर्निर्माणले गति लिँदै «

विद्यालय पुनर्निर्माणले गति लिँदै

बागलुङ-भूकम्पले क्षति पुर्याएका यहाँका विद्यालय भवनको पुनर्निर्माणले गति लिएको छ । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार यो वर्ष ४० विद्यालयको पुनर्निर्माण सुरु भएको छ । गत आवमा २६ विद्यालयको पुनर्निर्माण सकिएको छ ।
चालू आवमा चारकोठे १७, तीनकोठे पाँच र दुईकोठे भवन १८ वटा निर्माण हुने क्रममा छन् । “सम्झौता भएर काम अघि बढेको छ,” एकाइका निमित्त प्रमुख इन्जिनियर रामाशिष साहले भने, “आउँदो असारभित्र सक्ने लक्ष्य छ ।” अघिल्लो वर्षका थप दुई विद्यालय भवनसमेत क्रमागत योजनाअन्तर्गत निर्माणाधीन छन् । प्राधिकरणले चारकोठे भवनका लागि बढीमा ७० लाख ४० हजारसम्म अनुदान उपलब्ध गराएको छ । त्यस्तै तीनकोठेका लागि बढीमा ३५ लाख ८० हजार र दुईकोठेका लागि २३ लाख ९० हजारसम्म अनुदानको व्यवस्था छ ।
चारकाठे भवन पक्की (आरसिसी) हुने र तीन र दुईकोठे भवन ‘ट्रष्ट’ को हुने जनाइएको छ । जिल्लामा भूकम्पले भत्काएकामध्ये अझै ७२ वटा विद्यालय पुनर्निर्माणको पखाइमा छन् । ‘‘माग भईआएका सबैको सिफारिस प्राधिकरणमा पुगेको छ,” इञ्जिनीयर साहले भने, “यो वर्ष ४० को स्वीकृत भयो, बाँकी अर्को वर्ष हुन्छ ।”
भूकम्प गएको दुई वर्षपछि जिल्लामा आयोजना एकाइ स्थापना भएका कारण पुर्निनर्माणमा ढिलाइ भएको हो । विद्यालय पुनर्निर्माण गर्दा भौगोलिक अध्ययन, ‘डिजाइन’, लागत अनुमान स्वीकृत गर्नुपर्ने प्रावधान छ । क्षतिको अवस्था, विद्यार्थी अनुपातजस्ता आधारमा अनुदानको प्राथमिकता निर्धारण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्