खोटो निकासीमा कडाइ «

खोटो निकासीमा कडाइ

हेटौंडा-मकवानपुरको कैलाश गाउँपालिकाबाट वर्षौंदेखि अनाधिकृत रूपमा सल्लाको खोटो संकलन भइरहेकोमा त्यसलाई नियमन गर्न गाउँपालिकाले चासो देखाएको छ । गाउँपालिकाको वडा नम्बर १, २, ३ र ८ मा नियमित रूपमा खोटो संकलन हुँदै आइरहेको छ ।
गाउँपालिकाले चालू आवको आर्थिक ऐनमा खोटो संकलनका लागि इच्छुक फर्म तथा कम्पनीहरू गाउँपालिकामा सूचिकृत हुनुपर्ने व्यवस्था गरेको छ । तर, सूचिकृत नै नभई अनाधिकृत रूपमा खोटो संकलन तथा निकासी हुने गरेको भन्दै गाउँपालिकाले नियमन गर्न सुरु गरेको हो । सल्लाको खोटो संकलनपछि बिना अनुमति निकासी गर्न लागेको भन्दै सोमबार एउटा ट्रक नियन्त्रणमा लिएको छ । ना ५ ख ७७४ नम्बरको ट्रक गाउँपालिकासँगको समन्वयमा भार्ता प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । कैलाश गाउँपालिका–३ खिर्कीबाट सल्लाको खोटो लोड गरी हेटौंडा जाने तयारी भइरहेको अवस्थामा ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गाउँपालिकाले प्रहरीसँग समन्वय गरी अनाधिकृत रूपमा खोटो संकलन गर्ने कार्यलाई रोक्ने र सम्बन्धित फर्म तथा कम्पनीलाई नियमन गरिने गाउँपालिका अध्यक्ष टंक मोक्तानले बताए । केही वर्षदेखि कैलाश वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी रूपमा खोटो संकलन भइरहेको र आफूहरू त्यसलाई व्यवस्थित गर्न लागिपरेको अध्यक्ष मोक्तानले बताए । उनका अनुसार गाउँपालिकाले आर्थिक ऐन २०७५ ले खोटो संकलन कार्यका लागि वैैधानिक व्यवस्था गरेको छ । तर, खोटो संकलनका लागि कुनै पनि फर्म तथा कम्पनी गाउँपालिकामा सूचिकृत भएका छैनन् ।
गाउँपालिकाको आर्थिक ऐन २०७५ को दफा ६ को अनुसूची ५ बमोजिम खोटो तथा जडिबुटीहरू संकलन गर्न पाउने कानुनी व्यवस्था छ । जसअनुसार प्रतिकेजी ५० रुपैयाँ राजस्व गाउँपालिकालाई बुझाउनुपर्ने हुन्छ । तर, हालसम्म कुनै पनि फर्मले कर तिर्ने गरेका छैनन् । खोटो संकलनका लागि साना सल्लाका रुखमा समेत ट्यांकी झुण्ड्याइने गरेको र त्यसले सल्लाको रुखको वृद्धि विकासमा असर पुग्ने भन्दै स्थानीयले समेत विरोध गर्दै आएका छन् ।
सल्लाको खोटोमा रोजिन र टरपेन्टाइनको मात्र हुन्छ । टरपेन्टाइन विशेष गरी औषधि उत्पादन, अत्तर उद्योग, सल्लाको सिन्थेटिक तेल, किटनाशक औषधि, पदार्थको प्रकृति परिवर्तन सामग्री आदि कार्यमा घोलकको रूपमा प्रयोग गरिन्छ । त्यसैगरी खोटोमा हुने रोजिनको मात्राबाट कागज, साबुन, श्रृंगारका सामग्री, रंग–रोगन, रबर, पोलिस आदिको उत्पादनमा प्रयोग गरिन्छ । यसबाहेक अन्य पदार्थको उत्पादनको प्रक्रियामा पनि रोजिनको प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्