प्रदेश २ को नीति आयोग अझै अपूर्ण «

प्रदेश २ को नीति आयोग अझै अपूर्ण

प्रदेश सरकारको कार्यकालको उत्तरार्धमा पनि प्रदेश नम्बर २ को नीति तथा योजना आयोगमा अझै पदाधिकारी नियुक्त गर्न सकेको छैन । प्रदेश सरकारले आफ्नो प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति, रणनीतिक विषय क्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पुर्याउने मुख्य जिम्मेवारी दिएर “प्रदेश नीति आयोगको गठन तथा कार्य संचालन ऐन, २०७५” अनुसार प्रदेश नीति आयोगको गठन भएको हो ।


तर प्रदेश सरकारको कार्यकाल सकिन १७ महिना बाँकी हुँदा पनि अझै पदाधिकारी अपूर्ण रहेको छ । प्रदेश सरकारले आयोगको नामाकरण प्रदेश नीति तथा योजना आयोग बनाएको थियो । प्रदेश सरकारका मुख्यमन्त्रीको अध्यक्षता रहने आयोगमा प्रदेश सरकारबाट नियुक्त एक जना उपाध्यक्ष, कम्तिमा एकजना महिला सहित बढिमा ५ जना सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव सदस्य सचिव रहने गरी आयोग गठन हुने संवैधानिक व्यावस्था छ । आयोगको आर्थिक तथा दैनिक प्रशासनिक काम कारवाही संचालन गर्न एक सचिवालय रहने व्यवस्था छ ।
तर, प्रदेश २ सरकारका आर्थिक मामिला मन्त्री विजय यादवले भने आवश्यकता अनुसार नियुक्त गर्ने गैरजिम्मेवार जवाफ दिएका छन् । उनले भने, ‘सरकारले नियुक्त गर्ने हो, यसमा आवश्यकता अनुसार नियुक्त गर्छ । अहिले आवश्यकता नभएर नियुक्त नगरेको हो ।

सरकार गठनभएपछि पहिलो पटक डाक्टर हरिवंश झालाई उपाध्यक्षमा नियुक्त गरेको थियो । त्यसमा राजकुमार लेखी, डाक्टर सुरेन्द्र झा, मोहनलाल चौधरी, डाक्टर वैजनाथ महतोलाई सदस्य नियुक्त गरिएको थियो । नीति आयोगका पूर्व सदस्य राजकुमार लेखी सरकारको मन्त्रीले दिएको जवाफ गैर जिम्मेवारपूर्ण रहेको बताए । उनले भने, ‘आयोगमा नियुक्त संवैधानिक व्यावस्था अनुसार हुने हो । कुनै सरकारको आवश्यकता अनुसार हुने होईन ।’
प्रदेश सरकारले नियुक्त गरेको नीति आयोगका पदाधिकारीहरुले सरकारको कार्यशैली मन नपरेको भन्दै राजिनामा दिएका थिए । उनीहरुले सरकारले गरेको कामको पारदर्शितामा प्रश्न उठाउन थालेपछि सरकार नीति आयोगका पदाधिकारीहरुसँग असन्तुष्ट थियो । संवैधानिक व्यावस्था अनुसार सरकारले नीति आयोगलाई चल्न नदिने देखेपछि पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका थिए ।


त्यसपछि डाक्टर भोगेन्द्र झालाई उपाध्यक्षमा नियुक्त गरेर काम चलाउदै आएको प्रदेश सरकारले केही दिन अघि मात्रै दुईजना सदस्य नियुक्त गरेको छ । पछिल्लो पटक वैधनाथ महतो र महिला सदस्यमा प्रमिला कुमारी सिंहलाई नियुक्त गरेको छ । अहिले नीति तथा योजना आयोगको प्रदेश सचिवको रुपमा केशव विमलीले दैनिक आर्थिक प्रशासनिक कामहरुको हेरिरहेका छन् । नीति आयोगमा पदाधिकारी अपूर्ण रहेपनि दैनिक कार्यसम्पादनमा खासै समस्या भने नभएको सचिव विमलीले बताए । तर, कुनै नीतिगत निर्णयहरु गर्नुपरेमा भने समस्या आउन सक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्