ताप्लेजुङ प्रशासनको राहदानी दस्तुर ३ करोड १५ लाख «

ताप्लेजुङ प्रशासनको राहदानी दस्तुर ३ करोड १५ लाख

जिल्ला प्रशासन कार्यालयले राहदानी वितरणबाट ३ करोड १५ लाख ५ सय रुपैयाँ जम्मा गरेको छ । प्रशासनले प्रकाशन गरेको वार्षिक प्रशासन बुलेटिन (२०७७/७८) मा राहदानी दस्तुर जम्मा गरेको उल्लेख छ ।


कार्यालयमा पेश भई ५ सय ३९ जनाको राहदानी जारी गरेको हो । द्रुत सिफारिस ४ सय ३७ जनाको गरेको छ । कार्यालयले ४ सय ९७ जनाको राहदानी वितरण गरेको छ । ४ सय १३ जनाको वितरण गर्न बाँकी छ । यसैबिच विपदबाट पीडित परिवारलाई २९ लाख १५ हजार रुपैयाँ राहत रकम (३ जना मृतकसहित) प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । आगलागी, बाढिपहिरो, हावाहुरी र चट्याङ्बाट पीडित ९२ घरपरिवारलाई उक्त रकम प्रदान गरेको हो । आगलागीका ८४ वटा घटना भएकोमा १ जना घाइते छन् । बाढि पहिरोका ७ वटा घटनामा २ जनाको मृत्यु भएको छ । हावाहुरी र चट्याङले १ जनाको मृत्यु भएको उल्लेख छ ।


गत आ.व.मा प्रशासनले सेवाप्रवाह गरेका विषयलाई बुलेटिनमा समावेश गरेको छ । कार्यालयमा डिजिटल नागरिक वडापत्र, िवद्युतीय हाजिरी तथा सुशासन र सुरक्षाका लागि सीसी टिभी व्यवस्थापन गरेको छ । महिला तथा गर्भवती र बच्चाका आमा सेवाग्राहीलाई स्तनपान कक्ष स्थापना गरेको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीका लागि सूचनामूलक जानकारी प्रदान गर्ने गरिएको छ ।


तयार भई आएको राहदानीको सम्बन्धि सूचना सेवाग्राहीलाई एसएमएस जानकारी गराउने गरेको छ । आपतकालिन मनसुन, आगलागी जोखिम न्यूनीकरण एवंम कोभिड–१९ रोकथाम तथा नियन्त्रण कार्ययोजना–२०७८ तयार गरि कार्यान्वयन गरेको प्रमूख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । शान्ति सुरक्षा तथा सुव्यवस्था,सीमा प्रशासन,कारागार प्रशासन, सुशासन र सेवाप्रवाहमा ध्यान केन्द्रित गरेको छ ।


यसैबिच गत आ.व.मा ४ हजार ९ सय ३६ जनाले नागरिकता जारी गरेको छ । तीमध्ये बंशजको नागरिकता २ हजार ८ सय २३,वैवाहिक अंगिकृत नागरिकता ५ र प्रतिलिपी नागरिकता २ हजार १ सय ८ वटा जारी गरेको बुलेटिनमा उल्लेख छ । प्रशासनमा अभद्र व्यवहार मुद्धा ५२ वटा, सार्वजनिक उपद्रयाइँ गरी अभद्र व्यवहार गरेको १ वटा र केही सार्वजनिक अपराध १ वटा गरि ५४ वटा मुद्धा दर्ता भएको छ ।


२०७७ साउन १३ गतेदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरुभएयता २८ हजार ११ जनाको परिचय पत्र जारी गरेको छ । सदरमुकामवाहेक गाउँपालिकास्थित केन्द्र तथा व्यापरिक नाकामा ७ पटकमा ८६ वटा पसलको अनुगमन गरेको छ । अन्तराष्ट्रिय सीमा र अन्तर जिल्लासँग सुरक्षा समन्वय बैठक समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्