इलामबाट तराई झर्ने दूरी घट्यो «

इलामबाट तराई झर्ने दूरी घट्यो

इलाम-इलाम बजारबाट तराई पुग्न अब आधा दूरी घट्ने भएको छ । इलाम नगरपालिका–९ को भञ्ज्याङ, राकसे हुदै बेलासे पुग्ने १० किमि नयाँ ट्रयाक सडक खण्ड खुलेसँगै इलाम बजारबाट झापा पुग्न आधा दूरी घट्ने भएको हो ।
हाल इलामबाट बिर्तामोड पुग्न मेची राजमार्गबाट ८३ किमि दूरी पार गर्नुपर्दछ । तर यो फाष्ट ट्रयाक खुलेपछि ४७ किलोमिटरमै बिर्तामोड पुग्न सकिने भएको छ ।
मेची राजमार्गबाट बिर्तामोड पुग्न तीन घण्टा समय लाग्नेमा अब आधा कम समयमा नै बिर्तामोड पुगिने भएपछि स्थानीयमा खुसीयाली छाएको छ । सो सडकको थालनी भने वि.सं २०७४ सालमा नै भएको थियो । तत्कालीन निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत १४ लाख ५५ हजार, उक्त कार्यक्रममा तत्कालीन जिल्ला विकास समितिको दुई लाख ५० हजार रुपैयाँले नयाँ ट्रयाक खोल्न सुरु गरिएको बताइएको छ ।
चालू वर्षमा इलाम नगरपालिकाको १५ लाख र एक नम्बर प्रदेशबाट पाँच लाखको लागतले उक्त सडक खण्डको ट्रयाक खुलेको हो । सडक निर्माण उपभोक्ता समिति अध्यक्ष तारादेवी कटुवालले १५ लाखले आठ मिटर चौडा भएको सडक एक हजार सात सय मिटर कटिङ गरिएको र पाँच लाखले थप सात सय मिटर कटिङ गरिएको जानकारी दिइन् । उनले घोर्लेभीर भन्ने स्थानसम्म सडक फराकिलो पार्ने काम भए पनि त्यहाँदेखि बेलासेको सोयाक–चिसापानी सडकसम्म सडक अmझै साँघुरो रहेको बताइन् ।
इलाम भञ्ज्याङबाट नयाँ ट्रयाक खुलेपछि राकसे हुदै माई नगरपालिका दानाबारी र झापाको खुदुनाबारी सडक पुरानो सडकमा यातायात सञ्चालन भएमा भाडासँगै सामग्री ढुवानी र पर्यटन क्षेत्रमा थप सम्भावना खुल्ने स्थानीयवासीले बताएका छन् । उक्त सडक खुलेसँगै यात्रा छोटिनुका साथै श्रम, स्रोत र साधनसमेत बचत हुने जिल्लावासीको भनाइ छ ।
फास्ट ट्रयाकमा पुवाखोला तर्ने पक्की पुल निर्माण र सडक स्तरोन्नति हुन बाँकी रहेकाले हाल हिउँदमा मात्र साना सवारीसाधन चलाउन सकिने भएको इलाम नगरपालिकाले जनाएको छ । उक्त सडकका लागि हाल रणनैतिक सडक योजनाअन्तर्गत एक करोड बजेट छुट्टिएको र त्यसबाट सडक डिभिजनले थप काम अगाडि बढाउने इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले जानकारी दिए ।
इलामदेखि बिर्तामोड पुग्न सडकका बीचमा विभिन्न खोला तर्नुपर्ने भए पनि केही पुल निर्माण भइसकेको छ । पुवाखोलामा पुल बन्न बाँकी रहे पनि माईखोलाको बेलासेमा पुल बनिसकेको छ भने लोदिया खोलामा पुल निर्माणको ठेक्का लागिसकेको छ । दानाबारी गरुवा खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै उक्त सडकमा पर्ने बूढी सुखानी र टाङटिडको पुल निर्माण भएको छ ।
मेची राजमार्गबाट झापा जोड्न करिब तीन घण्टाको सडक यात्रा तय गर्नुपर्ने बाध्यता रहेकोमा अब भञ्ज्याङ बेलासे दानाबारी सडक स्तरोन्नति भएमा एक घण्टामै झापासम्म पुग्न सजिलो भएको छ । यस सडकको स्तरोन्नतिका लागि प्रदेश सरकारले पक्की बनाउनका लागि काम अगाडि बढाउने बताइएको छ । साँगुरो मेची राजमार्गमार्फत हाल इलामसहित ताप्लेजुङ, पाँचथर तेह्रथुमलगायत जिल्लामा जाने साना ठूला सवारीको भार थाम्नुपर्ने बाध्यता छ । यसलाई समेत मध्यनजर गरेर सो सडक निर्माणमा चासो दिए मेची राजमार्गमा सवारीको चापसमेत कम हुनेछ ।
साँगुरो सडक भएकै कारण बढी दुर्घटना र विरामी हुँदा समयमा अस्पतालसम्म पुग्न धेरै समय लाग्ने भइरहेको छ । अब यो समस्या समाधान हुने भएपछि स्थानीयले समेत चासो बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्