माओवादीले मन्त्रीका लागि नाम दिन सकेन «

माओवादीले मन्त्रीका लागि नाम दिन सकेन

सत्ता साझेदार नेकपा (माओवादी केन्द)ले सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरेको छ । नेकपा (माओवादी केन्द्र)को शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले सरकारले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गरेको हो ।


तर बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा भने छलफल नगरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले गठबन्धनभित्र मन्त्रालयको टुंगो नै लगाउने काम नभएकाले पार्टी भित्रबाट कुन व्यक्तिलाई पठाउने भन्ने विषयमा छलफल नभएको तर्क गरे ।

प्रवक्ता श्रेष्ठले भने, ‘सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा गरिएको छ । गठबन्धनभित्र मन्त्रालय कसले पाउने भन्ने टुंगो नलागेकाले पार्टी भित्र कसलाई पठाउने भन्ने विषयमा छलफल गरिएको छैैन । १/२ दिन भित्र सरकारले पूर्णता पाउने गरी गठबन्धनभित्र छलफल हुन्छ ।’
बैठकले सत्तारुढ गठबन्धन कार्य दलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेकोमा धन्यवाद दिँदै छिट्टै सार्वजनिक गर्न पनि आग्रह गरेको छ ।

त्यसैगरी माओवादी केन्द्रले सुकुम्बासी, भूमिहिन किसान, दलित, अव्यवस्थित बसोबासको समस्या समाधान तथा कार्यान्वयन गर्न अभिलम्ब उच्चस्तरीय आयोग गठन गर्न पनि सरकारलाई अनुरोध गरेको छ । सरकारले केपी ओली नेतृत्वको अघिल्लो सरकारले भूमि सम्बन्धि समस्या समाधान गर्न गठित आयोग खारेज गरेपछि माओवादी केन्द्रले उच्चस्तरीय आयोग तत्काल गठन गरी सो समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको हो ।

संविधान र कानुनको परिधिमा रही ती समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई अनुरोध गरिएको उनले जानकारी दिए ।
माओवादी केन्द्रले लुम्बनी प्रदेश सभाका आफ्नो पार्टीकी सांसद विमला वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएको घटनाप्रति आपत्ति जनाउँदै घोर निन्दा र भत्र्सना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्