बैंकको नेतृत्वमा पुस्तान्तरण «

बैंकको नेतृत्वमा पुस्तान्तरण

सबैभन्दा कान्छो क्षेत्रको रूपमा नेपालको अर्थतन्त्रमा उदाएको बैंकिङमा विस्तारै पुस्तान्तरण हुँदैछ । बैंकिङ क्षेत्रका पहिलो पुस्ताका बैंकरहरु विस्तारै दोस्रो पुस्तालाई आफ्नो ‘लिगेसी‘ हस्तान्तरण गर्दै गइरहेका छन् ।
नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहालको कार्यकाल पाँच महिनापछि पूरा हँुदैछ । पछिल्लो समय लगालग तीन वटा वाणिज्य बैंकबाट पुराना सीईओ बिदा भएका छन् । सिद्धार्थ बैंकबाट शम्भुनाथ गौतम, बैंक अफ काठमाण्डूबाट शोभनदेव पन्त र कुमारी बैंकबाट सुरेन्द्र भण्डारी बाहिरिएका छन् । लामो समय बैंकिङ क्षेत्रमा बिताएका गौतम, पन्त तथा भण्डारी पुराना सीईओका रुपमा मानिन्छन् । यसैगरी केही समयअघि नै पुराना बैंकर तुलसी गौतमले पनि सेन्चुरी बैंकबाट राजीनामा दिए । त्यसअघि सिभिल बैंकबाट गोविन्द गुरुङ नेपाल बाहिर सीईओ हुने पहिलो नेपाली बैंकरको रुपमा म्यान्मार पुगिसकेका छन् ।
पुराना सीईओले बिदा लिए पनि बैंकमा नयाँ सीईओको खोजी भइरहेको छैन, किनकि नेतृत्व लिनका लागि बैंकभित्रै नयाँ पुस्ता तयार भइसकेको छ । सानिमाबाट दाहालको बिदाइसँगै बैंकले भित्रबाटै नयाँ सीईओ तयार गरिसकेको छ । बैंकको नेतृत्वमा पनि विस्तारै ‘दोस्रो’ पुस्ताले ठाउँ लिन थालेका छन् ।
सिभिलमा गुरुङपछि बैंककै सहायक सीईओ सुनिल पोखरेलले नेतृत्व लिइसकेका छन् । यसअघि नै दोस्रो पुस्ताको सीईओका रुपमा मेगा बैंकमा अनुपमा खुञ्जेली, माछापुच्छे« बैंकमा सन्तोष कोइराला, नेपाल बैंकमा कृष्णबहादुर अधिकारी, एनएमबि बैंकमा सुनिल केसी, सिटिजन्स बैंक इन्टरनेशनलमा गणेशराज पोखरेल, एनआईसी एशिया बंैकमा रोशन न्यौपाने तथा लक्ष्मी बैंकमा अजय विक्रम शाह पछिल्लो पुस्ताका सीईओ हुन् ।
दोस्रो पूस्ताका सीईओ पनि करिब करिब तीन दशक अनुभवी भएका कारण पनि बैंकमा पुस्तान्तरण सहज भएको छ । त्यसैले सीईओ खाली भएका बैंकमा पनि बजारबाट पुराना सीईओलाई ल्याउनुभन्दा पनि दोस्रो पुस्ताको खोजी हुन थालेको छ । केही वर्षअघि बैंकको सीईओमा सीमित व्यक्तिकै हालिमुहाली रहेको आरोप थियो । साथै, एक बैंकबाट अर्को बैंकमा जाने प्रवृत्ति पनि व्यापक थियो । तर पछिल्लो वर्षदेखि बैंकभित्रैबाट नयाँ सीईओ बनाउने प्रचलन बढेको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा बैंकका सीईओेको कार्यकाल ४ वर्षको हुने र लगातार दुई कार्यकाल मात्र काम गर्न पाउने व्यवस्था गरेसँगै नयाँ पुस्ताको खोजी हुन थालेको हो ।
बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका सीईओ दाहाल वाणिज्य बैंकको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँछन् । “कुनै नेतृत्वलाई आफ्नो भिजन कार्यान्वयन गर्न ८ वर्ष पर्याप्त समय हो,” उनले भने, “कोही बढी काम गर्न चाहनुहुन्छ भने मेरो कुनै प्रतिक्रिया छैन, तर अब हामीले नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ ।” नयाँ पुस्ता प्रविधि बुझेको र उत्साहित भएकाले उनीहरुको काम अझ प्रभावकारी हुने उनले बताए ।
शिक्षित जनशक्तिको लागि सम्मानजनक रोजगारीको क्षेत्र बनेको वित्तीय मध्यस्तकर्ताका रुपमा वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी गरेर क, ख, ग तीन वर्गका बैंकहरुले ५५ हजारभन्दा बढी रोजगारीमात्र सिर्जना मात्र गरेका छैनन्, संस्थागत रुपमा सरकारलाई धेरै कर बुझाउने प्रमुख १० संस्थामध्ये वाणिज्य बैंक नै धेरै छन् ।
त्यसैले पनि बैंकर पर्शुराम कुँवर क्षेत्री सीईओमा नयाँ पुस्ताको प्रवेशलाई सामान्य मान्छन् । समयको परिवर्तन अनुसार नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुन थालेको र नयाँ पुस्ता अझ सशक्त र सक्षम रुपमा अगाडि आइरहेको उनी बताउँछन् ।
तर, पुराना बैंकरहरु पर्शुराम कुँवर क्षेत्री, राधेश पन्त, शशीन जोशी, उपेन्द्र पौड्याल, राजनसिंह भण्डारी, अनिल ज्ञवाली, जनकराज शर्मा, किशोर महर्जन, सुधिरबाबु खत्री, कुमार लम्साललगायत सीईओहरु केही भिन्न भूमिकामा बैंकिङमा नै छन् भने कोही अर्कै क्षेत्रमा गइसकेका छन् । यद्यपि अझै पनि केही सीईओ लामो समयदेखि सीईओको भूमिकामा नै सक्रिय छन् । हिमालयन बैंकका अशोक राणा, नेपाल इन्भेष्टमेण्ट बैंकका ज्योति पाण्डे, प्राइम बैंकका नारायणदास मानन्धर, एनबी बैंकका ज्ञानेन्द्र ढुंगाना, नबिल बैंकका अनिल शाह, ग्लोबल आइएमई बैंकका रत्नराज बज्राचार्य, सनराइज बैंकका सुमन शर्मा, प्रभु बैकका अशोक शेरचनलगायतका बैंकर पुराना सीईओ मानिन्छन् । यसमध्ये ढुंगानाको दोस्रो कार्यकाल सकिँदै छ ।
नियामक निकाय नेपाल राष्ट्र बैंकभन्दा पनि अगाडि वि.सं. १९९४ साल कात्तिक ३० गते उद्घाटित नेपाल बंैक लिमिटेडदेखि कान्छो वाणिज्य बैंक सेन्चुरी बंैकसम्म आइपुग्दा परम्परागत बैंकिङबाट नेपाली बंैकहरु आधुनिक तथा प्रविधीमैत्री बैंकिङमा परिवर्तन भइरहेको पनि देखिन्छ । हालै नियुक्त सिभिल बैंकका सीईओ सुनिल पोखरेलका अनुसार पनि प्रविधि बुझेको नयाँ पुस्ता बैंकमा आउँदा बैंकहरु परम्परागत बंैकिङबाट आधुनिकतातर्फ जाने क्रम तीव्र छ ।
पूर्ण सरकारी राष्ट्रिय वाणिज्य बैंक तथा सरकारले पछिल्लो पटक प्राथमिक सेयर निष्कासन गरेको कृषि विकास बैंकजस्ता नेपाली बैंकमात्र नभएर विदेशी बैंकको साझेदारीमा खोलिएका स्टाण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक तथा नेपाल एसबीआई बंैकको नेतृत्वमा पनि नयाँ पुस्ता आउने क्रम चलिरहेको छ । एभरेष्ट बैंकमा पहिलो पटक नेपाली सीईओ सुदेश खालिङले आफ्नो कार्यकाल सुरु गर्दैछन् भने स्टाण्डर्ड चार्टर्डले पनि पछिल्लो समय नेपाली सीईओ नै हेरिरहेको थियो । यसबाट दोस्रो पुस्ताका नेपाली बैंकरहरु बैंक हाँक्न सक्षम भइसकेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्