फुङलिङ नगरपालिकाको विकास मोह «

फुङलिङ नगरपालिकाको विकास मोह

जिल्लाको फुङलिङ नगरपालिका ‘यातायात सञ्जाल, व्यावसायिक कृषि, पर्यटन र पूर्वाधार, शिक्षा, स्वास्थ्य र औद्योगिक विकास फुङलिङ समृद्धिको आधार’ भन्ने मूल नारासहित अघि बढेको छ । दीर्घकालीन सोच र लक्ष्यलाई प्राप्त गर्ने गरी नगरपालिकाको प्रथम आवधिक नगर विकास योजनाले स्थापित गरेका विषयगत योजनालाई सबल र सफल रूपमा कार्यान्वयन गर्दै अघि बढेको हो । सडक, शिक्षा, स्वास्थ्य, पशुपालन, कृषि, पर्यटन, विद्युत् र खानेपानीका लागि नगर सरकारले प्राथमिकीकरण गरेर बजेट विनियोजन गरेको छ । देखिने गरी गरिएको कामले नागरिकमा विकासको झल्को दिन थालेको छ । प्रस्ट बोल्ने स्वभावका नगरप्रमुख छत्रपति प्याकुरेल नेतृत्वको नगर कार्यपालिकाको पहिलो बैठकले पाँच वर्षको अवधिमा सदरमुकामसँग सबै वडा सडक सञ्जालले जोड्ने र कालोपत्रे गर्ने महŒवाकाङ्क्षी निर्णय कार्यान्वयनको चरणमा छ । सबै वडास्थित भएका कच्ची सडक स्तरोन्नति गरेर बाह्रै महिना सवारी चल्ने गरी बनेको छ । सदरमुकामस्थित पराजुली चोक–बिहीबारे–चण्डेश्वरधाम सिद्धिडाँडासम्मको सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ठेक्का आह्वानको तयारीमा छ । बहुवर्षीय आयोजना भएकाले चालू आवमा ४ करोड रुपैयाँ छ । हेलिप्याड–लहरे गाउँ सडक कालोपत्रेका लागि ५ करोड रुपैयाँ छ । निगिजुङ–मेलुङ–वरडाँडा–थाङ्ने दोभान सडकको निर्माणकार्य जारी छ । नरबहादुर महतको घर हुँदै भेटेरिनरी चोकसम्म कालोपत्रे तथा ढलान हुने भएको छ । बजारभित्रका सडक कालोपत्रे गरिएको छ । हेलिप्याड–बसपार्कको डेढ किलोमिटर सडक कालोपत्रे गरिएको छ । बसपार्क सञ्चालनको तयारीमा छ । तीर्थयात्रीको चापलाई मध्यनजर गर्दै काफ्लेपार्टीमा बसपार्क निर्माण सुरु गरिएको छ । आव २०७७-७८ मा नयाँ ट्र्याक १५ किलोमिटर र सडक स्तरोन्नति ४३ किलोमिटर गरिएको छ ।
सदरमुकाम क्षेत्रलाई सफा र सुन्दर बनाउनका लागि फोहोरमैला व्यवस्थापन गर्न ७३ रोपनी जग्गा खरिद गरिएको छ । उक्त जग्गामा फोहोर व्यवस्थापनका लागि काम जारी छ । ट्याक्टरमार्फत नगरक्षेत्रको फोहोर संकलन गरेर व्यवस्थापन गर्ने गरिएको छ । वडा नं. १, २, ३, ५ र ७ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरेर सञ्चालन गरिएको छ । फुरुम्बु र फावाखोलामा वर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । ११ वटा वडाका विभिन्न स्थानमा खोप केन्द्र थप गरिएको छ । नगरप्रमुखको नेतृत्वमा ११ वटै वडाका बस्तीबस्तीमा पुगेर कोरोना भए-नभएको स्वाब संकलन गरिएको थियो । कोरोना संक्रमणले आत्तिएको समाजलाई जनप्रतिनिधि र कर्मचारीले गरेको व्यवहारले मन जितेको छ । कोरोनाविरुद्धको खोप नगरवासीलाई लगाउन नगरले कमी–कमजोरी गर्दै भए पनि स्वास्थ्यसँग समन्वय गरेर उपलब्ध गराएको छ । फुङलिङ नगरपालिकाको भवन निर्माण अन्तिम चरणमा छ । वडा नं. १ र ४ को वडा कार्यालय भवन निर्माण सम्पन्न गरेको नगरपालिका आफ्नो भवनमा आउँदो असोजमा सर्ने तयारीमा छ । वार्षिक भाडाबापत १५ लाख रुपैयाँ बचत हुन्छ । फुङलिङ नगरपालिका–६ स्थित सिरानघरछेउमा बहुसांस्कृतिक सङ्ग्रहालयको ठेक्का स्वीकृत भएको छ । चालू आवबाट निर्माण सुरु गरिने भएको छ । फुङलिङ नगरपालिका–४ स्थित भानु जनमावि, वडा नं. ७ स्थित श्री युवा वर्ष मावि र वासु मावि मेदीबुङमा पूर्वाधार निर्माण गरिएको छ । केन्द्रबाट छनौट भएका नमुना विद्यालय, विशेष विद्यालयको क्रमागत भवन निर्माण तथा कक्षा–११ स्तरोन्नति भएका प्राविधिक धार विद्यालयको ल्याब व्यवस्थापनका लागि अनुदान सहयोग गरेको छ । नगरसरकारले सञ्चालन गरेको एम्बुलेन्स सेवाले आर्थिक अवस्था कमजोर परिवारलाई राहत मिलेको छ । सदरमुकाममा खानेपानीको व्यवस्थापन गर्दै आएको ताप्लेजुङ खानेपानी सरसफाइ उपभोक्ता समितिलाई ३ आना जग्गा १५ वर्षका लागि निःशुल्क उपलब्ध गराएको छ । उक्त जग्गामा हाल भवन निर्माणको काम हुँदै छ । हिले आमा समूह, नेवार समुदाय र रमितेमा भवन निर्माण सम्पन्न भएको छ । तमु ह्यूल छोज धिं गुरुङ राष्ट्रिय परिषद्अन्तर्गत उकालीपानीमा सामुदायिक भवन निर्माण जारी छ ।
फुङलिङ नगरपालिकाले पर्यटकीय क्षेत्रमा लगानी गरेको छ । वडा नं. ९ स्थित गुप्ते नजिक सनराइज भ्यू टावरका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । तोक्मेडाँडास्थित नर्सरीमा सहिद पार्क निर्माणको अवधारणा ल्याएको छ । चालू आवमा १५ लाख रुपैयाँ विनियोजनसमेत गरेको छ । तोक्मेडाँडा–नर्सरी–सुकेटार पैदलमार्ग निर्माण पूरा गर्न र संरचना निर्माणका लागि अधिकांशले ध्यानाकर्षण गराएकाले नगरसरकारको प्राथमिकतामा परेको छ । फुरुम्बुमा छायापोखरी निर्माण गरेको छ । चारपाटे ढुङ्गालाई पर्यटनसँग जोड्ने योजनाअनुसार काम भएको छ । गाउँघरमा पदमार्ग निर्माण गरी आवतजावत सहज बनेको छ । गत आवमा मात्रै ३ हजार ५ सय १६ मिटर पदमार्ग निर्माण गरेको छ । कफी हाउसनजिक बनेको वृद्ध चौतारी दुःखसुखको गफगाफ गर्ने थलोे बनेको छ । फावाखोलामा बाख्रा र फुरुम्बुमा गाईपालन कार्यक्रम सुरु गरेको छ । हाङदेवा, फुरुम्बु र फावाखोलाई चालू आवमै राष्ट्रिय विद्युत् प्रसारण लाइन जडानको योजना छ ।
खेलाडी उत्पादन गर्ने गरी मेयर कप भलिबल तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिएको छ । ब्याडमिन्टन, कराँते, तेक्वान्दो तथा फुटबल प्रतियोगिताका लागि बजेट विनियोजन गरेको छ । वडा नं. २ मा खेलमैदानका लागि २३ रोपनी जग्गा खरिद गरेको छ । प्रतिरोपनी २ लाख ५० हजार रुपैयाँ खर्चिएको छ । जग्गा खरिदबाहेक ७४ लाख रुपैयाँ खर्च गरेको छ । फुरुम्बुमा २ वटा, फावाखोलामा २ वटा र हाङदेवामा २ वटा खेल मैदान बनेको छ । वडा नं. १ मा २० लाख रुपैयाँ खर्चेर खेल मैदानको काम हुँदै छ । विद्यालय जाने उमेरका विद्यार्थीको विद्यालय नियमितताका लागि टिफिन बक्स तथा पोसाक र झोला वितरण कार्यक्रम लागू गरेको छ । विपन्न दलित आवास कार्यक्रम लागू भएको छ । दलित तथा गैरदलितको सीप विकास तथा आय आर्जनसम्बन्धी कार्यक्रम प्राथमिकतामा छ । गत आवमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सार्थक तुल्याउन प्रयास गरिएको छ । गत आवमा ९६ लाख ६४ हजार हजार २ सय ८१ रुपैयाँ खर्चिएर ४ सय १७ जनालाई १८ हजार ६ सय ९३ घण्टा रोजगारी प्रदान गरिएको उपप्रमुख बमबहादुर भट्टराईले बताए । ६३ वटा योजनामा रोजगारदाताको समावेश गरेको थियो । यस वर्ष गैससबाट २ करोड ९२ लाख २८ हजार ९१ रुपैयाँबराबरको कार्यक्रम समावेश भएकाले नगरपालिकाले गर्ने कार्यक्रममा सहयोग मिलेको छ ।
नगरप्रमुख प्याकुरेलका अनुसार कोभिड–१९ ले पेसा तथा व्यवसायमा भएको समस्याप्रति नगरसरकारले करमा केही हेरफेर गरेको छ । कोभिडले पूर्ण रूपमा बन्द भएका क्षेत्रमा आव २०७८÷७९ मा व्यवसाय नवीकरण दस्तुरमा १५ प्रतिशत छुट गरेको छ । पाथीभरा क्षेत्रमा व्यवसाय गर्नेलाई बहाल विटौरी करको दायरा ल्याएको छ । ‘फुङलिङ नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन–२०७८’ अन्तर्गत एकीकृत सम्पत्ति कर, भूमि कर (मालपोत), घर बहाल कर, व्यवसाय कर, जडीबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, बहाल विटौरी शुल्क, सेवा शुल्क, दस्तुर र दण्ड जरिवाना व्यावहारिक भएको उल्लेख गरेको छ । पेसा, व्यवसाय तथा जग्गा र घरलाई नगरपालिकाको क्षेत्रअनुसार वर्गीकरण गरेर कार्यान्वयनमा ल्याएको छ । नगरप्रमुख प्याकुरेलले भने, “नगर सरकार नागरिकप्रति जवाफदेही र उत्तरदायी छ । सार्वजनिक सुनुवाईबाहेक जनतासँग जनप्रतिनिधि कार्यक्रम पनि समावेश गरेका छौं ।”
सरकार र नागरिकबीच पुलको भूमिका सञ्चार माध्यमको भएकाले नगरपालिकाले गरेका सबल र दुर्बल पक्षलाई जस्ताको तस्तै सार्वजनिक हुनुपर्ने पालिकाको बुझाइ छ । गत वर्ष नगरपालिकाले आन्तरिक राजस्वको प्रक्षेपण १ करोड ५० लाख गरेको थियो । यद्यपि त्यो लक्ष्य जेठ मसान्तमा १ करोड २५ लाख ५० हजार (८३.६६ प्रतिशत) संकलन गरेको थियो । आफू खेती किसान गरेको परिवारमा जन्मिएर दुःखसुख भोगाइको अनुभव भएकाले गफ होइन, काम गरौं भन्ने मान्यतामा दृढ हुनुपर्ने नगरप्रमुख प्याकुरेलको तर्क छ । नगरप्रमुख प्याकुरेलले भने, “बरु कमी–कमजोरी भए सच्याउन तयार हुनुपर्छ । चौतर्फी समन्वय गरेर विकासका काममा हातेमालो हुनुपर्छ ।”

प्रदेश नं. १
जिल्ला : ताप्लेजुङ
नगरपालिका : फुङलिङ नगरपालिका
वडा संख्या : ११
जनसंख्या : २६ हजार ४ सय ६
घरधुरी : ५ हजार ६ सय ४४
क्षेत्रफल : १ सय २५.५७ वर्गकिलोमिटर
नगरप्रमुख : छत्रपति प्याकुरेल
नगर उपप्रमुख : बमबहादुर भट्टराई (तारा)
प्रमुख प्रशासकीय अधिकृत : बद्रीकुमार कार्की

प्रतिक्रिया दिनुहोस्